मतपत्र र मतदाता नामावली छपाइमा निर्वाचन आयोगकाे तीव्रता, प्रत्यक्ष मतपत्र २५ जिल्लाकाे ३० लाख तयार
काठमाडाैँ । निर्वाचन आयोगले आसन्न निर्वाचनलाई लक्षित गरी मतदाता नामावली र मतपत्र छपाइको कामलाई तिब्रता दिएको छ ।
आयोगले आइतवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतपत्र र मतदाता नामावली छपाईको कामलाई तिब्रता दिएको जानकारी दिए ।
उनकाअनुसार समानुपातिक तर्फको मतपत्र छपाईको काम सकिएको छ भने प्रत्यक्षतर्फको मतपत्रको छपाइ सुरू भएको छ । हालसम्म प्रत्यक्षतर्फको २५ जिल्लाको ३० लाख मतपत्र छपाईको काम सकिएको उनले जानकारी दिए ।
प्रवक्ता भट्टराईले समानुपातिकतर्फ आवश्यक दुई करोड ८ लाख ३० हजार मतपत्रको छपाइ कार्य सम्पन्न भइसकेको जानकारी दिए ।उनकाअनुसार गएको हप्तादेखि प्रत्यक्ष तर्फका मतपत्र छपाइ सुरू गरिएको हो । प्रत्यक्षतर्फ अब करिव दुई करोड मतपत्रमध्ये १ करोड ७० लाख छपाइ गर्न बाँकी रहेको आयोगले जनाएको छ ।
आयोगका अनुसार दैनिक १२ देखि १५ लाखको संख्यामा मतपत्र छपाइ भइरहेको छ । मतदाता नामावली छपाइको काम पनि आगामी हप्तामा सकिने उनको भनाइ छ ।
उनले भने,”हामीले यो हप्ता मतपत्र छपाई र मतदाता नामावली छपाईलाई प्राथमिकतामा राखेका छौँ । सम्भवत् आउने हप्तासम्ममा मतदाता नामावली छपाई पुरै सकिन्छ । मतपत्र छपाईको काम चाँही समानुपातिकतर्फको दुई करोड ८ लाख ३० हजार मतपत्र चाहिने थियो, त्यति मतपत्र सबै छापिसकियो । गएको हप्तादेखि प्रत्यक्ष तर्फको मतपत्र छपाइको सुरू भएको छ । हालसम्म २५ जिल्लाको ३० लाख मतपत्र चाहीँ प्रत्यक्ष तर्फको छापेर सम्पन्न भइसक्यो,” ।
उनले निर्वाचनको मिति नजिकिँदै जाँदा आयोगले निर्धारित कार्ययोजनाअनुसार कामलाई तिब्र बनाउँदै लगेको जानकारी दिए ।








