१९ माघ २०८२, सोमबार

सिन्धुलीमा नेसनल प्याब्सन स्पोर्ट मिट सम्पन्न, विद्यार्थीहरूले देखाए उत्कृष्ट प्रदर्शन

प्रकाशित मिति :  2 February, 2026 1:18 pm


काठमाडाैँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) सिन्धुलीले आयोजना गरेको वार्षिक स्पोर्ट मिट दुधौली नगरपालिकाको रंगशालामा सम्पन्न भएको छ।

गत माघ १५ गतेदेखि तीन दिनसम्म चलेको प्रतियोगिताको समापन समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पदक तथा पुरस्कार वितरण गरिएको थियो।

समापन समारोहका प्रमुख अतिथि नेसनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णकुमार उप्रेतीले खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक र बौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

उनले अनुशासन, स्वस्थ प्रतिस्पर्धा र मिहिनेतको संस्कार विकासमा खेलकुदको योगदानलाई विशेष रूपमा उल्लेख गरे।

भलिबल, म्याराथन, सटपुट, रिले दौडलगायत विभिन्न खेल विधामा प्रतिस्पर्धा भएको स्पोर्ट मिटमा सिन्धुलीका २४ निजी विद्यालयका विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए।

यसअघि लगातार तीन संस्करण सदरमुकाम सिन्धुलीमाडीमा आयोजना हुँदै आएको प्रतियोगिता यसपटक दुधौली नगरपालिकामा चौथो संस्करणको रूपमा सम्पन्न भएको थियो। आयोजकहरूले फरक भौगोलिक क्षेत्र चयन गर्दा सहभागिता र आकर्षणमा वृद्धि हुने विश्वास व्यक्त गरेका छन्।

स्कलर्स एकेडेमीका प्रिन्सिपल रविन पौडेलका अनुसार यसपटक विद्यालयबीचको प्रतिस्पर्धा र सहभागिता दुवै उच्च रहेको थियो। “स्थल परिवर्तनले विद्यार्थीलाई नयाँ मैदानमा खेल्ने अवसर मिल्यो, जसले उनीहरूको आत्मविश्वास र सीप दुवै बढायो,” उनले भने।

हिमालयन इङ्गलिस स्कुलका प्रिन्सिपल मणि काफ्लेले जिल्लाका फरक–फरक क्षेत्रमा यस्ता कार्यक्रम आयोजना गर्दा विद्यार्थीहरूले आफ्नो भौगोलिक, आर्थिक र सामाजिक विविधता बुझ्ने अवसर पाउने बताए । उनले भने,”नयाँ वातावरण र खेल मैदानले खेलप्रतिको रुचि र सचेतनामा पनि वृद्धि गर्छ।”

तीन दिनसम्म चलेको स्पोर्ट मिटको समापन समारोह नेसनल प्याब्सन सिन्धुलीका जिल्ला अध्यक्ष सोनाम बज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गर्दै समारोहलाई थप आकर्षक बनाएका थिए। कार्यक्रम सञ्चालन नेसनल प्याब्सन सिन्धुलीका सचिव निराजन श्रेष्ठले गरेका थिए।



प्रतिक्रिया दिनुहोस !