उपत्यकाव्यापी अन्तर ट्रुप सर्वधर्म सभा सम्पन्न, मैत्री स्काउट ट्रुप प्रथम
काठमाडौँ । नेपाल स्काउट प्रतिभिम्ब स्काउट ट्रुपको आयोजनामा माघ २४ गते उपत्यकाव्यापी प्रथम अन्तर ट्रुप सर्वधर्म सभा भव्य रूपमा सम्पन्न भएको छ।
कलंकीस्थित एलआरआई स्कुलको प्राङ्गणमा आयोजना गरिएको उक्त कार्यक्रम नेपाल स्काउटका पूर्व राष्ट्रिय सचिव स्वर्गीय चन्द्र देवलाल कौशिकको स्मृतिमा गरिएको हो।
धार्मिक सहिष्णुता, आपसी सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा बागमती प्रदेश सरकारकी युवा तथा खेलकुद मन्त्री तथा नेपाल स्काउट बागमती प्रदेशकी प्रमुख स्काउट उर्मिला नेपाल केसी प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य समिता खड्गी, नेपाल स्काउटका पूर्व प्रमुख आयुक्त महेन्द्रराज रञ्जित तथा पूर्व राष्ट्रिय तदर्थ समितिका सदस्य निनु कर्ण विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
त्यसैगरी एलआरआई स्कुलका प्रिन्सिपल बादल प्रधान, सञ्चालक यशोधरा पन्त तथा नेपाल स्काउटका पूर्व राष्ट्रिय तदर्थ समितिका सदस्य पुण्यराम गोथे विशेष अतिथिका रूपमा सहभागी भएका थिए।
सभामा विभिन्न धर्मका प्रतिनिधिहरूले धार्मिक सद्भाव, मानवता र सहअस्तित्वका विषयमा केन्द्रित सन्देशमूलक प्रस्तुति दिएका थिए। कार्यक्रममा भक्तपुर, काठमाडौँ र ललितपुर जिल्लाका गरी २४ वटा स्काउट ट्रुपहरूको सहभागिता रहेको थियो।
प्रतियोगितामा काठमाडौंको मैत्री स्काउट ट्रुप प्रथम भएको छ।
त्यसैगरी ललितपुरको हिमालयन स्काउट ट्रुप दोस्रो र काठमाडौँको माहामञ्जुश्री स्काउट ट्रुप तेस्रो भएको आयोजकले जनाएको छ। कार्यक्रम संयोजक श्याम लामाले आगामी दिनहरूमा पनि समाजोपयोगी कार्यक्रमहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे।








