सुरक्षित इन्टरनेट दिवस २०८२ः एनसेल फाउन्डेसनद्वारा ‘सेफर इन्टरनेट टुगेदर’ कार्यक्रम सुरु
काठमाडौँ । सुरक्षित इन्टरनेट दिवस २०८२ को अवसरमा मङ्गलवार एनसेल फाउन्डेसन र नासा सेक्युरिटीजले देशव्यापी रूपमा ‘सेफर इन्टरनेट टुगेदर (एसआईटी)’ कार्यक्रम आरम्भ गरेको घोषणा गरेको छन् ।
यो सामाजिक अभियानले देशभरका विद्यालयहरुमा पुगेर साइबर सुरक्षा, डेटा गोपनीयता तथा डिजिटल सुरक्षाका विविध पक्षहरूबारे विद्यार्थीहरुलाई ज्ञान प्रदान गर्ने लक्ष्य राखेको छ जसबाट ५०,००० भन्दा बढी विद्यार्थी, शिक्षक तथा समुदाय सदस्यहरू लाभान्वित हुने अपेक्षा गरिएको छ ।
हाल नमुना परियोजनाका रूपमा अघि सारिएको यो कार्यक्रमअन्तर्गत बागमती, गण्डकी र मधेस प्रदेशका सरकारी, सामुदायिक तथा निजी विद्यालयहरूमा कक्षा ३ देखि १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी साइबर सचेतना सत्रहरू सञ्चालन गरिनेछ ।

कार्यक्रम अन्तर्गत इन्टरनेट सुरक्षासम्बन्धी हाते पुस्तक पनि तयार पारिएको छ । ती पुस्तक कार्यक्रम सत्र पश्चात् सम्बन्धित विद्यालयका सहभागी छात्र, छात्राहरूलाई वितरण गरिनेछ । पहिलो चरणमा तीन प्रदेशमा सफल कार्यान्वयन पश्चात यो अभियान आगामि आर्थिक वर्षमा अन्य प्रदेशमा पनि सञ्चालन गरिने योजना रहेको छ ।
यो वर्षको सुरक्षित इन्टरनेट दिवसको नारा ‘स्मार्ट टेक, सेफ चोइसेस्ः एक्सप्लोरिङ द सेफ एन्ड रेस्पोन्सीबल युज अफ एआई’ रहेको छ ।








