२९ माघ २०८२, बिहिबार

आईसीसी टी–२० विश्वकप २०२६ : दोस्रो खेलमा आज इटलीसँग भिड्दै नेपाल

प्रकाशित मिति :  12 February, 2026 9:00 am


दाङ । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज अर्को एसोसियट राष्ट्र इटलीसँग प्रतिस्पर्धा गर्दैछ ।

समूह ‘सी’ अन्तर्गत नेपाल र इटलीबीचको खेल दिउँसो सवा ३ बजेदेखि भारतको मुम्बईस्थित वाङ्खेडे स्टेडियममा सुरु हुनेछ। दुवै टोली पहिलो खेलमा पराजित भएपछि आजको खेल जितका लागि महत्वपूर्ण मानिएको छ ।

नेपाल आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग पराजित भएको थियो भने इटली स्कटल्यान्डसँग हार बेहोरेको थियो। त्यसैले दुवै टोली पहिलो जितको खोजीमा मैदान उत्रने तयारीमा छन् ।

नेपाल र इटली १३ वर्षपछि फरक फर्म्याटमा आमनेसामने हुन लागेका हुन् । सन् २०१३ मा भएको आईसीसी डिभिजन–३ प्रतियोगितामा नेपालले इटलीसँग ५० ओभरको खेल खेलेको थियो । तर टी–२० अन्तर्राष्ट्रिय (टी–२०आई) फर्म्याटमा भने यी दुई टोलीबीच यो पहिलो भेट हुनेछ ।

विश्वकप इतिहासमा पनि नेपाल १२ वर्षपछि जितको खोजीमा रहेको छ। नेपालले सन् २०१४ मा अफगानिस्तानविरुद्ध ऐतिहासिक जित हात पारेपछि विश्वकपमा अर्को जित निकाल्न सकेको छैन।

समूह ‘सी’ को अंक तालिकामा वेस्ट इन्डिजले हालसम्म खेलेका दुवै खेल जितेर ४ अंक जोडेको छ। इंग्ल्यान्ड र स्कटल्यान्डले २–२ खेलमा २–२ अंक जोडेका छन्। आजको खेलले नेपाल र इटली दुवैको समूह चरणको सम्भावनामा महत्वपूर्ण प्रभाव पार्नेछ।



प्रतिक्रिया दिनुहोस !