आमा गीत सार्वजनिक, म्युजिक भिडियोमा नाजिर हुसेन, लक्ष्मी बर्देवा र भीमा निरौलाको अभिनय (भिडियो सहित)
काठमाडौँ। नेपाली सांगीतिक क्षेत्रमा आमाको ममता र त्यागलाई समेट्दै नयाँ गीत ‘आमा’ सार्वजनिक गरिएको छ।
कृष्ण ज्ञवालीको शब्द रहेको गीतमा आमाको ममतामाथि भावपूर्ण समर्पण रहेको छ ।
करिब तीन वर्षको सिर्जनात्मक यात्रापछि तयार पारिएको यस गीतले आमाप्रतिको श्रद्धा, प्रेम र कृतज्ञतालाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ । ज्ञवालीको यो चौथो गीत हो । यसअघि दुख भित्रको खुसी, विस्तारै चाल्दै पाइलाहरु र हासिँ राखन गीत सार्वजनिक गरिसकिएको छ ।
आमा गीतमा निशान भट्टराई र श्रेय राईले स्वर दिएका छन्। गीतको संगीत संयोजन तथा कार्यकारी निर्माण गोविन पुनले गरेका छन् । गीतको मिक्स तथा मास्टरिङ दिनेश श्रेष्ठले गरेका छन्। सारङ्गीमा मनिष गन्धर्व र गिटारमा लुमन स्थापितको साथ रहेको छ ।
म्युजिक भिडियोमा नाजिर हुसेन, लक्ष्मी बर्देवा र भीमा निरौलाको अभिनय रहेको छ । बाल कलाकार अवानी अर्याल र ईशान पौडेलले बाल्यकालका दृश्यलाई जीवन्त बनाएका छन्। भिडियोको कथा तथा निर्देशन भूपेन्द्र भुजलले गरेका हुन् भने छायांकन सन्देश थापा मगरको रहेको छ ।
सम्पादन पासाङ दावा शेर्पा र रङ संयोजन सञ्जीव रत्न शाक्यले गरेका छन्। पोस्ट–प्रोडक्सनको मिपिरु सिनेमा मार्फत गरिएको छ।
निर्माता लक्ष्मी ज्ञवाली रहेको यस गीतमा आमाको निस्वार्थ माया, त्याग र आशीर्वादका विविध आयामहरू समेटिएका छन्। बाल्यकालका चञ्चल क्षणदेखि जीवनका संघर्ष र अनुभूतिको यात्रासम्मको कथा प्रस्तुत गर्दै गीतले दर्शक–श्रोताको मन छोएको छ।
लक्जरी डायमण्ड्स, डायमण्ड स्क्वायर र रिगालिया वाच प्रायोजकका रूपमा रहेका छन् भने टक्सार मिडिया ग्रुप मिडिया पार्टनरका रूपमा रहेको छ।
“आमाको जति बखान गरे पनि, जति प्रशंसा गरे पनि कम हुन्छ,” ज्ञवालीले भने, “गीतमा बा-आमाको मायाको अर्थ र मर्मलाई उजागर गर्ने कोसिस गरिएको छ ।”








