११ जेष्ठ २०८३, सोमबार

हिमालयन लिटरेचर फेस्टिभल-२०२६ काठमाडौँ हुने

प्रकाशित मिति :  25 May, 2026 4:04 pm


काठमाडौँ । ‘हिमालयन लिटरेचर फेस्टिभल एन्ड राइटर्स वर्कशप २०२६’ काठमाडौँमा हुने भएको छ ।

दक्षिण एसियाको महत्वपूर्ण अन्तर्राष्ट्रिय साहित्यिक जमघटमध्ये एक मानिने महोत्सव आगामी मे २९ देखि जुन ५, २०२६ सम्म काठमाडौँमा आयोजना हुन लागेको हो ।

एनसेल फाउन्डेसनको सहकार्यमा आयोजना हुने आठदिने यस महोत्सव नेपाली साहित्यका अग्रणी कथाकार गुरु प्रसाद मैनाली को योगदानप्रति समर्पित रहने आयोजकले जनाएको छ।

आयोजकका अनुसार महोत्सवमा नेपालसहित विश्वका प्रतिष्ठित कवि, उपन्यासकार, संस्मरणकार, अनुवादक, चलचित्रकर्मी, विद्वान् तथा पत्रकारहरूको सहभागिता रहनेछ।

यसपटक पुलित्जर पुरस्कार विजेता कवि ट्रेसी के. स्मिथ र पल मल्डुन, चर्चित अमेरिकी उपन्यासकार जीन ह्यान्फ कोरेलिट्ज, कवि तथा अनुवादक टोनी बार्नस्टोन, हिमालयन कवि युयुत्सु शर्मा, आइरिश सम्पादक मार्टिन डोयल तथा ‘ब्रुकलिन पोएट लौरिएट’ टिना चाङ लगायत अन्तर्राष्ट्रिय साहित्यिक हस्तीहरूको उपस्थिति रहने अयोजकले जनाकारी दिएको छ ।

महोत्सवका कार्यक्रमहरू चेतना, हिलिङ, सिर्जनशीलता, स्मृति र परिवर्तनशील विश्वमा सांस्कृतिक संवाद जस्ता विषयमा केन्द्रित रहनेछन् ।

कार्यक्रममा मास्टर क्लास, लेखन कार्यशाला, कविता वाचन, साहित्यिक संवाद, मुख्य वक्तव्य, चलचित्र प्रदर्शन र अन्तरविषयक छलफलहरू समावेश गरिनेछ ।

कृत्रिम बुद्धिमत्ता (एआई) र सिर्जनात्मक लेखन, महिला साहित्य, आदिवासी आख्यान, आघात र हिलिङ, ध्यान र सिर्जना, अनुवाद तथा डिजिटल युगमा साहित्यको भविष्यजस्ता विषयमा विशेष सत्र सञ्चालन गरिने आयोजकले जनाएको छ ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महोत्सवका आयोजक युयुत्सु शर्माले, “साहित्य विलासिता होइन, यो मानव सभ्यतासँगै विकसित भएको हिलिङको सबैभन्दा पुरानो माध्यम हो। यो महोत्सव नेपाल र यसको समृद्ध सांस्कृतिक सम्पदाको उत्सव हो, जसले नेपालको पहिचानलाई विश्वमञ्चमा प्रस्तुत गर्दछ ।”

महोत्सवले उदाउँदा लेखक तथा कविहरूलाई प्रोत्साहन गर्ने लक्ष्य पनि राखेको छ ।

यस अन्तर्गत युवा कविता मञ्च, मार्गदर्शन कार्यक्रम, कार्यशाला तथा अन्तर्राष्ट्रिय सहकार्यका कार्यक्रमहरू आयोजना गरिनेछन् ।

शैलेन्द्र साकार, नारायण ढकाल, हरि अधिकारी, उषा शेरचन, लक्ष्मी माली लगायत नेपाली स्रष्टाहरूले अन्तर्राष्ट्रिय अतिथिहरूसँग संयुक्त प्रस्तुति दिने कार्यक्रम रहेको छ ।

कार्यक्रममा कविता–आधारित आयरिश, अस्ट्रियन र पोलिस चलचित्रहरूको प्रदर्शन गरिनुका साथै काठमाडौं उपत्यकाका प्रमुख सांस्कृतिक तथा ऐतिहासिक स्थलहरू-काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, बौद्धनाथ, बुढानीलकण्ठ र नगरकोट-को भ्रमण पनि आयोजना गरिनेछ ।

पत्रकार सम्मेलनका क्रममा कविता–आधारित फिल्महरूको ट्रेलर पनि प्रदर्शन गरिएको थियो । यसमा आयरिश कवि डोरेन नी घ्रीफाको जीवनमा आधारित ‘क्लाउडेड रेभरिज’, अस्ट्रियन कवि बोडो हेलसम्बन्धी ‘वाइड अवेक’, तथा २०७२ सालको भूकम्पमा आधारित युयुत्सु शर्माको काव्य फिल्म ‘आई सी माई वल्र्ड सेकिङ’ समावेश थिए ।

एनसेल फाउन्डेसनले महोत्सवलाई सहकार्य गर्दै नेपालको सांस्कृतिक तथा साहित्यिक सम्पदाको संरक्षण र प्रवर्धनमा योगदान पु¥याउने जनाएको छ ।

फाउन्डेसनका कर्पोरेट कम्युनिकेसन, मार्केटिङ तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले साहित्य र कथावाचनले सांस्कृतिक आदानप्रदान र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्दै यस मञ्चमा सहकार्य गर्न पाउँदा गर्व लागेको बताइन् ।

हिमालयन लिटरेचर फेस्टिभलले संवाद, सिर्जनशीलता र अन्तरसांस्कृतिक समझदारी प्रवर्धन गर्ने साझा मञ्चका रूपमा काठमाडौंलाई अन्तर्राष्ट्रिय साहित्यिक गन्तव्यका रूपमा स्थापित गर्दै आएको आयोजकको दाबी छ ।



प्रतिक्रिया दिनुहोस !