दुग्ध क्षेत्रको दिगो विकास र महिला कृषक सम्मानका लागि काठमाडौंमा कविता प्रतियोगिता सम्पन्न
काठमाडाैँ । नेपाल डेरी एसोसिएसनको आयोजनामा, राष्ट्रिय दुग्ध विकास बोर्ड, बागमती प्रदेश दुग्ध विकास बोर्ड तथा अन्य सरोकारवाला निकायहरूको सहकार्यमा विश्व दुग्ध दिवसको पूर्वसन्ध्यामा कविता प्रतियोगिता तथा सचेतनामूलक कार्यक्रम काठमाडौं इङ्गलिस स्कुल, नक्सालमा सम्पन्न भएको छ।
“दुग्ध क्षेत्रको दिगो विकास: पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार” भन्ने राष्ट्रिय नाराका साथ तथा अन्तर्राष्ट्रिय नारा “महिला कृषकहरूको सम्मान” लाई केन्द्रमा राखी दुध तथा दुग्धजन्य पदार्थको उपयोगिता सम्बन्धी कविता प्रतियोगिता आयोजना गरिएको हो।
कार्यक्रम नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा तथा बागमती प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी उपाध्यक्ष हरि प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
उक्त कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य राजन दाहाल, रामभक्त दाहाल, केन्द्रीय दुग्ध उत्पादक संघका कृष्ण प्रसाद सापकोटा, केन्द्रीय उपाध्यक्ष दिप प्रसाद धमला, मनोज यादव, नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिकाराम घिमिरे, केन्द्रीय सहसचिव रमेश सञ्जेल, केन्द्रीय सदस्य अजित बजगाईं, नवराज तिमल्सिना, एसोसिएसन बागमतीका उपाध्यक्ष ध्रुव तिवारी, नेपाल कृषि तथा पशुपन्छी व्यवसायी संघका सदस्य कुल प्रसाद धमला, काठमाडौं इङ्गलिस स्कुलका अध्यक्ष ईश्वर पुडासैनी, प्रधानाध्यापक दिनेश खतिवडा, रोटरी क्लब अफ कपनकी अध्यक्ष मन्जु श्रेष्ठ लगायत सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन सत्रमा विद्यालयका प्रधानाध्यापक दिनेश खतिवडाले स्वागत मन्तव्य व्यक्त गर्दै दुधको महत्वबारे प्रकाश पार्दै सहभागी सबैलाई स्वागत गरेका थिए।
कार्यक्रमबारे जानकारी दिँदै नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले एसोसिएसन विगत केही वर्षदेखि दुध तथा दुग्धजन्य पदार्थको मौलिक उपभोग र व्यवसायीकरणमा सक्रिय रहेको बताए। उनले विशेषगरी मौलिक उत्पादन “मोही” को प्रवर्द्धनमा जोड दिँदै विद्यालय पाठ्यक्रममा कृषक र कृषि पेशालाई कमजोर रूपमा चित्रण गरिएको विषयमा आपत्ति जनाउँदै पाठ्यक्रम परिमार्जनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराए।
विद्यालयका अध्यक्ष ईश्वर पुडासैनीले डेरी एसोसिएसनद्वारा सञ्चालन गरिएको मोही अभियानको प्रशंसा गर्दै यसलाई सकारात्मक पहल भएको बताए। साथै, विद्यार्थीहरूमा सिर्जनात्मक क्षमता विकासका लागि यस्ता कार्यक्रम निरन्तर आयोजना गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमका प्रमुख अतिथि हरि प्रसाद पौडेलले दूधलाई पूर्ण पौष्टिक आहारका रूपमा उल्लेख गर्दै यसको नियमित सेवन आवश्यक रहेको बताए। उनले ग्रामीण अर्थतन्त्रको विकासका लागि कृषि तथा व्यावसायिक पशुपालन नै दिगो विकासको आधार भएको उल्लेख गर्दै युवापुस्तालाई आधुनिक कृषि क्षेत्रमा आकर्षित हुन आग्रह गरे।
कार्यक्रममा विद्यार्थीहरूद्वारा प्रस्तुत कविता प्रतियोगितामा उपत्यकाका १४ विद्यालयका २६ विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा काठमाडौं इङ्गलिस स्कुल कपनकी सुकृती कोइरालाले प्रथम स्थान हासिल गरेकी थिइन्।
त्यस्तै, इन्टरनेशनल जोसेफ पब्लिक स्कुलकी भावना बराल द्वितीय, हेम्स स्कुलकी जेनिश न्यौपाने तृतीय तथा युनिभर्सल माध्यमिक विद्यालयकी सुप्रिया गुरुङ र काठमाडौं इङ्गलिस स्कुलकी श्रुति राईले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए।
विजेताहरूलाई नगद, प्रमाणपत्र, शिल्ड, मेडल तथा दुध तथा दुग्धजन्य सामग्री पुरस्कारस्वरूप प्रदान गरिएको थियो।
एसोसिएसनका उपाध्यक्ष मनोज कुमार यादवका अनुसार सातै प्रदेश र २५ जिल्लामा विश्व दुग्ध दिवस विविध कार्यक्रममार्फत मनाउने तयारी गरिएको छ। सहसचिव रमेश सञ्जेलले जेठ १४ गते काभ्रेको नालामा स्थानीय तहसँगको सहकार्यमा “असल दुध अभ्यास” कार्यक्रम आयोजना गरिने जानकारी दिए।
त्यसैगरी, राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य राजन दाहालले यस वर्षको मूल समारोह जुन १ मा ललितपुरस्थित बोर्डको सभाहलमा नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने जानकारी दिए।
कार्यक्रमको उद्घाटन सत्रमा अध्यक्ष, प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले संयुक्त रूपमा बालबालिकालाई दुधपान गराई कार्यक्रमको उद्घाटन गरिएको थियो। साथै, उपस्थित सबैलाई दुध तथा दुग्धजन्य पदार्थ वितरण समेत गरिएको थियो।
कार्यक्रममा हिमालयन डेरी एण्ड एग्रोभेट रिसर्च सेन्टर, सुर्योदय डेरी उद्योग विराटनगर र ओखलढुंगे डेरी उद्योग भक्तपुरद्वारा उत्पादित सामग्री मायाको चिनो स्वरूप वितरण गरिएको थियो।
कविता प्रतियोगिताको मूल्याङ्कनका लागि त्रिभुवन विश्वविद्यालयकी उप-प्राध्यापक उषा आचार्य र साबित्रा पाण्डे निर्णायकका रूपमा रहेका थिए। कार्यक्रमको सञ्चालन नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका सचिव श्याम प्रसाद घिमिरेले गरेका थिए।
नेपाल कृषि तथा पशुपन्छी व्यवसायी संघ, रोटरी क्लब अफ कपन, अप्टिमिस्ट क्लब अफ डेरी इन्टरप्रेनियर्स, राष्ट्रिय दुग्ध विकास बोर्ड तथा बागमती प्रदेश दुग्ध विकास बोर्डको सहकार्यमा कार्यक्रम सम्पन्न भएको एसोसिएसनका केन्द्रीय उपाध्यक्ष दिप प्रसाद धमलाले जानकारी दिए।








