खुशीराम डौलियाका १८ सहित २० कृति एकैपटक विमोचन
काठमाडौं । लेखक तथा साहित्यकार खुशीराम डौलियाका १८ सहित विभिन्न विधाका २० कृति एकैपटक विमोचन गरिएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा डौलियाका १८, अनन्तविजय डौलियाको एक र विष्णु गुरुङ (प्यासी)को एक कृति सार्वजनिक गरिएको हो। विमोचित कृतिहरूमा कविता, कथा, नियात्रा, उपन्यास, जीवनी तथा बालसाहित्य समेटिएका छन्।
डौलियाका ‘सुगन्ध’, ‘बाध्यता’, ‘हलेसीदेखि मुक्तिनाथ’, ‘बस्तीभित्रका हस्तीहरू’, ‘पर्खालभित्र’, ‘जीवनको परिभाषा’ लगायतका कृति सार्वजनिक गरिएका छन्। यसैगरी ‘अन्त्यहीन यात्रा’, ‘प्रशान्तका छाल’, ‘मौन आकाश’, ‘अस्तित्व’, ‘उज्यालोको खोजी’, ‘रित्तो सहर’, ‘सम्बन्ध’ र ‘जलेको मन’ लगायत कविता संग्रह पनि विमोचन गरिएका छन्।
अनन्तविजय डौलियाको बालसाहित्य कृति ‘दोस्ती’ र विष्णु गुरुङ (प्यासी)को कविता संग्रह ‘बनपाखाका फूलहरू’ पनि सार्वजनिक गरिएको छ।
कृतिहरूको विमोचन कार्यक्रममा जयराज आचार्य लगायतले सहभागिता जनाएका थिए।
कार्यक्रममा बोल्दै खुशीराम डौलियाले आफ्ना कृतिमार्फत नेपाली समाज, संस्कृति र जीवनका विविध पक्षलाई अभिव्यक्त गर्ने प्रयास गरेको बताए। उनले आफूले प्रकाशन गरेका कृतिको संख्या २९ पुगे पनि साहित्यिक यात्रामा सिकाइ निरन्तर जारी रहेको उल्लेख गरे।
लेखन यात्रामा सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गर्दै डौलियाले साहित्य सिर्जनालाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
– न्युज एजेन्सी नेपाल








