फोटो पत्रकारलाई प्राथमिक उपचार तालिम, कार्यक्षेत्रमै आकस्मिक उपचार गर्न सक्षम बनाउने उद्देश्य
काठमाडौं । सम्पादक समाज नेपालले फोटो पत्रकारहरूलाई लक्षित गर्दै प्राथमिक उपचारसम्बन्धी तालिम सञ्चालन गरेको छ। तालिमले आन्दोलन, दुर्घटना तथा विपद्का बेला घाइते हुने सञ्चारकर्मीलाई कार्यक्षेत्रमै तत्काल उपचार गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ।
नुवाकोटको शिवपुरी गाउँपालिका–७ सुइरेचौरस्थित गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रमा सञ्चालन भइरहेको दुईदिने तालिम आइतबार सम्पन्न हुँदैछ। तालिममा विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारहरूको सहभागिता रहेको छ।
सम्पादक समाज नेपालका महासचिव श्याम डोटेलले आन्दोलन र दंगाका क्रममा अग्रपंक्तिमा खटिने फोटो पत्रकारहरू बारम्बार जोखिममा पर्ने गरेको अनुभवपछि तालिम आयोजना गरिएको बताए।
“फिल्डमै रहेका सञ्चारकर्मीले सहकर्मी घाइते भए तत्काल प्राथमिक उपचार गर्न सकून् भन्ने उद्देश्यले तालिम सञ्चालन गरेका हौँ,” उनले भने।
तालिममा चोटपटक, दुर्घटना तथा आकस्मिक स्वास्थ्य समस्याका बेला अपनाउनुपर्ने प्राथमिक उपचारका विधिबारे प्रशिक्षण दिइएको छ।
फोटो पत्रकार शम्भु दंगालले फोटो पत्रकारहरू सधैँ अग्रपंक्तिमा खटिने भएकाले यस्तो तालिम निकै उपयोगी हुने बताए। उनका अनुसार दंगा, आन्दोलन वा अन्य जोखिमपूर्ण अवस्थामा घाइते भएका सहकर्मीको अवस्था थप जटिल हुन नदिन तालिमले सहयोग पुर्याउनेछ।
तालिमले फोटो पत्रकारहरूको कार्यक्षमता, आत्मविश्वास र सुरक्षा सचेतना बढाउन समेत योगदान पुग्ने अपेक्षा गरिएको आयोजकको भनाइ छ।
– न्युज एजेन्सी नेपाल








