ऊर्जा क्षेत्रका समस्या समाधानका लागि सामूहिक दबाब आवश्यक : इप्पान पूर्वअध्यक्ष आचार्य
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का पूर्वअध्यक्ष कृष्ण आचार्यले ऊर्जा क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारमाथि सामूहिक रूपमा दबाब सिर्जना गर्नुपर्ने बताएका छन्।
नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा उनले ऊर्जा क्षेत्रका जायज माग सम्बोधन गराउन एकता र शक्ति प्रदर्शन आवश्यक रहेको बताए।
आचार्यले विद्युत् खरिद सम्झौता (पीपीए) र साधारण सेयर (आईपीओ) निष्कासनमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाए। उनका अनुसार पछिल्ला दुई वर्षदेखि ऊर्जा कम्पनीहरूको आईपीओ प्रक्रिया अवरुद्ध छ भने नियामक निकायमा नेतृत्व अभाव र कार्यक्षमताको कमीका कारण उद्यमीहरू समस्यामा परेका छन्।
सरकारले घोषणा गरेको एकद्वार प्रणाली व्यवहारमा कार्यान्वयन हुन नसकेको उनको टिप्पणी थियो। व्यक्तिगत स्वार्थका लागि सरकारी निकाय धाउने प्रवृत्तिले ऊर्जा उत्पादकहरूको साझा आन्दोलन कमजोर बनाएको भन्दै उनले संस्थागत हितलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
“हामीले पटक–पटक पीपीए गरिदिन आग्रह गर्दा पनि सरकारले सुनेको छैन,” उनले भने, “सरकारी निकायमा निवेदन दिनु पशुपतिमा फूल चढाएजस्तै भएको छ, जहाँबाट कुनै प्रतिक्रिया वा कारबाहीको सुनिश्चितता हुँदैन।”
आचार्यले संस्थाको दायरा विस्तार भइरहेकाले आवश्यक परे विधान अधिवेशन बोलाएर संस्थागत संरचना र विधान परिमार्जन गर्न नयाँ कार्यसमितिलाई सुझाव दिए।
उनले रोइकराइ वा आग्रहले मात्र माग पूरा नहुने भन्दै आफ्नो अधिकार र भविष्य सुरक्षित गर्न ऊर्जा उद्यमीहरू एकजुट हुनुपर्ने बताए। सामूहिक सहकार्यबाट मात्रै ऊर्जा क्षेत्रका चुनौती समाधान गर्न सकिने उनको भनाइ थियो।
– न्युज एजेन्सी नेपाल








