शुभश्री कलेजमा ‘उद्यमी मेला’ सम्पन्न (फाेटाे फिचर)
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित शुभश्री कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीमा उद्यमशीलताको भावना विकास गर्ने उद्देश्यले ‘शुभश्री उद्यमी मेला’ सम्पन्न भएको छ।
कलेजमा अध्ययनरत बिबिए, बिएचएम र बिसिएसआइटी कार्यक्रमका विभिन्न सेमेस्टरका विद्यार्थीहरूको प्रत्यक्ष संलग्नतामा कार्यक्रम आयोजना गरिएको हो।
बिहीबार कलेज परिसरमा आयोजित मेलामा विद्यार्थीहरूले आफ्ना नवप्रवर्तनशील व्यावसायिक योजना र स्टार्टअपसम्बन्धी प्रदर्शनी गरेका थिए। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक उद्यमशीलताको अनुभव प्रदान गर्ने र उनीहरूको सिर्जनशीलतालाई प्रस्फुटन गर्ने उद्देश्यले मेला आयोजना गरिएको कलेजकी प्रिन्सिपल मनिता बस्नेतले बताइन्।
मेलामा खानपान, लुगा, खेलौना, खाद्यान्नलगायतका उत्पादनको प्रदर्शनी तथा बिक्री गरिएको थियो। विद्यार्थी आफैँले स्टल सञ्चालन गरी आफ्नै श्रमबाट उत्पादित वस्तुलाई प्राथमिकता दिएका थिए।
मेलामा सर्वसाधारण र विद्यार्थीका लागि निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको थियो। शिविरमा जनरल हेल्थ चेकअप, दन्त परीक्षण, आँखा जाँच, छाला सम्बन्धी परामर्श तथा रक्तदान कार्यक्रम समावेश गरिएको थियो।
मेलामा नेपाल रेडक्रस सोसाइटी (केन्द्रीय रक्तसञ्चार सेवा), समाज डेन्टल, एएसजी आँखा उपचार केन्द्र, क्युटिस केयर, भेनस अस्पताल र एभरेस्ट अस्पतालले सेवा दिएका थिए। साथै, मेलालाई व्यवस्थित बनाउन एससीएम कम्युनिटी क्लब, इभेन्ट मास्टर्स क्लब, लिडरशिप क्लब, स्पोर्ट्स क्लब र टेक क्लबले सक्रिय भूमिका निर्वाह गरेका थिए।
मेलाकै अवसरमा शुभश्री कलेजले बिबिए, बिएचएम र बिसिएसआइटी कार्यक्रमका लागि नयाँ भर्ना खुला भएको जानकारी पनि दिएको छ। कक्षा १२ (प्लस टु) को परीक्षा दिएर बसेका विद्यार्थी, अभिभावक तथा इच्छुकलाई कलेजमा आएर आफ्नो शैक्षिक भविष्यबारे जानकारी लिन आग्रह गरिएको बिबिए संकायका संयोजक अनिष पौडेलले बताए।
“विद्यार्थीको उद्यमशील सोचलाई प्रोत्साहन गर्दै समाजसेवालाई पनि उत्तिकै प्राथमिकता दिएका छौँ,” पौडेलले भने, “हामी व्यवहारिक शिक्षामा केन्द्रित भएकाले अभिभावक र विद्यार्थीको कलेजप्रति उच्च विश्वास छ। प्लस टु पूरा गरेका विद्यार्थीलाई नयाँ ब्याचका रूपमा स्वागत गर्न थालेका छौँ।”
मेलाले विद्यार्थीमा उद्यमशीलताको संस्कृति विकास गर्न र नयाँ पुस्तालाई व्यावसायिक चुनौती सामना गर्न तयार बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास बिबिए आठौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थी पविना कार्कीले व्यक्त गरिन्।
“कलेज पूरा गरेपछि जागिर वा उद्यम, जुनसुकै क्षेत्रमा अघि बढ्न आवश्यक आत्मविश्वास हामीले यहाँबाट पाएका छौँ। यो विद्यार्थीका लागि ठूलो उपलब्धि हो भन्ने मलाई लाग्छ,” उनले भनिन्।





























