अफगानिस्तानमा अफिम खेती छाडेर गहुँतर्फ आकर्षित हुँदै किसान
काबुल । कुनै समय विश्वको अवैध हिरोइन व्यापारको प्रमुख स्रोत मानिने अफगानिस्तानका खेतबारीमा अहिले बैजनी रङका अफिमका फूलभन्दा सुनौलो गहुँ र आलु लहलहाउन थालेका छन्। अफिम खेतीमा सरकारी प्रतिबन्ध लागू भएको चार वर्षपछि त्यहाँका किसानहरू वैध खेतीतर्फ आकर्षित हुँदै गएका हुन्।
अफगानिस्तानको पूर्वी लोगार प्रान्तको मोहम्मद आगा जिल्लाका किसानहरूले आफ्नो जीविकोपार्जन र भविष्य सुरक्षित बनाउन गहुँ, आलु तथा अन्य खाद्यान्न बालीलाई प्राथमिकता दिन थालेका छन्। यस परिवर्तनले उनीहरूलाई स्थिर आम्दानीसँगै सामाजिक प्रतिष्ठा र मानसिक शान्तिसमेत दिलाएको उनीहरूको अनुभव छ।
दश सदस्यीय परिवार पाल्न मौसमी कृषि मजदुरका रूपमा काम गर्दै आएका बशीरले अफिमभन्दा गहुँ खेती धेरै लाभदायी भएको बताए।
उनले भने, “अफिमभन्दा गहुँ खेती धेरै राम्रो छ। यसले हामीलाई वैध आम्दानीको स्रोत दिएको छ भने स्थानीय मानिसहरूका लागि रोजगारीका अवसर पनि सिर्जना गरेको छ।”
उनका अनुसार अफिम खेतीले जमिनको उर्वराशक्ति मात्र होइन, समाजलाई पनि दीर्घकालीन रूपमा नोक्सान पुर्याउँछ।
सोही जिल्लाका अर्का किसान सबीर अहमदले आफ्ना दाजुभाइसँग मिलेर ६० एकड जमिनमा अफिमको सट्टा गहुँ र आलु खेती गरिरहेका छन्। उनले अब फेरि अफिम खेतीमा फर्कने कुनै सोच नरहेको बताए।
उनले भने, “गहुँ र आलुले हामीलाई मर्यादित जीवन दिएको छ। अफिम खेतीले वर्षौंसम्म माटोको उत्पादकत्व घटाउँछ।”
अहमदको फार्ममा हाल करिब १५ जना दैनिक ज्यालादारी मजदुरले रोजगारी पाएका छन्।
संयुक्त राष्ट्रसंघीय लागूऔषध तथा अपराध नियन्त्रण कार्यालय (यूएनओडीसी) को हालैको प्रतिवेदनअनुसार सन् २०२२ को अप्रिलमा अफिम खेती, उत्पादन र लागुऔषध ओसारपसारमा प्रतिबन्ध लगाएपछि अफगानिस्तानमा अवैध बाली उत्पादन उल्लेखनीय रूपमा घटेको छ। त्यसयता कृषि क्षेत्रमा ठूलो परिवर्तन देखिएको प्रतिवेदनमा उल्लेख छ।
तीन दशकदेखि कृषि पेशामा संलग्न अल्ला मोहम्मदले वैध खेतीले अफिमभन्दा धेरै रोजगारी सिर्जना गर्ने बताए।
उनले भने, “अफिम खेतीले स्थानीय समुदायलाई सीमित फाइदा पुर्याउँथ्यो। तर वैध खेतीले वृक्षारोपण, सिँचाइ, कटानीदेखि ढुवानीसम्मका काममा सिजनभर धेरै मानिसलाई रोजगारी दिन्छ।”
कृषि क्षेत्रमा आएको परिवर्तन आर्थिक सुधारमा मात्र सीमित नरही सामाजिक सुधारको माध्यमसमेत बनेको छ। सरकारी तथ्याङ्कअनुसार विगत दुई दशकमा अफगानिस्तानका करिब ४० लाख मानिस लागुऔषधको दुव्र्यसनमा परेका थिए।
काबुल जोड्ने राजमार्ग नजिकै ६ एकड जमिनमा खेती गर्दै आएका हाजी ख्वानीले समाज र भावी पुस्तालाई लागुऔषधको जोखिमबाट जोगाउन अफिम खेती त्यागेको बताए।
यद्यपि, यो परिवर्तनलाई दिगो बनाउन किसानहरूले सरकार र अन्तर्राष्ट्रिय समुदायको थप सहयोग आवश्यक रहेको बताएका छन्। उनीहरूले रासायनिक मल, उन्नत बीउ, आधुनिक सिँचाइ प्रणाली, पानी भण्डारण पूर्वाधार र उत्पादनको सुनिश्चित बजार व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका छन्।
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अफगानिस्तानमा देखिएको यो कृषि रूपान्तरणलाई लागुऔषध नियन्त्रण र ग्रामीण जीविकोपार्जन सुधारको सकारात्मक उदाहरणका रूपमा हेरिएको छ। सरोकारवालाहरूले यसको दिगोपनाका लागि दीर्घकालीन लगानी, पूर्वाधार विकास र कृषि क्षेत्रमा निरन्तर सहयोग आवश्यक रहेको बताएका छन्।
– न्युज एजेन्सी नेपाल (सिन्ह्वाको सहयोगमा)








