२५ असार २०८३, बिहिबार

कामु कार्यकारी निर्देशकले धानेनन् प्राधिकरणको ‘लोड’, कुलमानले भने,‘पूर्णकालीन,सक्षम र अधिकार सम्पन्न नेतृत्व आवश्यक’

प्रकाशित मिति :  9 July, 2026 11:16 am


काठमाडौँ । झ्याप्प–झ्याप्प बत्ती जाने समस्या देशभर बढेपछि उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ्ले नेपाल विद्युत् प्राधिकरणमा तत्काल ‘पूर्णकालीन, सक्षम र अधिकारसम्पन्न नेतृत्व आवश्यक’ रहेको भन्दै सरकारको ध्याकर्षण गराएका छन् ।

यो विषय संसददेखि सडकसम्म,सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म व्यापक बहसको विषय बनेको उल्लेख गर्दै घिसिङ्ले भनेका छन्,“वर्षायाममा प्राविधिक कारणले कहिलेकाहीँ विद्युत् अवरुद्ध हुन सक्छ । यो ऊर्जा प्रणालीको स्वाभाविक प्राविधिक चुनौती हो ।

यसको अर्थ देशमा विद्युत् उत्पादनको अभाव छ वा प्रणाली नै असफल भएको भन्ने होइन ।”

यस्ता चुनौतीलाई तत्काल सम्बोधन गर्न सक्षम, अनुभवी र निर्णयक्षमता भएका नेतृत्व भने अनिवार्य हुने घिसिङ्को भनाई छ ।

उनले भने,“दुर्भाग्य, देशको सबैभन्दा महत्वपूर्ण सार्वजनिक संस्थामध्ये एक नेपाल विद्युत् प्राधिकरण लामो समयदेखि नेतृत्वविहीन अवस्थामा कायम मुकायमको भरमा सञ्चालन भइरहेको छ ।”

यस्तो संस्थालाई नेतृत्वविहीन बनाएर समस्या समाधानको अपेक्षा गर्नु स्वयं सरकारको अदूरदर्शिता भएको घिसिङ्को टिप्पणी छ ।

उनले थप भनेका छन्,“अझ विडम्बना त के छ भने, संस्थालाई सक्षम नेतृत्व दिन सरकारले कुनै तदारुकता देखाउँदैन तर समस्या देखिएपछि मन्त्रालयबाट समिति गठन गरेर जिम्मेवारीबाट पन्छिन खोज्छ । समिति बनाएर विद्युत् प्रणाली चल्दैन, निर्णय गर्ने नेतृत्व चाहिन्छ ।”

प्रशासनिक अन्योल, निर्णयमा ढिलाइ र राजनीतिक हस्तक्षेपको मूल्य अन्ततः जनताले तिर्नुपरेको उल्लेख गर्दै पूर्वकार्यकारी निर्देशक घिसिङ्ले ऊर्जा क्षेत्र कुनै राजनीतिक प्रयोगशाला होइन भएको र यो देशको अर्थतन्त्र, उद्योग, सेवा र जनजीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र भएको बताएका छन् ।

उनले भनेका छन्,“यस्तो अवस्थामा निर्णय प्रक्रियामा ढिलाइ हुन सक्छ, कर्मचारीको मनोबल प्रभावित हुन सक्छ र दीर्घकालीन योजना कार्यान्वयनमा पनि असर पर्न सक्छ। यदि सरकारले ऊर्जा सुरक्षालाई साँच्चिकै प्राथमिकतामा राखेको हो भने, नेपाल विद्युत् प्राधिकरणलाई तत्काल पूर्णकालीन, सक्षम र स्वायत्त नेतृत्व दिनुपर्छ ।”

आजको झ्याप्प–झ्याप्प बत्ती भोलिको गम्भीर संस्थागत सङ्कटमा रूपान्तरण हुन धेरै समय नलाग्ने घिसिङ्को चेतावनी छ ।

नेतृत्वको अभावलाई प्राविधिक समस्याको आवरणले ढाक्न खोज्नु समाधान नभएको भन्दै घिसिङले ऊर्जा क्षेत्र निरन्तर निर्णय, समन्वय र प्राविधिक दक्षताले चल्ने क्षेत्र भएको समेत स्मरण गराएका छन् । त्यसैले सरकारको प्राथमिकता नेपाल विद्युत् प्राधिकरणलाई शीघ्र पूर्णकालीन, सक्षम र अधिकारसम्पन्न नेतृत्व प्रदान गर्दै संस्थागत स्थायित्व सुनिश्चित गर्नु हुनुपर्नेमा उनको जोड छ ।

घिसिङले निर्माणाधीन प्रसारण तथा वितरण प्रणालीको निर्माण सम्पन्न गरी छिटो चालु गर्ने र आधुनिकीकरण गर्ने, नियमित मर्मत–सम्भार, प्रणालीको विश्वसनीयता अभिवृद्धि र आपत्कालीन प्रतिक्रिया प्रणालीलाई अझ प्रभावकारी बनाउनेतर्फ समान रूपमा ध्यान दिन आवश्यक रहेको बताएका छन् ।

अध्यादेशबाट तत्काली कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य हटेपछि दिघायुकुमार श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशक बनाइएको थियो । पछि कामुको जिम्म दिइएको थियो । देशभर झ्याप्प-झ्याप्प बत्ति जाने समस्या बढिरहे पनि समाधान हुन सकेको छैन ।

समस्या समाधान गर्न भन्दै समिति बनाइएको छ । यद्यपी समितिले समस्या समाधान नहुने कुलमान घिसिङको टिप्पणी छ ।



प्रतिक्रिया दिनुहोस !