२७ असार २०८३, शनिबार

एक चीन नीति’प्रति सचेत रहन र कूटनीतिक संवेदनशीलता कायम राख्न पूर्वराजदूतहरूको आग्रह

प्रकाशित मिति :  11 July, 2026 7:35 pm


काठमाडौं । पूर्वराजदूत तथा कूटनीतिज्ञहरूले नेपालले अवलम्बन गर्दै आएको ‘एक चीन नीति’प्रति सरकार थप दृढ र संवेदनशील हुनुपर्नेमा जोड दिएका छन्। तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन जिल्ला प्रशासन कार्यालयले औपचारिक अनुमति दिएको र उक्त कार्यक्रममा विदेशी कूटनीतिज्ञहरूको सहभागिता रहेको विषयप्रति उनीहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।

खुकुलो नीतिले संशय पैदा गर्‍यो: हिरण्यलाल श्रेष्ठ

पूर्वराजदूत तथा कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले नेपालले अंगीकार गर्दै आएको ‘एक चीन नीति’प्रति सरकार प्रतिबद्ध रहनुपर्नेमा जोड दिए। प्रशासनले सडकमा नाराबाजी नगर्ने सर्तमा कार्यक्रम आयोजना गर्न अनुमति दिएको उल्लेख गर्दै उनले सरकारको यस कदममाथि प्रश्न उठाए।

विगतका वर्षहरूमा यस्ता कार्यक्रममाथि कडा प्रतिबन्ध लगाइने, अनुमति नदिइने र सहभागीलाई नियन्त्रणमा लिने अभ्यास रहेको स्मरण गराउँदै श्रेष्ठले भने, “यसपटकको खुकुलो नीतिले नेपालको परराष्ट्र नीतिमा परिवर्तन आएको हो कि भन्ने संशय पैदा गरेको छ। दलाई लामालाई आध्यात्मिक गुरुका रूपमा हामी पनि मान्छौँ। तर उहाँ लामो समयसम्म निर्वासित सरकारको प्रमुख र संरक्षक रहनुभएको छ। उहाँको राजनीतिक व्यक्तित्व चीनलाई विखण्डन गर्ने र ‘एक चीन नीति’विरुद्धको गतिविधिमा संलग्न रहेकाले औपचारिक रूपमा जन्मोत्सव मनाउन अनुमति दिनुप्रति हाम्रो विरोध हो।”

वैदेशिक सम्बन्ध पारस्परिकतामा आधारित हुनुपर्छ: राजेश्वर आचार्य

पूर्वराजदूत राजेश्वर आचार्यले नेपालको परराष्ट्र नीति र कूटनीतिक अभ्यासमा सुधार आवश्यक रहेको बताए। छिमेकी मुलुकसँगको सम्बन्ध पारस्परिकता (रेसिप्रोसिटी) का आधारमा अघि बढाउनुपर्नेमा जोड दिँदै उनले कूटनीतिक संवादका क्रममा आफ्नो पद वा व्यक्तिगत छविभन्दा राष्ट्रिय हितलाई केन्द्रमा राख्नुपर्ने धारणा राखे।

पछिल्लो समय उच्चस्तरीय वैदेशिक भ्रमणमा आफ्नै दलका प्रतिनिधि मात्र लैजाने परिपाटी संसदीय व्यवस्थाको मर्मअनुकूल नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

आचार्यले भने, “हाम्रा नेताहरूले आफ्नो धारणा राख्न डराउनु हुँदैन। सम्बन्ध बिग्रेला कि भनेर हिच्किचाउनुको सट्टा स्पष्ट रूपमा आफ्ना कुरा राख्ने हिम्मत गर्नुपर्छ। भ्रमण टोलीमा दलीय संकीर्णता देखिनुले संसदीय प्रणाली र देशलाई बलियो बनाउँदैन।”

कूटनीतिक सन्तुलनमा खलल पुग्ने चिन्ता: टंक कार्की र विष्णुपुकार श्रेष्ठ

चीनका लागि नेपालका पूर्वराजदूतहरूले विज्ञप्तिमार्फत नेपाली भूमि छिमेकी राष्ट्र चीनको विरुद्धमा प्रयोग हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन्।

पूर्वराजदूत टंक कार्कीले सरकारको सुरक्षा समितिले स्वीकृति दिएर दलाई लामाको जन्मोत्सव मनाउन दिइनु र त्यहाँ विभिन्न देशका कूटनीतिक व्यक्तित्वहरूको उपस्थिति हुनु कूटनीतिक दृष्टिले संवेदनशील विषय भएको बताए।

कार्कीले भने, “हामीले सधैँ नेपालको भूमि चीनको विरुद्धमा प्रयोग हुन दिनेछैनौँ भन्दै आएका छौँ। यो हाम्रो राष्ट्रिय प्रतिबद्धता हो। तर सरकारकै सुरक्षा समितिले अनुमति दिएर अन्तर्राष्ट्रिय कूटनीतिक व्यक्तित्वहरूको उपस्थितिमा यस्ता गतिविधि हुनुले नेपालको कूटनीतिक सन्तुलनमा खलल पुर्‍याउँछ।”

चीनका लागि अर्का पूर्वराजदूत विष्णुपुकार श्रेष्ठले पनि अन्तर्राष्ट्रिय मञ्चमा नेपालले निरन्तर ‘एक चीन नीति’प्रति प्रतिबद्धता जनाउँदै आएको सन्दर्भमा यस्ता गतिविधिले कूटनीतिक मर्यादामा आँच पुग्ने बताए। सरकारबाट यस्ता कमजोरी भएका भए तत्काल सच्याएर मुलुकको परराष्ट्र नीतिलाई स्थिर र विश्वसनीय बनाउन उनले आग्रह गरे।

नेपाललाई प्रोक्सी वारको थलो बनाउन खोजियो : लीलामणि पौडेल

पूर्वमुख्यसचिव तथा चीनका लागि नेपालका पूर्वराजदूत लीलामणि पौडेलले नेपाललाई शक्ति राष्ट्रहरूको द्वन्द्वको थलो बनाउन खोजिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरे। हालै एक विद्यालयमा आयोजित जन्मोत्सव कार्यक्रममा विभिन्न मुलुकका उच्च कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूको सहभागितामाथि प्रश्न उठाउँदै उनले धार्मिक आस्था र राजनीतिक गतिविधिलाई छुट्टाछुट्टै रूपमा हेर्नुपर्ने बताए।

पौडेलले भने, “कुनै पनि व्यक्तिको जन्मोत्सव मनाउनु स्वाभाविक हो। तर उच्च तहका कूटनीतिज्ञहरूको त्यस्तो कार्यक्रममा ठूलो संख्यामा उपस्थिति हुनु र सरकारले त्यसका लागि स्वीकृति दिनुले चिन्ता बढाएको छ। नेपाललाई ‘प्रोक्सी वार’ (छद्म युद्ध) को थलो बनाउन र नेपालको काँधमा बन्दुक राखेर छिमेकी राष्ट्रहरूविरुद्ध निशाना बनाउन खोजिएका गतिविधिप्रति सरकार र नागरिक दुवै सचेत हुन आवश्यक छ।”

नेपाल अन्तर्राष्ट्रिय तनावको खेल मैदान बन्दैछ: जगन्नाथ खतिवडा

नेपाली कम्युनिष्ट पार्टीका नेता जगन्नाथ खतिवडाले वर्तमान विश्व व्यवस्थामा भइरहेको परिवर्तन र त्यसले नेपालमा पार्न सक्ने प्रभावबारे गम्भीर बहस आवश्यक रहेको बताए। विश्व राजनीतिमा शक्तिको सन्तुलन फेरबदल भइरहेका बेला शक्तिशाली राष्ट्रहरूबीच उत्पन्न तनावको असर नेपालमा पनि देखिन थालेको उनको भनाइ छ।

खतिवडाले भने, “नेपाल अहिले सोही अन्तर्राष्ट्रिय तनावको ‘खेल मैदान’ बन्न लागेको छ। बदलिँदो विश्व परिवेशमा नेपाल कुन स्थानमा उभिने र कस्तो भूमिका निर्वाह गर्ने भन्ने विषयमा स्पष्ट हुन जरुरी छ।”
यस विषयलाई नेपाली जनताले गम्भीरतापूर्वक बुझ्न र बौद्धिक समुदायले गहन बहस तथा छलफल चलाउनु अपरिहार्य रहेकोमा उनले जोड दिए।

–न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !