३० आश्विन २०८३, शुक्रबार

दाङका स्थानीय तहमा सोमबारदेखि एनसेलको थ्रीजी सेवा बन्द हुँदै, भाेल्टे अपग्रेड गर्न आव्हान

प्रकाशित मिति :  12 July, 2026 5:22 pm


काठमाडौं । एनसेलले सेवा स्तरोन्नति र फोरजी नेटवर्क विस्तार अभियानअन्तर्गत सोमबार (असार २९) देखि दाङसहित चार जिल्लाका ३५ स्थानीय तहमा थ्रीजी सेवा बन्द गर्ने भएको छ।

कम्पनीका अनुसार ‘भ्वाइस ओभर लङ टर्म इभोलुसन’ (भोल्टे) प्रविधिलाई थप प्रभावकारी बनाउँदै गुणस्तरीय भ्वाइस तथा डेटा सेवा उपलब्ध गराउने उद्देश्यले थ्रीजी सेवा चरणबद्ध रूपमा बन्द गर्न लागिएको हो।

यस चरणमा दाङ, पर्सा, इलाम र पाँचथरका २१५ भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द हुनेछ। कम्पनीले देशको करिब ९५ प्रतिशत जनसंख्यासम्म फोरजी सेवा विस्तार गरिसकेको जनाएको छ।

दाङमा घोराही, तुलसीपुर, लमही, बबई र शान्तिनगरमा थ्रीजी सेवा बन्द हुनेछ। त्यस्तै इलामका इलाम, सूर्योदय, माई, देउमाई, माईजोगमाई, रोङ, फाकफोकथुमलगायत स्थानीय तह, पाँचथरका फिदिम, फालेलुङ, फाल्गुनन्द, मिक्लाजुङ, कुम्मायक तथा पर्साका वीरगञ्ज, बहुदरमाई, पर्सागढी, पोखरिया, ठोरी, कालिकामाई, जगरनाथपुर, धोबिनी, छिपहरमाई, जिराभवानी र सखुवा प्रसौनीलगायत स्थानीय तहमा पनि थ्रीजी सेवा बन्द गरिनेछ।

थ्रीजी प्रयोग गरिरहेका ग्राहकलाई फोरजीमा अपग्रेड हुन कम्पनीले आग्रह गरेको छ। फोरजी सपोर्ट गर्ने मोबाइल, फोरजी सिम वा ई–सिम प्रयोग गर्ने ग्राहकले मोबाइलको सेटिङमा भोल्टे सेवा सक्रिय गरेपछि उच्च गुणस्तरको भ्वाइस कल र फोरजी डेटा सेवा प्रयोग गर्न सक्नेछन्।

कतिपय ग्राहकले फोरजी सिम र फोरजी सपोर्ट गर्ने मोबाइल प्रयोग गरिरहेको भए पनि मोबाइल सेटिङका कारण अझै थ्रीजीमै सेवा लिइरहेको कम्पनीले जनाएको छ।

एनसेलका अनुसार भोल्टे सक्रिय गर्न *१२३*११# डायल गर्न सकिन्छ। त्यसपछि मोबाइलको भोल्टे सेटिङ ‘अन’ गर्नुपर्छ। यस प्रविधिबाट छिटो कल कनेक्ट हुने, स्पष्ट भ्वाइस सेवा प्राप्त हुने र डेटा प्रयोगको गुणस्तर पनि सुधार हुने कम्पनीको दाबी छ।

एनसेलले यसअघि पनि विभिन्न जिल्लाका स्थानीय तहमा चरणबद्ध रूपमा थ्रीजी सेवा बन्द गरिसकेको छ। कम्पनीले देशभर आधुनिक मोबाइल सेवा विस्तार गर्ने योजनाअनुसार आगामी दिनमा अन्य क्षेत्रमा पनि थ्रीजी सेवा क्रमशः बन्द गर्दै जाने जनाएको छ।



प्रतिक्रिया दिनुहोस !