कृषि मन्त्री चौधरी र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनकी निर्देशक हुआ याङबिच भेटवार्ता
काठमाडाैँ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) को दक्षिण–दक्षिण तथा त्रिपक्षीय सहयोग विभागकी निर्देशक एवं महानिर्देशकको कार्यालयकी उपनिर्देशक हुआ याङबीच शिष्टाचार भेटवार्ता भएको छ।
मन्त्रालयमा भएको भेटवार्तामा नेपालमा खाद्य सुरक्षा, कृषि क्षेत्रको रूपान्तरण, दिगो कृषि तथा खाद्य प्रणालीको विकास र दक्षिण–दक्षिण तथा त्रिपक्षीय सहयोग विस्तारका विषयमा छलफल भएको थियो।
भेटका क्रममा मन्त्री चौधरीले नेपालको कृषि क्षेत्रको रूपान्तरण, खाद्य सुरक्षाको सुदृढीकरण तथा अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनका लागि एफएओसँगको सहकार्यलाई थप विस्तार गर्न नेपाल इच्छुक रहेको बताउनुभयो।
छलफलमा सीमापार पशुरोग नियन्त्रण, जलवायु परिवर्तनअनुकूल कृषि विकास, कृषि प्रयोगशालाको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशाला स्थापना, उच्च मूल्यका कृषि उपजको निर्यात प्रवर्द्धन र भौगोलिक सङ्केतसम्बन्धी कानुनी तथा संस्थागत व्यवस्थालाई सुदृढ बनाउने विषयमा समेत विचार आदानप्रदान भएको थियो।
हुआ याङले आफूले हालै दक्षिण–दक्षिण तथा त्रिपक्षीय सहयोग विभागको नेतृत्व सम्हालेको जानकारी दिँदै नेपाललाई प्राथमिकतामा राखेर सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा आयोजना हुने कृषि विज्ञान तथा नवप्रवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रमका साथै इटालीको रोमस्थित एफएओको मुख्यालयमा आयोजना हुने कार्यक्रममा नेपालको सहभागिताका लागि निमन्त्रणा समेत दिनुभयो।
भेटवार्तामा नेपाल सरकार र एफएओबीचको सहकार्यलाई थप सुदृढ गर्दै दिगो, उत्थानशील तथा समावेशी कृषि तथा खाद्य प्रणालीको विकासका लागि साझेदारीलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता दुवै पक्षले व्यक्त गरेका छन्।








