सुनसरीको अवस्थाबारे छलफल गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै
काठमाडौँ । सुनसरीमा उत्पन्न परिस्थिति र सुरक्षा अवस्थालगायत समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बिहीबार बिहान ११ः३० बजे बस्ने भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सुनसरीको पछिल्लो घटनाक्रम, सुरक्षा अवस्था र आवश्यक कदमबारे छलफल हुने जनाइएको छ।
यसअघि बुधवार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा घटनाको समीक्षा, गोली प्रहारको विषय र शान्ति स्थापनाका उपायबारे छलफल भएको थियो। घटनाको छानबिनका लागि समिति गठन गरी अनुसन्धान अघि बढाइएको छ।
प्रधानमन्त्री शाहले बुधबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग छुट्टाछुट्टै भेट गरी सुनसरीको अवस्था नियन्त्रणमा लिन, नागरिकको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भाव बिथोल्ने गतिविधिमाथि कडा निगरानी राख्न निर्देशन दिएका छन्।
सुनसरीको कप्तानगन्जमा दुई पक्षबीच झडप हुँदा गोली लागेर एक जनाको मृत्यु भएको थियो। घटना पछि सुनसरी केही दिनदेखि अशान्त बनेको छ ।








