१५ श्रावण २०८३, शुक्रबार

सुनसरी घटना पीडित र सरकारबीच सातबुँदे सम्झौता, मृतकलाई सहिद घोषणा गरिने

प्रकाशित मिति :  31 July, 2026 7:20 am


काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाका पीडित परिवार र सरकारबीच सातबुँदे सम्झौता भएको छ ।

सम्झौतासँगै मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको आज दिउँसो २ बजे दाहसंस्कार गरिने भएको छ ।

सम्झौतामा गृह मन्त्रालयका तर्फबाट गृहमन्त्री सुशान गुरुङ तथा मृतकका परिवारका तर्फबाट अभिभावकहरूले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार सरकारले मृतकलाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।

२०८३ साल साउन १० गते राति देवानगञ्ज–३, कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष तथा प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाउने सहमति भएको छ ।

सम्झौतामा देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल प्रारम्भ गर्ने उल्लेख छ ।

प्रत्येक मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने तथा घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव र सिफारिसहरू प्रचलित कानुनबमोजिम कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको छ ।

मृतकको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने पनि सम्झौतामा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !