राजविराजमा आज बिहानदेखि अनिश्चितकालीन कर्फ्यु
प्रकाशित मिति : 31 July, 2026 10:37 am
काठमाडौँ । सप्तरीको राजविराज नगरपालिकामा शुक्रबार बिहान ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषण तथा जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९क० बमोजिम कर्फ्यु आदेश जारी गरेको जानकारी दिएको छ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी आदेशअनुसार कर्फ्यु क्षेत्र राजविराज नगरपालिकाभित्र लागू हुनेछ। यसको पूर्वी सीमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गको जमुनी थलही, उत्तरमा रूपनी रोडको बसबिट्टी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहर (विष्णुपुर गाउँपालिका) सम्म तोकिएको छ।
प्रशासनले कर्फ्यु आदेश उल्लंघन गरी कुनै पनि गतिविधि गरे वा गराएको पाइए प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।








