१६ श्रावण २०८३, शनिबार

‘विविधतामा एकता नै हाम्रो शक्ति हो, यसलाई खल्बलिन दिनु हुँदैन’ : पूर्वराष्ट्रपति यादव

प्रकाशित मिति :  1 August, 2026 9:16 am


काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग आग्रह गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले समसामयिक विषयमा छलफल गर्न आयोजना गरेको भेटघाटपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै यादवले मुलुकको पछिल्लो परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै भौगोलिक, जातीय, धार्मिक तथा सांस्कृतिक विविधताको रक्षा गर्दै सबै नेपाली एकताबद्ध हुनुपर्नेमा जोड दिए।

शीतल निवासमा भएको छलफलमा पूर्वराष्ट्रपति यादवसहित पूर्वउपराष्ट्रपति परमानन्द झा लगायत विशिष्ट पदाधिकारीको सहभागिता थियो।

यादवले सुनसरीमा दुई समुदायबीच भएको घटनापछि तराईका विभिन्न जिल्लामा भएका झडप र प्रदर्शनमा तीन जना नागरिकको मृत्यु भएकोप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरे। राज्यका निकायले समयमै सही सूचना प्राप्त गरी प्रभावकारी व्यवस्थापन गर्न नसक्दा यस्ता अप्रिय घटना हुने गरेको उनले बताए।

सरकारले सबै राजनीतिक दल, नागरिक समाज तथा धार्मिक अगुवालाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले संकटको अवस्थामा संयमता र समन्वयका साथ समस्या समाधान गर्नुपर्ने बताए।

उनले भने, “डिजिटल र सामाजिक सञ्जालको युगमा सही सूचनासँगै गलत सूचना पनि छिटो प्रवाह हुन्छ। यस्तो अवस्थामा राज्यले समयमै प्रभावकारी कदम चाल्न सकेको भए स्थिति नियन्त्रणमा रहने थियो। हाम्रो भूगोल र समुदायमा विविधता छ, तर सबैभन्दा पहिले हामी नेपाली हौँ। विविधतामा एकता नै हाम्रो शक्ति हो। राज्यले यो शक्तिलाई पहिचान गरी सबै पक्षलाई एकजुट बनाउने कौशल देखाउनुपर्छ।”

यादवले संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ बनाउनु सबै नागरिकको साझा जिम्मेवारी भएको बताए। कुनै पनि बहानामा सामाजिक विखण्डन हुन नदिन आग्रह गर्दै उनले संकटका बेला सरकारलाई मात्र दोष नदिई समुदाय र सचेत नागरिकले पनि शान्ति तथा अमनचयन कायम गर्न रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए।

राष्ट्रपति पौडेलले राष्ट्रिय एकता र सद्भावप्रति व्यक्त गरेको चिन्तालाई समर्थन गर्दै यादवले देशमा शान्ति कायम गर्न सबै नेपाली एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।

– न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !