१६ श्रावण २०८३, शनिबार

राष्ट्रिय कोदो दिवस : मूल्य शृङ्खला सुदृढ गर्दै रैथाने बालीको उत्पादन र बजारीकरण बढाउन जोड 

प्रकाशित मिति :  1 August, 2026 7:56 pm


काठमाडौं । रैथाने बाली कोदोको संरक्षण, उत्पादन वृद्धि, मूल्य अभिवृद्धि र बजारीकरणलाई प्रभावकारी बनाउन मूल्य शृङ्खला सुदृढ गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । 

दोस्रो राष्ट्रिय कोदो दिवस–२०८३ को अवसरमा शनिबार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२, ठोकर्पामा आयोजित कार्यक्रममा वक्ताहरूले कोदोको बढ्दो महत्वसँगै यसको उत्पादन, प्रशोधन र बजार विस्तारमा राज्य, निजी क्षेत्र र सहकारीबीच सहकार्य आवश्यक रहेको बताएका हुन् ।

‘कोदो बाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा संवर्द्धन’ भन्ने मूल नारासहित आयोजित दोस्रो राष्ट्रिय कोदो दिवस–२०८३ कृषि, वन तथा वातावरण मन्त्रालय, कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), लिबर्ड नेपाल, खाद्य तथा कृषि संगठन नेपाल (एफएओ) तथा एसोसिएसन अफ एग्रिकल्चर जर्नालिस्ट (अनाज)को संयुक्त आयोजनामा सम्पन्न भएको हो। 

कार्यक्रममा बाेल्दै काेदाे दिवस मूल समाराेह समितिका अध्यक्ष तथा कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले कोदो उत्पादन र मूल्य शृङ्खला निर्माणमा योगदान पुर्‍याएका किसानप्रति धन्यवाद व्यक्त गर्दै किसानका समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तहले समन्वयात्मक रूपमा काम गरिरहेको बताए।  

मल व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारले आवश्यक पहल गरिरहेको उल्लेख गर्दै उनले विद्यालयको दिवा खाजामा स्थानीय स्तरमा उत्पादन हुने रैथाने खाद्यान्न समावेश गर्न स्थानीय तहलाई आग्रह गरे। यसबाट किसानले उत्पादनको सुनिश्चित बजार पाउने र स्थानीय अर्थतन्त्र समेत सुदृढ हुने उनको भनाइ थियो।

सुनकोशी गाउँपालिका–३ का वडाध्यक्ष पूर्णबहादुर महतले आफ्नो वडाका किसानहरू कृषि व्यवसायमार्फत आत्मनिर्भर बन्दै गएको बताए। पछिल्लो समय कोदो खेतीप्रति किसानको आकर्षण बढेको, उत्पादनमा सुधार आएको र बजारको पहुँच पनि विस्तार हुँदै गएको उनले जानकारी दिए।

कृषि, वातावरण तथा पर्यावरण मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले नेपालमा कोदोको उत्पादनसँगै यसको उपभोग र माग निरन्तर बढिरहेको बताए। सरकारले कोदो प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको र निजी क्षेत्रको सहकार्यले यस अभियानलाई थप बल पुगेको उनको भनाइ थियो।

उनले कोदोको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वलाई दृष्टिगत गर्दै नेपाल सरकारले २०८२ सालदेखि राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको स्मरण गराए। कोदो उत्पादन विस्तारले किसानको आम्दानी वृद्धि हुनुका साथै ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन समेत महत्वपूर्ण योगदान पुग्ने उनले बताए।

खाद्य तथा कृषि संगठन नेपाल (एफएओ)का कार्यक्रम विशेषज्ञ महेश बडालले सरकारले राष्ट्रिय कोदो दिवसलाई प्राथमिकताका साथ मनाउनु सकारात्मक कदम भएको उल्लेख गर्दै आगामी दिनमा कोदो प्रवर्द्धनका लागि अझ प्रभावकारी नीति र कार्यक्रम आवश्यक पर्ने बताए। उनले विगतमा हेलामा परेको बालीका रूपमा लिइने कोदो पछिल्लो समय स्वास्थ्य, पोषण र बजारका दृष्टिले महत्वपूर्ण बन्दै गएको उल्लेख गर्दै उनले यसको दीगो विकासका लागि मूल्य शृङ्खला स्थापना अपरिहार्य रहेको बताए।

बडालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले कोदोका उन्नत बीउको अनुसन्धान तथा संरक्षण गरिरहेको र सहकारी तथा निजी क्षेत्रले समेत यसको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको जानकारी दिए। मूल्य शृङ्खलासम्बन्धी समस्या समाधानका लागि एफएओले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको पनि जानकारी गराए ।  

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव भट्टराईले अन्य खाद्यान्नसरह कोदो पनि महत्वपूर्ण बाली भएको उल्लेख गर्दै गाउँघरमा उत्पादन घट्दै गए पनि सहरी क्षेत्रमा यसको प्रयोग र माग बढेकाले आयातसमेत वृद्धि भएको बताए। उनले उत्पादन वृद्धि गर्न सरकारले थप पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रिय जीन बैंकमार्फत कोदोका स्थानीय जातको संरक्षण भइरहेको जानकारी दिए।

उनका अनुसार रैथाने बालीप्रति जनचेतना अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्। कोदोसहितका बालीको उत्पादन बढाउन रोपाइँदेखि कटानीसम्म आवश्यक कृषि औजार तथा यान्त्रिकीकरणमा विशेष जोड दिनुपर्ने उनको भनाइ थियो ।

राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले कोदोलाई विगतमा ‘गरिबको खाना’ भनेर हेर्ने प्रवृत्ति रहे पनि व्यावसायिक खेती विस्तारसँगै यसको महत्व उल्लेखनीय रूपमा बढेको बताए। कृषि बजेटको ठूलो हिस्सा रासायनिक मलमा खर्च हुँदा रैथाने बाली प्रवर्द्धनका कार्यक्रम प्रभावित भएको उल्लेख गर्दै किसानलाई रासायनिक मलको प्रयोग घटाई जैविक तथा स्थानीय उत्पादनमुखी खेती प्रणाली अपनाउन आग्रह गरे। 

कार्यक्रममा कोदो बाली संरक्षण तथा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने बाजुराको बडीमालिका नगरपालिका निवासी किसान सत्य खत्रीलाई सम्मान गरिएको थियो। त्यसैगरी लमजुङको घनापोखरी सहकारी संस्थालाइ सम्मान गरिएकाे छ । कृषि पत्रकारितामा योगदान पुर्‍याएकोमा एसोसिएसन अफ एग्रिकल्चर जर्नालिस्ट (अनाज)को सिफारिसमा कृषि पत्रिकाका प्रकाशक तथा सम्पादक गोपाल आले मगर तथा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकालाई समेत कदरपत्र प्रदान गरिएको थियो। 

काेदाेजन्य बालीकाे उत्पादन र उत्पादकत्वमा ह्रास आउने क्रम बढिरहँदा काेदाे प्रवर्धनका लागि २०७८ देखि राष्ट्रिय कृषक समुह महासंघ र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) ले साउन १५ लाई कोदो दिवसका रुपमा मनाउन शुरु गरेका थिए । हरेक वर्ष दिवस मनाउँदै कोदोजन्य बालीको दिवस घोषणा गर्न सरकारलाई दबाब दिँदै आइरहेकोमा सरकारले यस विषयलाई सकात्मक रुपमा लिँदै २०८२ सालदेखि साउन १६ गते कोदो दिवस मनाउने मन्त्रिपरिषदबाट निर्णय भएपछि औपचारिक रुपमा राष्ट्रिय दिवसको रुपमा कोदो दिवस साउन १६ लाई मनाउन थालिएको हो । 

संयुक्त राष्ट्र संघले सन् २०२३ लाई “अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष “को रुपमा मनाउने घोषणा गरेसंगै  विभिन्न सरकारी तथा गैरसरकारी निकाय एवं सञ्चार माध्यमबाट भएको प्रचारप्रसार तथा स्वास्थ प्रति सचेतनाको कारण कोदोजन्य उत्पादनको बढ्दो मागसँगै आयात पनि बढ्दै गएको देखिन्छ । 

चाैरिदेउरालिमा छुट्टै कार्यक्रम, देशभर मनाइयाे 

काेदाे दिवसकाे आयाेजनामा दोस्रो राष्ट्रिय कोदो दिवस जिल्ला कृषि विकास कार्यालय, काभ्रे, चौरिदेउराली गाउँपालिकामा छुट्टै कार्यक्रम गरि सम्पन्न भएकाे छ । 

जिल्ला कृषि विकास कार्यालय काभ्रे, चौरिदेउराली गाउँपालिका, खाद्यका लागि कृषि अभियान  र एसाेसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स (अनाज)को संयुक्त आयोजनामा चौरिदेउराली गाउँपालिका, काभ्रेमा कार्यक्रम सम्पन्न भएकाे हाे । 

काेदाे सम्बन्धि बहसपश्चात स्थानीय सहभागीले काेदाे राेपेर काेदाे प्रवर्धनका कार्य गरेका छन् । कार्य्रकममा सहभागी वक्ताहरूले रैथाने काेदाेका जातहरू संरक्षण गर्नमा जाेड दिएका छन्। काेदाेकाे उत्पादन र उत्पादकत्व बढाउँदै स्थानीय अर्थतन्त्र प्रवर्धनमा जाेड दिन अनुराेध गरिएकाे छ । 

गत वर्ष राष्ट्रिय काेदाे दिवस घाेषणा भएपछि संघ, प्रदेश र स्थानीय सरकार तथा सराेकारवालाकाे आयाेजनामा देशभर काेदाे प्रवर्धनका कार्य्रकम भइरहेका छन् । काठमाडाैँमा पनि रैथाने बजार, माैलिक भान्साघर लगायतका स्थानमा काेदाे तथा फापर संघ जस्ता संघसंस्थाले दिवसको कार्यक्रममा गर्दै आएका छन्।

तथ्य र तथ्यांकमा काेदाेः

कृषि, वन तथा पर्यावरण मन्त्रालयको आ.ब. २०८१/८२ को तथ्याङ्कअनुसार २ लाख १४ हजार ४७७ हेक्टर जमिनमा कोदोजन्य बालीको खेती भई २ लाख ८४ हाजर ३५२ मे.टन काेदाे उत्पादन भएकाे जनाएकाे छ । कोदोजन्य बालीको उत्पादकत्व १.३३ मे.टन प्रति हेक्टर मात्र रहेको छ। कोदोजन्य बालीहरुमा उन्नत प्रविधिको प्रयोग, सिंचाई, मलखादको व्यवस्था गर्न सकेमा उत्पादन तथा उत्पादकत्व बढाउन सकिने देखिएकाे हाे । 

भन्सार विभागको तथ्याङ्क अनुसार गत आ.व. २०८२/८३ मा कोदोजन्य बाली र जुनेलो बाली (बीउ बीजन समेत) ६२ करोड २८ लाख ९८ हजार बरावरको करिब ४४.८८ मे.ट. कोदोजन्य वस्तुको आयात भएको देखिन्छ भने  सोही आ.व.मा १३ लाख २५ हजार बरावरको २.११ मे.ट. कोदोबाली र बीउ बीजन निर्यात भएको तथ्याङ्कबाट देखिन्छ। त्यसकारण कोदोजन्य बालीहरुको आयात रोक्न उत्पादन तथा उत्पादकत्व बढाउनुपर्ने आवश्यकता रहेको छ।

कोदोजन्य बालीहरु प्रोटिन, फाइवर, भिटामिन, आइरन, क्याल्सियम, म्याग्नेसियमलगायतका तत्वहरुको राम्रो स्रोत हुन् । पछिल्लो समय अस्वस्थकर खानपान र आधुनिक जीवनशैलीका कारण नसर्ने रोगको तीब्र वृद्धि जनस्वास्थ्यको सबैभन्दा ठूलो चुनौतिको रूपमा देखा पर्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ठम्याइ छ । 

नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत कोदोजन्य बालीमा अनुसन्धान गरि हालसम्म कोदोका ६ वटा चिनोको १ वटा कागुनोको १ वटा गरि ८ वटा जातहरु उन्मोचन तथा दर्ता गरिएको छन् भने कोदोजन्य बाली र तिनीहरुको जंगली प्रजातिहरुको संरक्षण कार्य राष्ट्रिय जिन बैंकमार्फत हुँदै आएको छ ।

राष्ट्रिय जिन बैंकमा हालसम्म कोदोजन्य बालीका १२८० परिग्रहणहरु सुरक्षित गरि राखिएको छ । विभिन्न सामुदायिक बीउ बैंकहरूले स्थानीयस्तरमा कोदो र अन्य रैथाने बालीहरूको संरक्षण एवं दिगो उपभोगका लागि कार्य गरिरहेका छन्। स्थानीय ठाँउहरुमा छरिएर गरिएको कोदोजन्य बालीहरुको संकलन, प्रशोधन र बजारीकरणमा स्थानीय तह र नीजि क्षेत्रवाट आवश्यक सहयोग र सहजिकरण हुँदै आएको छ । 

बालीहरुबाट बन्ने रोटी, ढिँडो र सातु जस्ता परम्परागत परिकारका अलावा केक, ब्रेड, चाउमिन, कुकिज, विस्कुट,पिज्जा, दुनट जस्ता आधुनिक परिकारमा विविधिकरण गरिएमा वर्तमान पिढिँका जनमानसमा समेत हाम्रा कोदोजन्य बालीको उपभोग बढाउन सकिन्छ । कोदोजन्य बालीको परिकार विविधिकरण भएमा नीजि उद्यमी तथा होटल व्यवसायी र होमस्टे संचालकहरु मार्फत आन्तरिक र वाह्य पर्यटक सम्म पनि बजार विस्तार गर्न सकिने विज्ञहरूकाे भनाइ छ । पछिल्ला वर्षहरूमा काेदाेजन्य उत्पादनप्रति उपभाेक्ताकाे आकर्षण बढिरहेकाले उत्पादन बढाउनमा सरकार तथा सराेकारवालामाथि जिम्मेवारी बढेकाे देखिन्छ । 



प्रतिक्रिया दिनुहोस !