कन्सुलर प्रमाणीकरण अब अनलाइनबाट, सार्वजनिक प्रशासनलाई रूपान्तरण गर्ने परराष्ट्रमन्त्री खनालको उद्घोष
काठमाडाैँ । परराष्ट्रमन्त्री शिशिर खनालले कन्सुलर सेवालाई थप आधुनिक र प्रभावकारी बनाउन ‘कन्सुलर प्रमाणीकरण अनलाइन आवेदन प्रणाली’को शुभारम्भ गरेका छन् ।
मन्त्रालयमा आयोजित कन्सुलर प्रमाणीकरणका लागि ‘नेपाल ई–प्रमाणीकरण प्रणाली’ को शुरुवात गर्दै मन्त्री खनालले डिजिटल प्रविधिको उपयोगले सार्वजनिक प्रशासनको कार्यशैलीमा आमूल परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।
मन्त्री खनालले डिजिटल प्रविधि केवल सेवा प्रवाहको माध्यम मात्र नभई यो सार्वजनिक प्रशासनलाई रूपान्तरण गर्ने एउटा महत्त्वपूर्ण प्रक्रिया भएको बताए ।
मन्त्री खनालले सेवाग्राहीमैत्री, पारदर्शी र प्रविधिमैत्री सार्वजनिक सेवा प्रवाहप्रति परराष्ट्र मन्त्रालय सदैव प्रतिबद्ध रहेको स्पष्ट पारे । उनकाअनुसार आजदेखि कार्यान्वयनमा आएको अनलाइन आवेदन प्रणालीले सेवाग्राहीलाई झन्झटमुक्त र गुणस्तरीय सेवा प्रदान गर्ने मन्त्रालयको लक्ष्यलाई थप सुदृढ बनाउनेछ ।
नयाँ प्रणालीको सुरुवातसँगै अब कन्सुलर प्रमाणीकरणका लागि सेवाग्राहीले भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यताको अन्त्य भई प्रक्रियागत सहजता हुने अपेक्षा गरिएको छ । मन्त्रालयले सेवालाई पूर्णतः प्रविधिमा आधारित बनाउँदै लैजाने नीति अनुरूप यो कदम चालेको हो ।








