करदाता प्रोत्साहन उपहार कार्यक्रम आज, १५ जनालाई एक–एक लाख र एक जनालाई १० लाख रुपैयाँ पुरस्कार
काठमाडौं । आन्तरिक राजस्व विभागले आज (शुक्रबार) पहिलो पटक करदाता प्रोत्साहन उपहार कार्यक्रममार्फत १५ जना उपभोक्तालाई जनही एक–एक लाख रुपैयाँ तथा एक जना भाग्यशाली उपभोक्तालाई १० लाख रुपैयाँको बम्पर नगद उपहार घोषणा गर्ने भएको छ।
विभागले उपहार छनोटका लागि आवश्यक सम्पूर्ण प्राविधिक तयारी पूरा गरिसकेको जनाएको छ।
बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष विभागका प्राविधिकहरूले उपहार छनोटको विधि र प्रणालीको नमुना प्रस्तुत गरेका थिए।
विभागका महानिर्देशक तथा सहसचिव डा. भीष्मकुमार भूसालका अनुसार पहिलो उपहार कार्यक्रम आज सार्वजनिक गरिनेछ।
आज घोषणा हुने उपहार साउन १ गतेदेखि १५ गतेसम्म वस्तु तथा सेवा खरिद गरेका उपभोक्तालाई लक्षित हुनेछ।
यस अवधिमा प्रत्येक दिनको कारोबारका आधारमा १५ जना उपभोक्ताले करकट्टीपछि जनही एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
त्यसैगरी, साउन १ देखि १५ गतेसम्म वस्तु तथा सेवा खरिद गरेका सबै योग्य उपभोक्तामध्ये एक जनालाई १० लाख रुपैयाँको बम्पर नगद उपहार प्रदान गरिनेछ।
बम्पर पुरस्कार रकममा भने प्रचलित कानुनअनुसार कर लाग्ने व्यवस्था रहेको विभागले जनाएको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई प्रोत्साहन गर्न यस्तो उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्नुभएको थियो।
करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधिअनुसार अबदेखि हरेक महिनाको १६ गते (१–१५ गतेसम्मको कारोबार) र महिनाको अन्तिम दिन (१६ गतेदेखि महिनाको अन्तिम दिनसम्मको कारोबार) उपहार घोषणा गरिनेछ।
बैंक तथा डिजिटल वालेटको क्यूआरमार्फत वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता स्वतः कार्यक्रममा सहभागी हुनेछन्।
यद्यपि, पुरस्कार दाबी गर्दा खरिदको बिल अनिवार्य रूपमा सुरक्षित राख्नुपर्नेछ।
नगदमा खरिद गर्ने उपभोक्ताले भने प्यान वा भ्याट बिल अनिवार्य रूपमा लिएर आन्तरिक राजस्व विभागको वेबसाइटमा अपलोड गरी सहभागिता कुपन प्राप्त गरेपछि मात्र उपहार कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था रहेको विभागले जनाएको छ।








