अटो क्षेत्रलाई विलासिताको होइन, आवश्यकताको क्षेत्रका रूपमा बुझौँ :अध्यक्ष श्रेष्ठ
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ एफएनसीसीआईका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रलाई सरकारले राजस्व संकलनको माध्यम र विलासिताको वस्तुका रूपमा मात्र हेर्ने प्रवृत्ति परिवर्तन गर्नुपर्ने बताएका छन्। उनले बढ्दो सवारीसाधनसँगै सडक पूर्वाधार र सुरक्षा व्यवस्थापनमा सरकारले समानान्तर रूपमा लगानी गर्नुपर्नेमा जोड दिएका छन्।
नाइमा मोबिलिटी एक्सपो २०२६ मा बोल्दै श्रेष्ठले अटोमोबाइल क्षेत्र देशको अर्थतन्त्र र जनजीवनसँग प्रत्यक्ष जोडिएको आवश्यकताको क्षेत्र भएको बताए। उनका अनुसार सरकारले अटो क्षेत्रबाट राजस्व उठाउने विषयमा मात्रै ध्यान दिँदा सडक सुरक्षा, पूर्वाधार विस्तार र यातायात व्यवस्थापनका महत्वपूर्ण विषय ओझेलमा परेका छन्।
उनले पछिल्लो दुई दशकमा सवारीसाधनको संख्या उल्लेख्य रूपमा बढे पनि सोहीअनुसार सडकको क्षमता र सुरक्षा पूर्वाधार विस्तार हुन नसकेको बताए। अटो क्षेत्रसँग सम्बन्धित विषयमा सरकारले पटक–पटक छलफल गरे पनि त्यसको परिणाम व्यवहारमा देखिन नसकेको उनको भनाइ छ।
श्रेष्ठले सडक दुर्घटनाका लागि चालक र सवारीसाधनलाई मात्र दोष दिन नहुने बताए। सडकको गुणस्तर, पूर्वाधारको अवस्था र प्रभावकारी ट्राफिक व्यवस्थापन पनि दुर्घटनाका महत्वपूर्ण पक्ष भएकाले सरकारले समग्र सडक सुरक्षाको दृष्टिकोणबाट नीति बनाउनुपर्ने उनको तर्क छ।
बढ्दो सवारी चाप व्यवस्थापनका लागि जनशक्ति र पूर्वाधार पर्याप्त हुनुपर्ने उल्लेख गर्दै उनले देशभर करिब ७ हजार ट्राफिक प्रहरी रहेको जानकारी दिए। सवारीसाधनको संख्या र सडकको चापअनुसार ट्राफिक व्यवस्थापनको क्षमता विस्तार गर्नुपर्ने उनले बताए।
यस्तै, सरकारले सवारीसाधन दर्तामा लगाएको रोकप्रति समेत श्रेष्ठले असन्तुष्टि जनाए। दसैँ–तिहारजस्ता चाडपर्वको समयमा सवारीसाधन खरिद बढ्ने भए पनि दर्ता रोक्ने निर्णयले व्यवसायी र उपभोक्ता दुवैलाई असर गर्ने भन्दै उनले रोक लगाउनुको सट्टा वैकल्पिक व्यवस्था गर्न सरकारसँग आग्रह गरे।
श्रेष्ठले निजी क्षेत्रले देशमा ठूलो हिस्सा रोजगारी सिर्जना गरिरहेको भन्दै निजी उद्योग तथा व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए। उनका अनुसार निजी क्षेत्रले करिब ८६ प्रतिशत रोजगारी धानेकाले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति समग्र अर्थतन्त्रकै लागि आवश्यक छ।








