३१ श्रावण २०८३, आइतबार

रोल्पाको उवाका पहिरोपीडितलाई लायन्स क्लब रोल्पाको राहत सामग्री

प्रकाशित मिति :  16 August, 2026 4:21 pm


रोल्पा । लायन्स क्लब रोल्पाले रोल्पा जिल्ला थबाङ गाउँपालिका–५, उवा, कोटलबाराका पहिरोपीडितलाई राहत हस्तान्तरण गरेको छ ।

क्लबको आपत्कालीन राहत कोष र केही व्यक्तिबाट व्यक्तिगत रूपमा संकलन गरिएको राहत सामग्री वडा प्रतिनिधि तथा राहत संकलन संयोजकलाई हस्तान्तरण गरिएको लायन्स क्लब रोल्पाका पूर्वअध्यक्ष रमेश अधिकारीले बताए ।

तत्काल राहतका लागि ७० हजार रुपैयाँ बराबरका खाद्यान्न सामग्री, फेन्सी कपडा तथा ब्ल्याङ्केट लिएर क्लबको टोली घटनास्थलमा पुगेको हो । 

दश घरपरिवारलाई तत्काल राहत हुने सामग्री हस्तान्तरण गरिएको र पुनः राहत संकलन गरेर वितरण गर्ने योजना रहेको लायन्स क्लब रोल्पाका संस्थापक अध्यक्ष ज्ञानेन्द्र आचार्यले जानकारी दिए ।

राहत वितरण टोलीमा पूर्वअध्यक्ष अधिकारी, संस्थापक अध्यक्ष आचार्यसहित संस्थापक कोषाध्यक्ष ओम खत्री, निवर्तमान अध्यक्ष केशव आचार्य र संस्थापक सदस्य आशिष आचार्य पुगेका थिए । प्रशासनबाहेक राहत लिएर पुग्नेमा लायन्स क्लब नै पहिलो रहेको अधिकारीले बताए ।

टोली बाटो अप्ठ्यारो र पानी परिरहेकाले ठाउँठाउँमा बाटो अवरुद्ध हुँदा रोकिँदै घटनास्थल पुगेको थियो । थप राहतका लागि लायन्सका अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेटवर्कमा अनुरोध गरिरहेको लायन्स क्लब रोल्पाले जनाएको छ । 

राेल्पा उवामा निरन्तरकाे वर्षाका कारणा आएकाे पहिराेमा परेर नयाँ र पुराना गरेर गाउँका ११ वटा घरगोठ पुरिएका छन् भने गत बुधवारकाे साे पहिरकाेमा परेर १० जनाकाे मृत्यु भएकाे थियाे । राेल्पाका विभिन्न स्थानमा पछिल्लाे पाँच दिनमा १८ जनाकाे मृत्यु भएकाे छ भने सयाैँ प्रभावित बनेका छन् । 



प्रतिक्रिया दिनुहोस !