१० भदौ २०८३, बुधबार

चार वर्षपछि गहुँ निर्यात खुला, किसानको आम्दानी बढ्ने भारतको अपेक्षा

प्रकाशित मिति :  26 August, 2026 8:43 am


नयाँदिल्ली । भारत सरकारले चार वर्षदेखि लगाउँदै आएको गहुँ तथा गहुँजन्य उत्पादनको निर्यात प्रतिबन्ध हटाएको छ। विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) ले सूचना जारी गर्दै गहुँको निर्यात नीतिलाई ‘निषेधित’ श्रेणीबाट हटाएर तत्काल लागू हुने गरी ‘खुला’ बनाएको जनाएको हो।

भारतले सन् २०२२ को मे महिनादेखि गहुँ निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको थियो। पछिल्लो निर्णयसँगै भारतीय गहुँ पुनः अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सकिने भएको छ।

सरकारले देशमा गहुँको पर्याप्त मौज्दात रहेको र उत्पादन पनि बढेकाले निर्यात खुला गर्ने निर्णय गरेको जनाएको छ। निर्यात खुला हुँदा आन्तरिक बजारमा गहुँको मूल्यमा सुधार आउने र त्यसबाट किसानको आम्दानी बढ्ने सरकारको अपेक्षा छ।

भारतका खाद्य तथा सार्वजनिक वितरण सचिव सञ्जीव चोपडाका अनुसार अहिले आन्तरिक बजारमा गहुँको मूल्य न्यून रहेकाले निर्यात खुला गर्दा मूल्यमा केही सुधार आउन सक्छ। उनका अनुसार यसले किसानलाई आगामी मौसममा गहुँको उत्पादन बढाउनसमेत प्रोत्साहित गर्नेछ।

आधिकारिक तथ्यांकअनुसार भारतमा बाली वर्ष २०२५/२६ मा करिब १२०.६५ मिलियन टन गहुँ उत्पादन भएको छ। यो अघिल्लो बाली वर्षको तुलनामा २.३ प्रतिशत बढी हो।

सरकारले बढ्दो उत्पादन र पर्याप्त मौज्दातलाई आधार बनाउँदै निर्यात खुला गरेको हो। यस निर्णयबाट भारतीय गहुँ उत्पादक किसानले ठूलो अन्तर्राष्ट्रिय बजार पाउने र कृषि आम्दानीमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

सिन्ह्वा/न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !