एनसेल र नेपाल मेडिसिटीबीच साझेदारी, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श
काठमाडौँ।
एनसेल र नेपाल मेडिसिटी अस्पतालले एनसेलका ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र किफायती रूपमा उपलब्ध गराउने उद्देश्यले साझेदारी गरेका छन्। साझेदारीअन्तर्गत निश्चित प्याक तथा रेन्टल सेवा लिने एनसेल ग्राहकले नेपाल मेडिसिटी अस्पतालको बहिरङ्ग सेवामा निःशुल्क चिकित्सक परामर्श तथा परामर्श शुल्कमा छुट पाउने भएका छन्।
साझेदारीअनुसार रु. २९९ वा सोभन्दा माथिको प्याक वा रेन्टल सेवा लिने एनसेल ग्राहकले नेपाल मेडिसिटी अस्पतालको बहिरङ्ग सेवामा निःशुल्क चिकित्सक परामर्श लिन सक्नेछन्। त्यस्तै, रु. ९९ देखि रु. २९९ सम्मको प्याक वा रेन्टल सेवा लिएका ग्राहकले बहिरङ्ग सेवाअन्तर्गत चिकित्सक परामर्श शुल्कमा २० प्रतिशत छुट पाउनेछन्।
मङ्गलबार आयोजित एक कार्यक्रममा एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता र नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।
साझेदारीले एनसेलका ग्राहकलाई मोबाइल तथा कनेक्टिभिटी सेवासँगै स्वास्थ्य सेवामा समेत थप सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ। ग्राहकले नियमित रूपमा प्रयोग गर्ने मोबाइल सेवामार्फत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले साझेदारी गरिएको एनसेलको भनाइ छ।
साझेदारीबारे एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर दत्ताले एनसेलका प्याकसँग नेपाल मेडिसिटीको स्वास्थ्य सेवालाई जोडेर ग्राहकलाई थप लाभ प्रदान गर्न खोजिएको बताए।
“नेपाल मेडिसिटीको स्वास्थ्य सेवालाई एनसेलका प्याकसँग जोडेर हामीले मोबाइल सेवा लिएका उपभोक्ता तथा प्रयोगकर्तालाई थप लाभ प्रदान गर्दैछौँ,” उनले भने, “यसमा निःशुल्क चिकित्सक परामर्श सेवादेखि परामर्श शुल्कमा उल्लेखनीय छुटसम्मको व्यवस्था रहेको छ।”
उनले साझेदारीले ग्राहकलाई कनेक्टिभिटी सेवामा मात्र सीमित नराखी स्वस्थ जीवनका लागि आवश्यक सेवामा समेत पहुँच विस्तार गर्ने बताए। ग्राहकलाई थप सुविधा र लाभ प्रदान गर्नु एनसेलको निरन्तर प्रतिबद्धता रहेको उनको भनाइ छ।
“यो साझेदारीले हाम्रा ग्राहकलाई केवल कनेक्टिभिटी मात्र नभई स्वस्थ जीवनका लागि पनि सहयोग सुनिश्चित गर्दछ। यो हाम्रा ग्राहकका लागि साँच्चै महत्त्वपूर्ण हुनेछ र ग्राहकलाई लाभ प्रदान गर्ने हाम्रो प्रतिबद्धताको अर्को कदम हो,” दत्ताले भने।
एनसेल एपबाट सुविधा लिन सकिने
साझेदारीअन्तर्गतको सुविधा लिन योग्य एनसेल ग्राहकले एनसेल एपमार्फत सेवा लिन सक्नेछन्। त्यसका लागि ग्राहकले एनसेल एपमा लगइन गरी ‘पार्टनर्ड सर्भिसेज’ खण्डमा जानुपर्नेछ। उक्त खण्डमा नेपाल मेडिसिटी अस्पताल छनोट गरेपछि ग्राहकले आफूले प्राप्त गर्न सक्ने सुविधाको विवरण हेर्न सक्नेछन्।
एनसेलका अनुसार एपले ग्राहकको प्याक वा रेन्टल सेवाका आधारमा उपलब्ध सुविधाको विवरण स्वतः देखाउनेछ। योग्य नदेखिएका ग्राहकले पनि आवश्यक प्याक वा रेन्टल सेवा लिएपछि उक्त सुविधाको लाभ लिन सक्नेछन्।
यस व्यवस्थाले एनसेलका विभिन्न प्याक तथा रेन्टल सेवा प्रयोग गर्ने ग्राहकलाई स्वास्थ्य सेवामा प्रत्यक्ष लाभ लिन सहज हुने कम्पनीले जनाएको छ। ग्राहकले अस्पतालमा सेवा लिनुअघि एनसेल एपमार्फत आफू योग्य भए/नभएको तथा प्राप्त हुने सुविधाबारे जानकारी लिन सक्नेछन्।
नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले निजी क्षेत्रका कम्पनी तथा स्वास्थ्य संस्थाबीचको सहकार्यले स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न सहयोग पुग्ने बताए।
“चिकित्सा सेवामा पहुँच प्रदान गर्नु मात्र नभएर यस साझेदारीले कसरी कर्पोरेट र स्वास्थ्य संस्थाले मिलेर नेपालभरका समुदायका लागि गुणस्तरीय स्वास्थ्य सेवालाई थप पहुँचयोग्य, समावेशी र किफायती बनाउन सक्छन् भन्ने देखाउँछ,” उनले भने।
यस्ता सहकार्यले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुका साथै नागरिकलाई आवश्यक स्वास्थ्य सेवा समयमै लिन प्रोत्साहित गर्ने उनको भनाइ छ। कर्पोरेट क्षेत्र र स्वास्थ्य संस्थाबीचको सहकार्य नेपालको स्वास्थ्य सेवा प्रणालीलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण हुने तोमरले बताए।
एनसेलका अनुसार ग्राहकलाई दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका विभिन्न सेवामा थप सुविधा उपलब्ध गराउने उद्देश्यले यस्ता साझेदारीलाई निरन्तरता दिइँदै आएको छ। मोबाइल कनेक्टिभिटीलाई आधार बनाएर ग्राहकलाई अन्य आवश्यक सेवासँग जोड्ने प्रयासअन्तर्गत नेपाल मेडिसिटीसँगको साझेदारी गरिएको कम्पनीले जनाएको छ।
एनसेलले विश्वसनीय ब्रान्ड तथा अत्यावश्यक सेवा प्रदायकसँग साझेदारी गर्दै आफ्ना ग्राहकलाई सान्दर्भिक र अर्थपूर्ण सुविधा उपलब्ध गराउने प्रयास गर्दै आएको जनाएको छ। कम्पनीका अनुसार यस्तो सहकार्यले ग्राहकलाई नियमित मोबाइल सेवाको प्रयोगबाट थप मूल्य प्राप्त गर्ने अवसर प्रदान गर्छ।
स्वास्थ्य सेवासँग सम्बन्धित यो साझेदारी पनि ग्राहकको हित तथा कल्याणलाई प्राथमिकतामा राखेर गरिएको एनसेलले जनाएको छ। ग्राहकलाई कनेक्टिभिटी सेवासँगै दैनिक जीवनमा उपयोगी हुने थप सेवा र सुविधा उपलब्ध गराउँदै जाने कम्पनीको लक्ष्य रहेको छ।






