१० भदौ २०८३, बुधबार

रसुवाबाट आएको बाढी त्रिशूली हुँदै गल्छी पुगेपछि काठमाडौँ–मुग्लिन सडकमा आवागमन रोकियो

प्रकाशित मिति :  26 August, 2026 12:29 pm


काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढी त्रिशूली नदी हुँदै धादिङको गल्छी आसपास पुगेपछि काठमाडौँ–मुग्लिन सडकखण्डमा आवागमन प्रभावित भएको छ। बाढीको जोखिमलाई मध्यनजर गर्दै काठमाडौँबाट बाहिरिने सवारीसाधनलाई गल्छीलगायत सुरक्षित तथा अग्ला स्थानमा रोकिएको छ।

सडक डिभिजन भरतपुरले बुधबार सूचना जारी गर्दै भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण नारायणी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अर्को सूचना जारी नभएसम्म मुग्लिन–नारायणगढ सडक हुँदै यात्रा नगर्नसमेत सडक डिभिजनले अनुरोध गरेको छ।

बाढीको बहाव बढ्दै गएपछि पृथ्वी राजमार्गसहित काठमाडौँ–मुग्लिन सडकखण्डमा सवारी आवागमन रोकिएको हो। सम्भावित जोखिमबाट यात्रु तथा सवारीसाधनलाई जोगाउन ट्राफिक प्रहरीले विभिन्न स्थानमा सवारीसाधन रोकेर राखेको जनाएको छ।

रसुवाबाट आएको बाढी त्रिशूली नदी हुँदै धादिङको गल्छी आसपाससम्म पुगेको र आगामी केही घण्टामा मुग्लिन क्षेत्र पार गर्ने पूर्वानुमान गरिएको छ। बाढीको बहावका कारण त्रिशूली नदीको तटीय क्षेत्रसँगै पृथ्वी राजमार्ग तथा मुग्लिन–नारायणगढ सडकखण्डमा जोखिम बढेको छ।

जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित निकायले अत्यावश्यकबाहेकका यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। विशेषगरी त्रिशूली नदी किनार हुँदै सञ्चालन हुने सडक तथा नदी आसपासका बस्तीमा रहेका नागरिकलाई सतर्क रहन र सम्भावित जोखिमको अवस्था हेरी सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

धादिङको गल्छी, मलेखुलगायत त्रिशूली नदी आसपासका क्षेत्रमा समेत उच्च सतर्कता अपनाइएको छ। जोखिमयुक्त क्षेत्रमा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने तथा सुरक्षा निकाय र विपद् व्यवस्थापनका टोलीलाई परिचालन गर्ने काम भइरहेको छ।

यसअघि गृह मन्त्रालयले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो। मन्त्रालयले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा आवतजावत नगर्नसमेत अनुरोध गरेको थियो।

सडक डिभिजन भरतपुरले नारायणी नदीको तटीय क्षेत्रमा रहेका नागरिकलाई नदीको बहाव र जलस्तरमा हुन सक्ने परिवर्तनप्रति सचेत रहन आग्रह गरेको छ। बाढीको अवस्था थप गम्भीर हुन सक्ने भएकाले सम्बन्धित निकायले जारी गर्ने सूचना तथा सुरक्षा निर्देशन पालना गर्नसमेत आग्रह गरिएको छ।



प्रतिक्रिया दिनुहोस !