११ भदौ २०८३, बिहिबार

पशुपन्छी र किसान जोगाउन राहत तथा पुनरुत्थान प्याकेज ल्याउन व्यवसायी संघको माग

प्रकाशित मिति :  27 August, 2026 4:32 pm


काठमाडौँ । नेपाल कृषि तथा पशुपन्छी व्यवसायी संघले बाढी प्रभावित किसान तथा कृषि र पशुपन्छी व्यवसायीलाई तत्काल राहत, पुनःस्थापना र दीर्घकालीन पुनरुत्थानका लागि विशेष प्याकेज ल्याउन सरकारसँग माग गरेको छ।

संघले भदौ १० गते तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिक, किसान तथा व्यवसायीको उद्धार र पुनःस्थापनामा तत्काल ध्यान दिन आग्रह गरेको हो।

बाढी भोटेकोशी हुँदै त्रिशूली नदीमा प्रवेश गरेपछि नुवाकोट, धादिङलगायत नदी तटीय क्षेत्रमा समेत ठूलो जोखिम र क्षति भएको संघले जनाएको छ। संघले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

संघका अनुसार बाढी तथा पहिरोका कारण किसानका खेतीबाली, बीउबिजन, मल, कृषि औजार, सिँचाइ संरचना, टनेल, गोठ तथा फार्मका साथै गाई, भैँसी, बाख्रा, भेडा, बंगुर, कुखुरा, दाना, घाँस र दुग्ध उत्पादनका साधनमा ठूलो क्षति पुगेको छ। कतिपय किसानले उत्पादनसँगै जीवनभरको सम्पत्ति र जीविकोपार्जनको आधारसमेत गुमाएको संघको भनाइ छ।

कृषि तथा पशुपन्छी क्षेत्र खाद्य सुरक्षा, रोजगारी र राष्ट्रिय अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएकाले विपद्बाट भएको क्षतिलाई सामान्य भौतिक क्षतिका रूपमा मात्र लिन नहुने संघले जनाएको छ। संघले प्रभावित क्षेत्रमा तत्काल स्थलगत अनुगमन गरी कृषि, पशुपन्छी तथा व्यवसाय क्षेत्रमा भएको क्षतिको वैज्ञानिक र एकीकृत तथ्याङ्क संकलन गर्न सरकारसँग आग्रह गरेको छ।

क्षतिको यथार्थ विवरणका आधारमा प्रभावित किसान तथा व्यवसायीलाई बीउबिजन, मल, कृषि औजार, दाना, घाँस, औषधि तथा पशुपन्छी उपलब्ध गराउनुका साथै गोठ तथा फार्म पुनर्निर्माण, कृषि संरचना पुनःस्थापना र उत्पादन पुनःसञ्चालनका लागि आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउनुपर्ने संघको माग छ।

बाढीपछि पशुपन्छीमा संक्रामक रोग फैलिन सक्ने जोखिम बढेकाले प्रभावित क्षेत्रमा तत्काल पशु स्वास्थ्य शिविर सञ्चालन, रोग पहिचान, खोप, औषधि वितरण, उपचार तथा मृत पशुपन्छीको सुरक्षित व्यवस्थापन गर्न पनि संघले आग्रह गरेको छ।

रसुवा, नुवाकोट, धादिङलगायत प्रभावित जिल्लामा विशेष प्राविधिक टोली परिचालन गरी पशुपन्छी स्वास्थ्य निगरानी तथा रोग नियन्त्रणको कार्ययोजना बनाउन पशु सेवा विभाग, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), कृषि विभाग तथा सम्बन्धित स्थानीय तहलाई संघले आग्रह गरेको छ।

त्यस्तै, बाढीबाट दूध, मासु, अण्डा तथा अन्य पशुपन्छीजन्य उत्पादनमा परेको क्षतिको मूल्याङ्कन गरी उत्पादन पुनःसञ्चालनका लागि सहयोग उपलब्ध गराउनुपर्ने संघको भनाइ छ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका प्रभावित किसान तथा व्यवसायीका लागि कर्जा पुनर्तालिकीकरण, ब्याजमा सहुलियत, किस्ता भुक्तानीको समय थप तथा आवश्यक पुनर्कर्जा सुविधा उपलब्ध गराउन पनि संघले आग्रह गरेको छ। कृषि तथा पशुधन बीमा गरेका किसानको क्षतिको तत्काल स्थलगत मूल्याङ्कन गरी बीमा दाबी प्रक्रिया सरल, पारदर्शी र छिटोछरितो बनाउन संघले बीमा कम्पनीहरूको ध्यानाकर्षण गराएको छ।

संघले राहत तत्कालीन आवश्यकतामा मात्र सीमित नभई किसानलाई पुनःउत्पादनमा फर्काउने र कृषि तथा पशुपन्छी व्यवसायलाई दिगो रूपमा पुनःस्थापित गर्ने किसिमको हुनुपर्नेमा जोड दिएको छ।

संघले निजी क्षेत्र, व्यवसायी, उद्योगी, सहकारी, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, गैरसरकारी क्षेत्रलगायत सम्पूर्ण सरोकारवालालाई राहत सामग्री, बीउबिजन, कृषि औजार, दाना, घाँस, पशु औषधि, पशु स्वास्थ्य सेवा तथा प्राविधिक सहयोगमा सक्रिय रूपमा सहभागी हुन अपिल गरेको छ।

संघले कृषि, पशुपन्छी तथा पन्छीपालन क्षेत्रमा भएको क्षतिको एकीकृत राष्ट्रिय तथ्याङ्क तयार गरी प्रभावित किसान तथा व्यवसायीका लागि विशेष राहत तथा पुनरुत्थान कार्यक्रम सञ्चालन गर्न सरकारसँग जोडदार माग गरेको छ।

“किसान बचे भने कृषि बच्छ, कृषि बचे भने खाद्य सुरक्षा बच्छ, पशुधन बचे भने किसानको भविष्य बच्छ र कृषि तथा पशुपन्छी व्यवसाय उठे भने देशको अर्थतन्त्र बलियो बन्छ,” संघले भनेको छ।

संघका अध्यक्ष टिकाप्रसाद घिमिरे र महासचिव कृष्ण भण्डारीद्वारा जारी विज्ञप्तिमा विपद् प्रभावित किसान तथा व्यवसायीको वास्तविक अवस्था बुझ्न आवश्यक समन्वय र सहजीकरण गर्दै उनीहरूको आवाज सरकार तथा सम्बन्धित निकायसमक्ष प्रभावकारी रूपमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिएको छ।



प्रतिक्रिया दिनुहोस !