बाढीपहिरो प्रभावित तीन जिल्लामा एनसेलका १४ मोबाइल टावर पुनः सञ्चालन
काठमाडौँ । बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङमा एनसेलले १४ वटा मोबाइल टावर पुनः सञ्चालनमा ल्याएको छ। प्रभावित तीन जिल्लाका कुल २७ साइटमध्ये रसुवाका तीन, नुवाकोटका आठ र धादिङका तीन गरी १४ साइट पुनः सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ।
विपद्का कारण करिब ७०–८० किलोमिटर क्षेत्रमा फाइबर लिंकमा समस्या आएपछि एनसेलका २७ मोबाइल टावर प्रभावित भएका थिए। ग्राहकलाई निरन्तर दूरसञ्चार सेवा उपलब्ध गराउँदै उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्राविधिक टोली परिचालन गरी टावर पुनः सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।
एनसेलकी नेटवर्क हेड लेना केशरी कंसाकारका अनुसार सम्भव भएका स्थानमा क्षतिग्रस्त फाइबर मर्मत गरी टावर सञ्चालनमा ल्याइएको छ भने केही स्थानमा पुराना माइक्रोवेभ लिंक प्रयोग गरी नेटवर्क पुनः सुचारु गरिएको छ। केही क्षेत्रमा फाइबर कनेक्टिभिटी पुनःस्थापनाका लागि इन्टरनेट सेवा प्रदायकसँग समेत सहकार्य गरिएको उनले बताइन्।
बाढी तथा पहिरोका कारण अवरुद्ध नेटवर्क पुनःस्थापनाका लागि एनसेलले हवाई र स्थलमार्ग दुवैबाट प्राविधिक टोली परिचालन गरेको थियो। सरकारी निकायको सहयोग र समन्वयमा टोली प्रभावित क्षेत्रमा पुगेर नेटवर्क मर्मत तथा पुनःस्थापना गर्न सफल भएको कम्पनीले जनाएको छ।
यसैबीच, शुक्रबार दिउँसो १२ः४७ बजे धादिङको गल्छी क्षेत्रमा बाढीको भग्नावशेष हटाउने क्रममा फाइबर काटिँदा थप १८ साइट प्रभावित भएका थिए। एनसेलले तत्काल प्राविधिक टोली परिचालन गरी ती सबै साइटसमेत पुनः सञ्चालनमा ल्याएको जनाएको छ।
विपद्को कठिन समयमा दूरसञ्चार सेवा निरन्तर सञ्चालनमा राख्नु उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन महत्वपूर्ण रहेको एनसेलले जनाएको छ। प्रभावित क्षेत्रका नागरिकलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र उद्धार तथा राहतसम्बन्धी आवश्यक समन्वय गर्न सञ्चार सेवा उपलब्ध गराउन उच्च प्राथमिकताका साथ नेटवर्क पुनःस्थापनाको काम भइरहेको कम्पनीले जनाएको छ।
नेटवर्क पुनःस्थापनाका क्रममा सहयोग गर्ने नेपाल दूरसञ्चार प्राधिकरण, सूचना तथा सञ्चारसम्बन्धी निकाय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय, नेपाली सेनालगायत सम्बन्धित सरकारी निकाय तथा ह्वावे र जेटीईलगायत संस्थाप्रति एनसेलले आभार व्यक्त गरेको छ।
एनसेलले विपद्को यस कठिन घडीमा प्रभावित समुदायको साथमा रहँदै आवश्यकताअनुसार आफ्ना नेटवर्क तथा प्राविधिक स्रोतसाधन परिचालन गरी दूरसञ्चार सेवा यथासम्भव निरन्तर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।















