गोसाईंकुण्डमा रहेकालाई सुरक्षित वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, सूर्यकुण्ड–समुन्द्रटार हुँदै काठमाडौं फर्कन सकिने
काठमाडौँ । प्राकृतिक विपत्तिका कारण गोसाईंकुण्ड क्षेत्रमा रोकिएका तीर्थयात्री तथा पर्यटकलाई सुरक्षित रूपमा काठमाडौं फर्कन सरकारले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
धुन्चेतर्फको नियमित पदमार्ग हाल जोखिमपूर्ण र विपद् प्रभावित क्षेत्रमा पर्ने भएकाले सुरक्षित मार्गका रूपमा ‘समुन्द्रटार रुट’ लाई प्राथमिकता दिन सरकारले सुझाव दिएको हो।
गोसाईंकुण्डबाट काठमाडौं फर्कन चाहनेले सूर्यकुण्ड पास हुँदै हाई क्याम्प, फेदी, तालु, सिसिपु, घ्याम्फेदी र समुन्द्रटारको बाटो प्रयोग गर्न सक्नेछन्। हालका लागि यो मार्ग तुलनात्मक रूपमा सुरक्षित रहेको सरकारले जनाएको छ।
प्रतिकूल मौसम र सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्काल गोसाईंकुण्डतर्फ नयाँ यात्रा सुरु नगर्न पनि सरकारले सर्वसाधारणलाई सचेत गराएको छ। हाल गोसाईंकुण्ड पुगिसकेका व्यक्तिलाई मात्र उक्त मार्गबाट सुरक्षित अवतरण गर्न आग्रह गरिएको छ।
आगामी केही दिनको मौसम र सम्भावित जोखिमबारे पूर्ण पूर्वानुमान गर्न कठिन भए पनि हालसम्मको जानकारीअनुसार उक्त मार्ग सुरक्षित रहेकाले यसलाई प्राथमिकतामा राखिएको सरकारले जनाएको छ।








