१२ भदौ २०८३, शुक्रबार

एनआरएनएद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण

प्रकाशित मिति :  28 August, 2026 1:23 pm


काठमाडौँ । बाढीपहिरोका कारण त्रिशूली नदीमा आएको बाढीबाट मुलुकका विभिन्न क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ५ करोड रुपैयाँ बराबरको राहत प्याकेज घोषणा गरेको छ।

संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र केन्द्रीय उपाध्यक्ष रोजिना प्रधान राईसहितको टोलीले नुवाकोटको बट्टार, त्रिशूली बजारलगायत प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी राहत सामग्री वितरण गरेको हो।

स्थलगत निरीक्षणका क्रममा संस्थापक अध्यक्ष डा. महतोले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा देखिएभन्दा वास्तविक क्षति निकै भयावह रहेको बताए।

उनले उद्धार तथा राहतको प्राथमिक समय भएकाले खाद्यान्न, लत्ताकपडा, औषधि र टेन्टलगायत सामग्री लिएर प्रभावित क्षेत्रमा आएको बताए। पहिलो चरणमा ५ करोड रुपैयाँ बराबरको राहत वितरण गरिने र त्यसपछि नेपाल सरकारसँग समन्वय गरी पुनर्निर्माणमा गैरआवासीय नेपालीको भूमिकाबारे छलफल गरिने उनले जानकारी दिए।

संघकी केन्द्रीय उपाध्यक्ष रोजिना प्रधान राईले विपद्को घडीमा विदेशमा रहेका नेपालीको मन रोएको भन्दै पीडितलाई सहयोग गर्नु सबैको कर्तव्य भएको बताइन्।

उनका अनुसार संघले युएन मापदण्डअनुसारका पाल, खाद्यान्न र औषधिजस्ता अत्यावश्यक सामग्री प्रभावित क्षेत्रमा पुर्‍याएको छ।

संघले स्थानीय प्रशासन, प्रमुख जिल्ला अधिकारीको कार्यालय र स्थानीय तहसँग समन्वय गरी राहत वितरणलाई प्रभावकारी बनाउने जनाएको छ। विगतका भूकम्प तथा कोभिड–१९ को समयमा पनि सक्रिय भूमिका खेलेको स्मरण गर्दै राईले आगामी दिनमा प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणमा सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

प्रभावित क्षेत्रमा नेपाली सेनालगायत सुरक्षा निकायले बेपत्ताको खोजी तथा घाइतेको उद्धार जारी राखेका छन्। एनआरएनएको टोलीले नुवाकोटपछि अन्य जिल्लाका प्रभावित क्षेत्रमा पुगेर पनि राहत वितरण गर्ने जनाएको छ।

– न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !