१५ भदौ २०८३, सोमबार

बाढी प्रभावित क्षेत्रमा २६ अस्थायी आश्रयस्थल संचालनमा, साढे ३ हजारले लिए राहत र आश्रय

प्रकाशित मिति :  31 August, 2026 6:55 am


रसुवा र नुवाकोटमा २६ अस्थायी आश्रयस्थल, ३ हजार ४५४ जना प्रभावितले लिए राहत र आश्रय

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि संघीय तथा स्थानीय सरकारको सहकार्यमा रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ।

यी केन्द्रबाट आइतबार मात्रै ३ हजार ४५४ जना प्रभावितले अस्थायी आश्रय तथा राहत प्राप्त गरेकाे प्रधानमन्त्रीकोनसचिवालयले जनाएको छ ।

नुवाकोटमा मात्रै २ हजार २७४ जना नागरिकले १६ वटा आश्रयस्थल तथा शिविरमा आश्रय लिएका छन्।

विदुर नगरपालिकाको तुप्चे क्षेत्रका प्रभावितलाई पुस्तकालय शिविरमा राखिएको छ।

त्रिशूली–ढुंगे र सिमचौर क्षेत्रका प्रभावितलाई सेफहाउस/किरियापुत्री भवन, बेत्रावती क्षेत्रका प्रभावितलाई स्वास्थ्य चौकी, बट्टार क्षेत्रका प्रभावितलाई कभर्ड हल तथा देविघाट क्षेत्रका प्रभावितलाई आयुर्वेद वैकल्पिक चिकित्सालयमा सञ्चालित आश्रयस्थलमा व्यवस्थापन गरिएको छ।

बेत्रावती–भैँसे क्षेत्रका प्रभावितलाई सुन्दरी कैरिनी माध्यमिक विद्यालय तथा त्रिशूली बजार क्षेत्रका प्रभावितलाई कोलनी कभर्ड हल/भैरुम माध्यमिक विद्यालय, रिमालडाँडा र इन्द्रायणी आधारभूत विद्यालयमा बनाइएका शिविरमा राखिएको छ।

विदुर–३, देविघाट–सिटखाली क्षेत्रका प्रभावितलाई रणभुवनेश्वरी माध्यमिक विद्यालय/वडा कार्यालयमा व्यवस्थापन गरिएको छ। विदुर–९ का प्रभावितलाई त्रिशूली आधारभूत विद्यालय र शुलक्षणा माध्यमिक विद्यालयमा राखिएको छ।

बेलकोटगढीको रातमाटे–जिलिङ क्षेत्रका प्रभावितलाई महादेव माध्यमिक विद्यालय, किस्पाङ गाउँपालिका–५ का प्रभावितलाई कार्की मनकामना आधारभूत विद्यालय र त्रिभुवन माध्यमिक विद्यालय तथा रसुवाका केही प्रभावितलाई बट्टारस्थित तामाङ प्लाजामा राखिएको छ।

उद्धार गरिएका घाइतेको उपचारका लागि विदुर–२ को सेफहाउस, देविघाट आयुर्वेद वैकल्पिक चिकित्सालय, बेलकोटगढी–७ को महादेव माध्यमिक विद्यालय र विदुर–९ को शुलक्षणा माध्यमिक विद्यालयमा मेडिकल टोली परिचालन गरिएको छ।

रसुवामा १० आश्रयस्थल

बाढी प्रभावित रसुवामा पनि उद्धार तथा राहत कार्यलाई तीव्र बनाइएको छ। जिल्लाका १० वटा अस्थायी आश्रयस्थलमा आइतबार मात्रै १ हजार १८० जना विपद् प्रभावित नागरिकले आश्रय लिएका छन्।

स्थानीय तहको समन्वयमा उत्तरगया गाउँपालिका–२ को डाँडागाउँ तथा आमाछोदिङ्मो गाउँपालिका–१/२ का हाकु, पाङलिङ र ग्रेमा आश्रयस्थल सञ्चालनमा छन्।

गोसाइँकुण्ड गाउँपालिका–१, २, ३ र ५ का थुमन, दाल्फेदी, खैदी, वृद्धिम, लिङलिङ र स्याफ्रुबेँसी तथा आमाछोदिङ्मो गाउँपालिका–१/२ का हाकु, पाङ्ग्रङ र ग्रेमा समेत आश्रयस्थल सञ्चालनमा रहेको बताइएको छ ।

राहत सामग्री पुग्न नसकेको कुनै पनि स्थान नरहेको प्रशासनकोन दाबी छ। भौगोलिक विकटताका कारण अधिकांश क्षेत्रमा हेलिकप्टरमार्फत राहत सामग्री वितरण गरिएको छ।

विभिन्न स्थानमा स्वास्थ्य टोली परिचालन

रसुवाका प्रभावितका लागि धुन्चेस्थित रसुवा जिल्ला अस्पताल, स्याफ्रुबेँसीमा वीर अस्पतालको टोली, हेलिक्षेत्रमा प्रादेशिक अस्पतालको टोली तथा रसुवा अस्पतालमा सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मी परिचालन भएका छन्। हेलिक्षेत्रमा नेपाली सेनाको स्वास्थ्य टोलीसमेत उपचार सेवामा सक्रिय छ।

बाढी प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा सार्नुका साथै राहत, औषधि र स्वास्थ्य सेवा पुर्‍याउन स्थानीय प्रशासन र सुरक्षा निकाय उच्च सतर्कताका साथ परिचालन भएका छन्।



प्रतिक्रिया दिनुहोस !