आज देशभर बदली, एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भूभागसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्नेछ। यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा मधेश र कोशी प्रदेशका तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
त्यस्तै आज राति देशभर साधारणतया बदली रहने पूर्वानुमान छ। कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभागका थोरै स्थान तथा बागमती प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
यस्तै, मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ।
विशेषगरी कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।
मौसम विज्ञानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मलाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षा मानिन्छ।









