विपद्का कारण बन्द एनसेलका २७ मध्ये २४ मोबाइल साइट सञ्चालनमा
काठमाडौँ । विपद्का कारण बन्द भएका एनसेलका २७ वटा मोबाइल साइटमध्ये २४ वटा पुनःसञ्चालनमा आएका छन्। एनसेलका अनुसार अब तीनवटा साइट मात्र सञ्चालनमा आउन बाँकी छन्।
बाँकी तीनमध्ये नुवाकोट र रसुवाको तिमुरे–रसुवागढीमा रहेका दुई साइटमा पूर्वाधारमा क्षति भएको आशंका गरिएको छ। अर्को एक साइट भने हवाई माध्यमबाट आवश्यक जनशक्ति तथा सामग्री पुर्याउनुपर्ने भएकाले सञ्चालनमा आउन बाँकी रहेको एनसेलले जनाएको छ।
रसुवा, धादिङ र नुवाकोटमा एनसेलका कुल ७८ साइट रहेकामा हाल ७५ वटा साइट सञ्चालनमा छन्।
नुवाकोटका १६ वटा साइट पुनःसञ्चालनमा ल्याइएको छ। हन, कालिकास्थान, चौर्तोल, चुले, बट्टार, बिदुर, दुइपिप्ले, तारुक, मादे डाँडा, खड्कभञ्ज्याङ, महामण्डल, गुजेतार, देउराली, बट्टार बजार र पिपलटारलगायत क्षेत्रका टावर सञ्चालनमा आएका छन्।
त्यसैगरी, धादिङका खाल्टे, सुनौला बजार र भूमी डाँडा, गल्छी क्षेत्रका मोबाइल टावर पनि पुनःसञ्चालनमा ल्याइएको छ।
रसुवामा कालिकास्थान, धुन्चे, खाल्चेत भञ्ज्याङ, गोल्जुङ र ग्याङ्लाङका पाँचवटा टावर सञ्चालनमा आएका छन्। यी टावर पुनःसञ्चालनमा आएपछि विपद्बाट प्रभावित क्षेत्रमा आफन्तसँग सम्पर्क कायम गर्न तथा उद्धार र राहत वितरणलाई समन्वय गर्न सञ्चार सेवा थप सहज भएको एनसेलले जनाएको छ।









