१३ बैशाख २०८१, बिहिबार

राष्ट्र बैंकले दियाे नेपाल टेलिकमलाई भुक्तानी सेवा प्रदायक कम्पनी खाेल्न अनुमति

प्रकाशित मिति :  20 July, 2020 5:04 pm


काठमाडाैं, साउन ५ । 

नेपाल टेलिकमलाई भुक्तानी सेवा प्रदायकको काम गर्न बाटो खुलेको छ । एक वर्षदेखि पहल सुरु गरिएकोमा बल्ल अनुमति पाएको हो।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र राष्ट्रिय बाणिज्य बैंकको संयुक्तरुपमा स्थापना गरेर संचालनमा ल्याउन प्रस्ताव गरेको भुक्तानी सेवा प्रदायक कम्पनीले नेपाल राष्ट्र बैंकबाट लेटर अफ इन्टेन्ट (एलओआई) पत्र प्राप्त गरेको हो ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले गएको शुक्रबार पत्र प्राप्त गरेको जानकारी दिएको टेक्नोलोजी खबरले जनाएको छ । उनले अब सो भुक्तानी सेवा कम्पनीको कार्य अगाडि बढाउने बताए ।

राष्ट्र बैंकका भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक भुवन कँडेलले नेपाल टेलिकमसहित अन्यलाई पनि एलओआई दिईएको जानकारी दिए । उनले सो पत्र पाएको ६ महिनाभित्र सेवा संचालन गर्नुपर्ने नीतिगत व्यवस्था रहेको बताए ।

‘अब पत्र पाएका सबैले ६ महिनाभित्र सेवा संचालन गर्नुपर्नेछ नत्र अनुमति पत्र रोकिने नीतिगत व्यवस्था रहेको छ,’ उनले भने ।

यसअघि दुबै कम्पनीहरुले संयुक्तरुपमा डिजिटल पेमेन्ट कम्पनीको नाममा कारोबार गर्नेगरि कम्पनी स्थापनाको सम्पूर्ण कार्य सम्पन्न गरेको भएपनि राष्ट्र बैंकबाट अनुमति नआउँदा काम अगाडि बढ्न सकेको थिएन् ।

अब भने दुबै कम्पनीले काम अगाडि बढाउन सक्नेछन् ।

सरकारको अधिनमा रहेका दुबै कम्पनीहरुले संयुक्तरुपमा भुक्तानी सेवाको कार्य गर्नेगरि काम शुरु गरेका थिए जसमा १ अर्ब रुपैयाँको कम्पनी खडा गरिएको छ । जसमा अधिकांश शेयर नेपाल टेलिकमको हुनेछ ।

राष्ट्र बैंकबाट अनुमति पाएसँगै अब कम्पनी रजिष्टारको कार्यालयमा कम्पनी दर्ता गरेर प्रकृया शुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस !