१७ बैशाख २०८१, सोमबार

मल नल्याउने ‘शक्तिशाली’ कम्पनीलाई कारबाही गर्ने मन्त्री भुसालको निर्णयमा अदालत तगारो !

प्रकाशित मिति :  14 September, 2020 8:26 pm


काठमाडौ, २९ भदौ ।

सम्झौता बमोजिम यूरिया मल नल्याउने दुई ठेकदार कम्पनीलाई कालोसूचीमा राख्न कृषि सामाग्री कम्पनी लिमिटेडले सिफारिस गरेकै दिन उच्च अदालत पाटनले कार्यान्वयन नगर्न अन्तरकालिन आदेश दिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी रहेका शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिप्रपोज कम्पनीलाई कालोसूचीमा राख्न कृषि सामाग्रीले आज सिफारिस गरेको थियो ।

तर, उच्च अदालत पाटनका न्यायाधीश रमेशप्रसाद भण्डारीको एकल इजलासले  बैंक जमानत जफत गरी कालोसूचीमा राख्‍ने निर्णय कार्यान्वयन नगर्न अन्तकालिन आदेश जारी गरेको हो ।

कृषि तथा पशुपन्क्षी विकास मन्त्री घनश्याम भुसालको निर्णयमाथी अदालतले तगारो हालिदिएको छ । ‘शक्तिशाली ठेकदार’लाई कारबाही गर्ने निर्णय गरेर चर्चा कमाएका मन्त्री भुसाललाई अदालतको निर्णयले असहज बनाएको  बनाई दिएको टिप्पणी हुने गरेको छ । मन्त्रालय स्रोतका अनुसार अदालतको यो आदेशप्रति मन्त्री  भुसाल असन्तुष्ट छन् ।

यद्यपी अन्तरकालिन आदेश भएकाले  दुबै पक्षबीच छलफल भएपछि आदेशको निरन्तरताबारे टुंगो लाग्ने छ ।  तर, कालो सूचीमा राख्न सिफारिस भएकी दिन अदालतको आदेश आएपछि मन्त्री भुसाल झस्किएका छन् । मन्त्री भुसाल सचिवालय स्रोतले भन्यो , “अदालतको निर्णय त अचम्मै हुँदो रहेछ, हामीले कालो सूचीमा राख्न सिफारिस गरेकै दिन ठ्याक्कै आदेश । तर अपेक्षा छ सम्मानित अदालत पनि किसानकै पक्षमा उभिने छ ।”

सम्झौता अनुसार ५० हजार मेट्रिक टन मल नल्याउने दुवै कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कृषि सामाग्री कम्पनी लिमिटेडले पत्राचार गरेको थियो ।

यस वर्ष साउनमा ल्याउनुपर्ने मल उनीहरुले ल्याउन नसकेपछि कृषि सामाग्रीले भदौ २१ गते ठेक्का सम्झौता रद्ध गर्ने निर्णय गर्दै धरौटी जफत गर्ने, कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने र क्षतिपूर्ति दाबी गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार दुबै कम्पनीलाई कालो सूचीमा राख्न कृषि समाग्रीले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको थियो ।

उक्त निर्णय कार्यान्वयन नगर्न उच्च अदालतले अन्तरकालिन आदेश जारी गरेको हो । अदालतले सरकार र ठेकेदार दुवै पक्षलाई पर्सी भदौ ३१ गते छलफलका लागि बोलाएको छ । मल ल्याउने जिम्मा पाएको यि ठेकदारले समयमै मल नल्याएका कारण देशभर अहिले मलको हाहाकार भएको छ ।



प्रतिक्रिया दिनुहोस !