११ बैशाख २०८१, मंगलबार

प्रधानमन्त्री ओली र ‘रअ’ प्रमुख गोयलबीचको भेट कूटनीतिक मूल्य र आचारसंहिता विपरीत:प्रवक्ता श्रेष्ठ

प्रकाशित मिति :  25 October, 2020 9:53 am


काठमाडौं, ९ कार्तिक । 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली र ‘रअ’ प्रमुख सामन्त कुमार गोयलबीचको भेट कूटनीतिक मूल्य र आचारसंहिता विपरीत भएको टिप्पणी गरेका छन् ।

भेटलाई राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्ने प्रवक्ता श्रेष्ठको ठम्याइ छ । भेटबारे पार्टीलाई कुनै जानकारी नभएको पनि उनले प्रष्ट पारेका छन् ।

पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेका प्रवक्ता श्रेष्ठले फेसबुकमा आज लेखेका छन्,”केही दिन गोरखा र चितवनको भ्रमण गरी काठमाडौं फर्किएको छु । यसबिचमा भारतको गुप्तचर सँस्था ‘र’ प्रमुख सामन्त गोएल बिमान नै चार्टर गरी आफ्नो टोली सहित नेपाल आएर हाम्रा प्रधानमन्त्री सँग ‘वार्ता’गरेर फिर्ता भएछन् । प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको सँस्थागत जानकारी र उपस्थिति बिना उनलाई भेट्नुभएछ। हाम्रो पार्टीलाई यसबारेमा कुनै पुर्व जानाकारी थिएन र पछि पनि पार्टीमा यसबारेमा कुनै सँस्थागत एवं औपचारिक छलफल भएको छैन ।”

‘यस प्रकृतिको पहिलो भेट’

प्रवक्ता श्रेष्ठले आफ्नो व्यक्तिगत विचार भन्दै फेसबुकमा प्रधानमन्त्रीको यसखाले भेट नेपालको राजनीतिक एवं कूटनीतिक इतिहासमा पहिलो घटना भएको दाबी गरेका छन् ।

उनले भनेका छन्,” यस सम्बन्धमा यहाँ ब्यक्त बिचार मेरो निजी बिचार हो ।मेरो बिचारमा नेपालको राजनीतिक एवं कूटनीतिक इतिहासमा यस प्रकृतिको यो पहिलो घटना हो ,देशको प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्यसूची बिदेशी गुप्तचर संस्थाको अधिकारीसँग कूटनीतिक मर्यादा बिपरीत समकक्षी झैं औपचारिक वार्ता गरेको ।नेपालको राष्ट्रिय अनुसन्धान बिभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित बिषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कूटनीतिक मर्यादा अनुरुप शिष्टाचार भेट हुन सक्दथ्यो । त्यो होइन भन्ने स्पष्ट भइसकेको छ ।”

प्रवक्ता श्रेष्ठले विदेशी गुप्तचर अधिकारीसँग प्रमको भेट र कूटनीतिक मूल्य र आचारसंहिता विपरीतको यस्तो भेट किन ? भन्दै यसप्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कूटनीतिक ओझ गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ भनेका छन् ।

बिदेशी सरकार प्रमुखले औपचारिक रुपमा आफ्नो बिशेष दूतका रुपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्ने भन्दै प्रवक्ता श्रेष्ठले त्यस्तो पनि नदेखिएको उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीबाट नै राष्ट्रिय सुरक्षामा ‘थ्रेट’ देखिएको छ : गगन थापा

भारतीय गुुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग प्रधानमन्त्रीले भेटकोमा नागरिक अगुवाहरुको आपत्ति



प्रतिक्रिया दिनुहोस !