८ बैशाख २०८१, शनिबार

भारतीय गुुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग प्रधानमन्त्रीले भेटकोमा नागरिक अगुवाहरुको आपत्ति

प्रकाशित मिति :  24 October, 2020 2:09 pm


काठमाडौं,८ कार्तिक।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेट आपत्तिजनक भएको भन्दै नागरिक अगुवाको एक समूहले विरोध जनाएको छ ।

२३ जना नागरिक अगुवाले आज संयुक्त रुपमा एक अपिल प्रकाशित गर्दै विदेशी जासुसी विभागका प्रमुखलाई प्रधानमन्त्रीले रातिको समयमा आफ्नै सरकारी निवासमा भेट्नु कुनै पनि अर्थमा जायज मान्न नसक्ने उल्लेख गरेका छन् ।

विज्ञप्तिमा उनीहरुले भनेका छन्,”छिमेकी मुलुक भारतसँगको विद्यमान सीमा विवादका बारेमा नेपाल सरकारले कुटनीतिक तहमा औपचारिक वार्ताका लागि बारम्बार गरेको पत्राचार प्रति पूर्ण वेवास्ता गरेको छिमेकी मुलुकका वैदेशिक गुप्तचर मामिला सम्बन्धी संस्था (रअ) का प्रमुखको कोरोना महामारीको तीव्र विस्तारको चपेटामा परेको र अन्तर्राष्ट्रिय उडान बन्द रहेको अवस्थामा विशेष विमानबाट रहस्यमय ढङ्गले नेपालमा आगमन, कुटनैतिक माध्यम र मर्यादाको पुर्ण बेवास्ता गरी प्रधानमन्त्री आफैले मध्यरातसम्म गोप्य रुपमा लामो कुरा गरेको समाचार प्रति हाम्रो ध्यानाकर्षण भएको छ। यो समाचारमा प्रतिबिम्बित सरकारको लापरवाहीपूर्ण कार्यशैलीले आम नागरिकलाई चिन्तित बनाएको छ ।”

‘रअ’ प्रमुखको यो भ्रमणको एजेण्डा के थियो ?  कसले आमन्त्रण गरेको थियो या कुनै आमन्त्रण बिनाको उनको आगमन हो ? प्रधानमन्त्रीसंग शिष्टाचार भेट गरिएको हो भने सारभूत वार्ता को-को सँग र कुन-कुन विषयमा गरियो, प्रचलित कुटनीतिक कार्यविधि अनुसारको कुटनैतिक पदाधिकारीसँग भेट गर्न किन उपयुक्त ठानिएन भन्दै नागरिक अगुवाको समूहले गुप्तचर निकायसंग नेपालले एकदमै अपर्झट कुरा गर्नु पर्ने विषय के थियो भन्ने जस्ता गम्भीर प्रश्नहरू अनुत्तरित रहेको यस रहस्यमय भ्रमणका बारे एउटा सार्वभौम मुलुकको सचेत नागरिकका हैसियतले  चासो राखेको उल्लेख गरेको छ ।

अपिलमा भनिएको छ,”प्रधानमन्त्रीका प्रेस सल्लाहकार मार्फत जारी प्रेस नोटमा रअ प्रमुखको प्रधानमन्त्रीसँगको भेटलाई ‘शिष्टाचार भेट’ भनिएको छ। एक विदेशी मुलुकको गुप्तचर प्रमुखसँग परराष्ट्र मन्त्रालयलाई औपचारिक रूपमा संलग्न नगराई देशको सर्बोच्च कार्यकारी प्रमुख प्रधानमन्त्री आफैले मध्यरातसम्म घण्टौं गरेको गोप्य वार्तालाई कुटनैतिक भाषामा कसरी शिष्टाचार भेट भन्न सकिन्छ ?”

छिमेकीसँगको सम्बन्ध सुधार कुटनैतिक माध्यमबाट सबै नेपाली जनताको जनभावना तथा समर्थनको बलमा गर्ने हो न कि गोप्य र अपारदर्शी गुप्तचर निकायसँगको सल्लाहमा जनताले छिमेकीसँग अझ घनिष्ट, सुदृढ र सौहार्दपूर्ण सम्बन्ध बनाउने अपेक्षा गरेका समयमा प्रधानमन्त्रीबाटै यस्तो अवाञ्छित गतिविधि हुनुलाई हामीले दुर्भाग्यपूर्ण ठानेको अपिलमा उल्लेख छ ।

अपिलमा भनिएको छ,”यसका लागि नेपाल सरकारको कुटनीतिक लापरवाही, ठुलो छिमेकीको मिचाहा प्रवृत्ति र त्यसलाई मलजल गर्ने नेपाली राजनैतिक नेतृत्वको राष्ट्रिय हीत विपरितको कार्य जिम्मेवार छ भन्ने हाम्रो धारणा छ। प्रचलित कुटनीतिक अभ्यासको उल्लङ्घन र नेपालको सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमानको अपमान गरिएको यो भ्रमणले यस्ता थुप्रै गम्भीर प्रश्न उठाएको छ।”

नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानमा बारम्बार ठाडो हस्तक्षेप आमन्त्रण गर्ने र वैदेशिक दासता स्वीकार्ने नेपालको राजनीतिक प्रवृत्ति प्रति गंभीर आपत्ति प्रकट गर्दै उनीहरुले भनेका छन्,”राजनीतिको यो घातक प्रवृत्तिको विरोध गर्न र हाम्रो राष्ट्रिय अस्मितामा आँच पुर्याउने जुनसुकै विदेशी मुलुकका गतिविधिका विरूद्धमा निरन्तर खबरदारी गर्न समाजका हरेक तप्का र आम जनसमुदायमा हामी अपील गर्दछौँ।”

अपिल जारी गर्नेहरु

१-उमाशंकर प्रसाद
२- दिपेन्द्र बहादुर क्षेत्री
३- देवेन्द्र सिटौला
४- द्वारिका नाथ ढुङ्गेल
५- धन कुमारी सुनार
६- निगम हुमागाईं
७- निर्मला ढकाल
८- पीताम्बर शर्मा
९- बीणा झा
१०- डा.भरत प्रधान
११- भैरव रिसाल
१२- मानवी पौडेल
१३- डा. महेश मास्के
१४- युवराज संग्रौला
१५- रमेश खरेल
१६- लीलामणि पौडेल
१७-डा.शरद वन्त
१८- सरिता तिवारी
१९- डा. सरोज धिताल
२०-सूर्यनाथ उपाध्याय
२१-सूर्यराज आचार्य
२२-हरि रोका
२३- त्रिलोक सिंह थापा क्षेत्री

 



प्रतिक्रिया दिनुहोस !