रोल्पाको प्रकाशन इतिहासमाथि सिंहावलोकन

‘सिंहावलोकन’ मलाई खुबै मन पर्ने शब्द, आजकाल त्यति चल्दैन क्यारे । यो शब्दको सट्टा बरु ‘रिभ्यूू’ वा ‘समीक्षा’ भनेको सुन्छु–पढ्छु । म भने आज यसलाई सिंहावलोकन नै भन्न रुचाउने छु । ‘नोस्टाल्जिक सिंहावलोकन’ भने पनि फरक नपर्ला ।

र, नोस्टाल्जिकमा हुनुमा एक प्रकारको विगतको मादकता मात्र हुन्छ भने सिंहावलोकनमा गन्तव्यतर्फको दृढता पनि ।
सिंहको गजबको स्वभाव हुन्छ, सृष्टिले नै दिएको— जब निश्चित दूरी पार गर्छ त त्यसपछि एउटा बिन्दुमा टक्क उभिन्छ र पार गरेको बाटोतर्फ टाउको मात्रैै पछाडि फर्काएर दृष्टिपात गर्छ । पार गरेको बाटो र पछाडिका भू–भागहरूलाई नियाल्छ , परिस्थितिको जायजा लिन्छ र फेरि लम्कन्छ —गन्तव्यतर्फ — हो, त्यो हो सिंहावलोकन ।

लामो बाटो हिँडिसकेपछि या भनौँ धेरै उकालो उक्लिसकेपछिको अग्लो भूभागबाट गरिएको सिंहावलोकन जस्तै हो यो आलेख पनि ।
…………………
प्रकाशनको ‘इतिहास’ पनि हुन्छ । धेरैलाई लाग्छ कि प्रकाशनले इतिहास मात्र छाप्छ । तर, होइन, यसकोे आफ्नै इतिहास पनि हुन्छ । र, प्रकाशनको इतिहासमा समकालीन राजनीति, सामाजिक, सांस्कृतिक र आर्थिक आयामहरूको बिम्ब हेर्न पनि सकिन्छ ।

बोलिनु, लेखिनु, र छापिनु निकै फरक–फरक फाँटका कुराहरू हुने बखतको कुरा हो । आजको जस्तो सहज र सुगम प्रविधिको कुरा होइन ।
बोलिने धेरै, लेखिने कम र छापिने त पटक्कै नहुने समयको कुरा पढ्दा कतिलाई बुझ्न गाह्रो पनि पर्ला । र यो सिंहावलोकनले, ३५ भागमा बाँडिएको नेपालको प्रशासनिक भूगोललाई ७५ वटा प्रशासनिक र राजनीतिक विभाजनपछि मात्र बेग्लै अस्तित्वमा आएको रोल्पा जिल्लाको प्रकाशनको इतिहासको सिंहावलोकन गर्न पनि सक्ला । तर आजको डिजिटल सञ्चार युगमा, त्यो दशकमा जब टाइप गरेको अक्षरमा आफ्नो नाम मात्र देख्दा पनि रोमाञ्चित भइने कालखण्डको मर्म बुझिएला ?

सार्वजनिक प्रकाशनको युग त निकै टाढा थियो । पत्रपत्रिका वा पुस्तक पनि मुद्रण गर्नका लागि कोइलावास नाकासम्म हिँड्दै भारतको बनारस पुगेर छापिएका किताब वा प्रकाशन फेरि कोइलाबासबाटै भरियाको डोको चढेर मात्रै रोल्पा पुग्न सक्ने जमानाका कुराहरूमा रोमाञ्चकता त रहला नि ?
………………………

जिल्लाको आकारमा अस्तित्वमा आइसकेपछि २०२२ सालमा छापिएको ‘चेतन लहरी’ नामको कविता संग्रह नै हो रोल्पाको पहिलो प्रकाशन — त्यो कविताको संगालोको रूपमा छापिएको किताब थियो । विकासको लागि व्यक्ति–व्यक्ति र समग्र समाजको जागरणलाई आह्वान गर्दै श्री खडानन्द सुवेदीले लेख्नुभएको त्यो संग्रह बनारससम्म पुगेर छापेको गजबको अनुभव लिबाङ निवासी समाजसेवी चिन्तामणि आचार्यसँग जीवितै छ ।

सम्बत २००८ सालमा “विद्या किन र कसरी ?” पुस्तिका छपाएर गाउगाउँमा बाँड्दै स्कूलको स्थापनाको लागि सामाजिक जागरण तयार गर्नु हुने श्री खडानन्द सुवेदीले जनजागरणकै लागि गीति संग्रह, झ्याउरे कविता संग्रह पनि प्रकाशनमा ल्याउनुभएको थियो । र, उहाँले नै प्युठानको सदरमुकाम बिजवारमा सार्ने जनआन्दोलनलाई उद्वेलित पार्न सम्बत २०११ सालमा “ ‘विजयनगरको कथा’ छपाउनु भएको थियो । यो त्यति बेलाको कुरा हो, जतिबेला रोल्पाको राजनीतिक र प्रशासनिक आकार नै थिएन । प्युठान र सल्यान गौँडा अन्तर्गतका थुमहरू वर्तमान रोल्पाका भूभाग थिए ।

यसरी हिसाब गर्दा सम्बत २०२२ साल छापिएको ‘चेतन लहरी’ नै रोल्पा जिल्लाको पहिलो प्रकाशन थियो ।


………………………….
व्यक्तिले “चेतन लहरी“ छापेको १२ वर्ष बितिसकेको थियो । १२ बर्षे निद्रापछि बल्ल पहिलो पटक रोल्पा जुर्मुरायो—संस्थागत प्रकाशनका   लागि ।

तत्कालीन रोल्पाको एकमात्रै हाइस्कुल—सदरमुकाममा रहेको बालकल्याण व्यावसायिक माध्यामिक विद्यालयमा शिक्षण गरिरहेका तत्कालीन राष्ट्रिय विकास सेवा कार्यक्रम २०३३/०३४ अन्तर्गत एक वर्षका लागि पठाइएका त्रिभुवन विश्वविद्यालयमा मास्टर्स तह पढदै गरेका युवाहरूको उत्साहमा स्कूलले पहिलो पटक एउटा वार्षिक पत्रिका प्रकाशन तारतम्य गर्‍यो— हेडमास्टर मुख्यनाथ तिवारी र युवा शिक्षकहरू नरायण सुवेदी, कुलानन्द गिरीलगायतको सक्रियतामा ।

छापिएका अक्षरहरूमा आफ्नो नाम देख्दा पनि कस्तो होला भनेर अनुमान गर्न नसक्ने विद्यार्थीहरूले हजार–हजारप्रति छापिने पुस्तकजस्तै आफ्नै स्कूलको पत्रिकामा आफ्नै नाममा आफ्नै मसिवाला कलमले लेखेको रचना छापिनु भनेको गज्जबको कुरा थियो ।
शुक्रबारको दिन स्कुलमा हुने अतिरिक्त क्रियाकलापमा मेरो कविताको शीर्षक छ ‘……..’ भनेर कविता सुनाउने विद्यार्थीहरू झनै उत्साहित भए, जब कक्षा शिक्षकले सुनाए कि स्कुलको पत्रिकामा छापिने कविता वा रचना अर्को हप्तासम्म बुझाउनु– एउटाा रोमाञ्चक लहरले स्कुलका पढाकुहरू छपक्कै भिजे ।

यो लेख रचना लेख्नु भन्ने क्लास टिचरको घोषणा मात्र थिएन, थियो त सार्वजनिक प्रकाशन युगको सुरुवात भएको सुनामी घोषणा ।
…………………..
स्कुल चलिरहेको बखतमै हेडमास्टरले मलाई स्कूलको माथिपट्टीको भलिबल ग्राउण्ड बोलाए । हेडमास्टर मुख्यनाथ तिवारी— प्युठानका धैरैवटा हाइस्कूलको हेडमास्टर हुँदैहुँदै आफ्नो शिक्षण जीवनको उत्तराद्र्धमा लिवाङ हाइस्कूलमा आइपुगेका थिए । बिन्दास स्वभावका उनी अंग्रेजी विषय पढाउथे । विचारको उग्रताले होला ‘सर्ट टेम्पर्ड’ थिए, हाम्रा प्रधान–अध्यापक, खरो स्वभावका र अव्यवस्थित जीवन शैलीका    पनि ।

उनले लिनुपर्ने हाम्रो अंग्रेजी विषयको पिरियड प्रायसः खाली नै रहन्थ्यो, नारायण सुवेदी सरले यदाकदा लिइदिएको बेलामा बाहेक । शायद, उनी प्रशासनिक मिटिङमा सरकारी अड्डातिर जानुपर्ने भएकाले होला ।

‘के छ विद्यार्थी ?’ खैनीले कालो परेका दाँत देखाउँदै उनले म फुच्चेलाई सोधे । उनी आफ्ना सबै स्टुडेन्टलाई नामले होइन ‘कमन नेम’— ‘विद्यार्थी’ भनेर सम्बोधन गर्थे र हिन्दीको लवजमा नेपाली बोल्थे ।
‘तिम्रो कविताले बम पड्काइदियो नि ! किन त्यस्तो लिखेको हँ विद्यार्थी ?’

स्कूलले पहिलो पटक निकाल्ने पत्रिकामा छाप्न भनेर लेखेको सबै रचनाहरू सीडीओले सेन्सर गर्ने रहेछ, छाप्न मिल्ने कि नमिल्ने भनेर । शायद उनले त्यहीँ सन्दर्भको कुरा गरेका रहेछन् ।

म फुच्चेले त्यो जन्ड हेडमास्टरलाई के जवाफ दिनु? के लेखेँ, के लेखेँ कविता लेखेको थिएँ, त्यही छाप्न भनेर दिएको थिएँ, बस !
“कोई फिक्कर नलेउ बाबु ! ठीक छ, कडा छ त्यो पोयम । त्यो सीडीयोसँग ३० जना पुलिस छन तर मसँग ५ सय सिपाही छन्, के ठानिलिएको छ त्यस्ले ? म थोडै त्योसँग डराउँछु” हेडमास्टर बड्बडाए ।

‘मेरो विद्यार्थीले लेखेको पोयमसँग डराउछ त्यो, अनि भन्छ कि मैले त्यस्तो लेख्न लगाएँ ।’
मैले सन्दर्भ बुझ्ने कुरै भएन, के भनेको सोध्ने कुरा पनि भएन । चुपचाप उभिरहेँ ।

‘जाउ विद्यार्थी क्लासमा जाउ । खुब पढ, खुब खेल, खुब सुत! बुझ्यौं विद्यार्थी ?” उनले सँधैझैँ आफ्नो स्थायी आदेश दोहोर्‍याए ।
हाम्रा हेडमास्टर मुख्यनाथ तिवारी हामी विद्यार्थीलाई सधैँ भन्ने गर्थे, ‘विद्यार्थी ! खुब पढ, खुब खेल, खुब सुत’, अनि, कहिलेकाहीँ थप्थे, ‘खुब खाउ !’

हामी फुच्चे विद्यार्र्थीहरू हेडमास्टरको स्थायी आदेशले भने सधैँ कन्फ्यूज्ड हुन्थ्यौँ— खुब खेले, खुब सुते, फेरि कति बेला खूब पढ्ने ? र, आपसमा मरिमरी हाँस्थ्यौँ ।

‘हँ ! अनि, तिमी खुब लेख, राम्रो लेख्छ, मेरो विद्यार्थी, सीडीयोलाई बम पड्काइ दियो, जाऊ विद्यार्थी । त्यस्ले छाप्न रोके पनि तिमी लेख्न नछाड हँ, विद्यार्थी ! ’
……………….
पत्रिकामा छाप्नको लागि मैले लेखेको कविताको मजबून करिब–करिब यस्तो थियो :
“यहाँका बुटा–बुटामा बम पड्किनु पर्छ
यहाँ चुत्रो र ऐँसेलुको झाङमा पनि बम पड्किनु पर्छ
रूखको बोट–बोटमा बम पड्कनु पर्छ
र,
यहाँ बिष्फोट हुनुपर्छ र
यहाँ बिष्फोट हुनुपर्छ ।”
यो बिष्फोटको चाहना हुनुको पछाडि के कारण थियो ? उमेर या अमेरिकाले दोस्रो विश्वयुद्धमा जापानमा हानेका एटम बमको कथाहरूको प्रभाव ? मैले त्यस्तो बिष्फोटको अपेक्षा किन राखेँ ? के थियो बम पड्कनु पर्छ भन्ने विध्वंसात्मक भावनाको स्रोत ?

वास्तवमा त्यो किशोर मनस्थितिमा उब्जने उमेरजन्य विद्रोही जोशको बिम्ब मात्र रहेछ । बमको बिष्फोटले सिर्जना गर्ने विभीषिका र क्रुर हिंसाको त्राश आतंकको यथार्थताबाट बेखबर बिलकूल अन्जान— कोरा विचार !

कविताको त्यसै अंशमाथि आपत्ति रहेछ, सीडीओकोे । त्यसैले हेडमास्टरलाई हिदायत दिएको थियो कि ? या, प्रशासनिक धम्की ?
कति असहिष्णु प्रशासकीय दृष्टिकोण । किशोर विद्यार्थीका कोरा र असंगत भावनासँग पनि शंकालु र त्रसित ।

नजानिदोँ द्वन्द्व सुरु भइसकेछ —प्रकाशनको सुरुवातसँगै । त्यसैले त होला, हेडमास्टरले स्कूलका ५०० विद्यार्थीलाई आफ्ना ५०० सिपाही भनेको। अनि त्यस बखतमा जिल्लामा सब इन्स्पेक्टरको कमान्डमा ३०—३५ जवान पुलिस हुने गर्दा रहेछन् ।
मेरो कवितामा बम पडकिएकोले सेन्सरमा परेछ ।
……………………..
पुस १४ गते पर्ने राजा वीरेन्द्रको जन्मोत्सवलाई सेरोफेरोमा पारेर हाम्रो स्कुलको पत्रिका पहिलो पटक छापिने भयो । रोल्पाकै पहिलो प्रकाशन— स्कूलको वार्षिक पत्रिकाको रूपमा, रोल्पाकै पहिलो पत्रिका ‘सुनछहरी’ रोल्पाको पूर्वी–उत्तर भेगमा रहेको ६४५ फिट अग्लो मनमोहक सुन्दर झरनाको नाममा ।

उवा खोला जब लुंग्रीमा मिसिन स्यूरीको छाङ्गोबाट हाम फाल्छ, त्यो छहरा,तब सुनछहरी हुन पुग्छ । तल सुनको टुक्रा फेला पर्ने भएकोले सुनछहरी भनेको ।

कलाकार कुलानन्द गिरी सरले स्केच गरेको ‘सुनछहरी’ कभर हुने ‘सुनछहरी’ छाप्नका लागि वनारस गएका राष्ट्रिय विकास सेवाका (राविसे) शिक्षक सुमन श्रेष्ठ निकै उत्साहका साथ लिवाङ फर्केका थिए, झोलामा सुनछहरी पत्रिकाका केही मुद्रित प्रतिहरूका साथ ।

जिल्लाकै पहिलो संस्थागत प्रकाशनको गौरवले शायद ती उत्साही राबिसे सर प्रफुल्लित थिए । ‘केही त उल्लेखनीय र नयाँ काम त सुरु गरियो नि रोल्पामा राबिसेको रूपमा’ को भाव समेटिएको थियो होला, सायद त्यो खुशीमा ।
…………………………………
वनारसमा छापिएको ‘पत्रिका’ रेल चढेर एक्स्चेन्ज जरवा पुगेपछि कोइलावास नाका हुँदै नेपाल पस्थ्यो । या त, थोत्रो ट्याक्टर या लदनी घोडा माथि लादिएर या भरियाहरूको ढाडको बोक्ने डोकोमा चढेर दाङ घोराही पुग्थ्यो ।

त्यहाँबाट भरियाको बुईँ चढेर सेवार खोला पटक–पटक तरेर उकालोचढ्दै राम्चे डाँडामा सुनौलो रङको परावर्त को ईलुजन पार गरेर धौलाबाङ पुग्थ्यो । र, अरङ खोला तरेर उकालो लाग्दै मसिना नेटो काटेर खोला किनारै किनारको बाटो समातेर कोछाप पुगेर ओर्लेर माडि पूल तथ्र्याे । अनि, बाजाबाङको ६ घन्टे ज्यानमारा उकालो काटेर दह लेक नाघेर बल्ल लिबाङ बजारतर्फ ओर्लन्थ्यो ।

शायद दह लेकको देउरालीमा ढुङ्गा चढाएर एक घन्टाको ओह्रालो बाटो ओर्लदैँ थिए होलान् छापाखानाको मसी र छापा कागजको मिश्रित गन्धनमरिसकेका ‘छापिएको सुनछहरी’ ले भरिएका डोकोको बोझले लड्खडाएका भरियाका खुट्टाहरू—लट्ठीको सहारामा ।
राविसे सुमन श्रेष्ठ सर पुलिस थानामा थुनिए रे भनेर सदरमुकामभरि खबर फैलियो ।

मुख र कान बोकेका खुट्टाहरूले मात्र यस्तो संगीन हल्लाहरू ओसार–पसार गर्थे त्यतिबेला । टाकुरा टाकुराबाट दमाहा बजाइ सकेपछि ठूलो स्वरले हाँक हाल्दै हिड्ने कटवालेहरूमात्र हुने गर्दथे, त्यतिबेला — आजको एफएम रेडियोको भूमिकामा । र, सुनाउथे त उर्दी या आदेशको खबर मात्र । मान्छे समातिएको या थुनिएको खबरको प्रशारण गर्न भने कानेखुशी नै माध्यम थियो ।

राविसेहरूको सीडीयो र पुलिसबीच राम्रै थियो । त्यस्तो थुनामै हाल्ने प्रकारको घटना भएको पनि कसैको सूचनामा पनि थिएन । किन होला थुनामा हालेको ? सबैमा कौतुहल बढ्यो तर यकिन भने कसैलाई थिएन ।

केही दिनमै ‘सुनछहरी’ पत्रिका छापेकोले मुद्दा लागेको भन्ने असंगत र अपुष्ट हल्लाहरू बजारमा सुनियो । हामी फुच्चे विद्यार्थीलाई भने अधिकारिक जानकारी कसले भनिदिने र थाहा हुने ?
…………………..
यसै बीचमा ‘सुनछहरी’को स्केच गरिएको चित्र छापेको कभर पेज भएको स्कूलको पहिलो प्रकाशन मैले पनि हेर्न पाएँ —लुकिछिपि । कथा, कविता र लेखहरू छापिएका थिए । मेरो ‘बम पड्किनुपर्छ’ भन्ने भाव भएको कविता पहिल्यै सीडीओको सेन्सरमा परिसकेकाले छापिने प्रश्नै भएन । अरु के के रचनाहरू छापिएका थिए । सम्पादकीयमा पेजमा राबिसे सुमन श्रेष्ठको र अरुहरूको नाम पनि थियो । शायद त्यो सुमन सरले आफैले झोलामा बोकेर ल्याएको कपीहरूमध्येकै थियो होला —जुन नारायण सरको हातमा परेको थियो ।
…………………….
४/५ दिनभित्रै सुमन श्रेष्ठ अञ्चलाधीस अफिस तुलसीपुर चलान गरिए रे भन्ने सुनियो । सुमन श्रेष्ठ फेरि लिवाङ फर्किएको देखिएन । केही सम पछि नै उनका अरु २ जना साथीहरू पनि आफ्नो अवधि पु¥याएर फर्किए ।

भरियाले बोकेर लिबाङ पुर्‍याएका स्कुलमा पुग्नु पर्ने ‘सुनछहरी’ भरिएका डोकोहरू पनि स्कुलसम्म पुगेनन, सीडीयो अफिसको मुद्दा फाँटमै डम्प भयो शायद ।

लिक भएका छास्स–छुस्स प्रतिहरू केही मानिसहरुले पढे । र, ती पनि सम्पादकीय पेजको पछिल्लो हरफतिर कागज टाँसेको वा कालो मसीले मेटाइएका प्रतिहरू थिए ।

र, जुन गतिको उत्साह र उमंगले म्यागेजिन प्रकाशनको सुरुवात भएको थियो, त्यही गतिमा त्यो छापिएको पहिलो स्कुल म्यागेजिन ‘सुनछहरी’ वितरण हुनै पाएन । प्रथम प्रकाशन प्रकरण अधकचल्टोजस्तै भयो ।

छापियोभन्दा छापियो तर कहाँ भाँडियो कााँ ? कुखुरी काँ को खोला सुकेजस्तै सुक्यो ।

धेरै अभियान या व्यक्तित्वहरूको पनि यसरी नै अवसान हुन्छ, अपरिपक्व, अधकचल्टो या असामयिक । त्यस्तै अवसानको स्थितिमा गयो हाम्रो स्कुलको म्यागेजिन, जुन रोल्पा भनिने जिल्लाको संस्थागत प्रकाशनको पहिलो शंखनाद थियो ।
……………….
‘त्यो केश के थियो सुमन सर ?’
करिब ४४ वर्षपछि वृद्ध सुमन श्रेष्ठसँगको भेटमा मैले उनलाई सोधेँ ।

‘सुनछहरी’ छापेर बनारसबाट लिबाङ फर्केको केही दिनमै अचानक थुनामा परेको र पुलिस गार्डहरूका साथ उनलाई लिबाङबाट हिँडाएको भनेर हामीले ४४ वर्षअघिको सुनेको कुराको प्रसँगमा थियो मेरो जिज्ञाशा ।

जिन्स पाइन्ट, ज्याकेट लगाउने ,लामो कपाल पाल्ने र बडी बिल्डिङको शोख राख्ने एम.ए. पढ्दै गरेको त्यो आधुनिक युवक प्रौढ व्यक्तिमा रूपान्तरण भइसकेको रहेछन् । धेरै रेफरेन्सपछिमात्र मैले पनि उनी त्यही सुमन हुन् भनेर चिन्न सकेको थिए । मेरा रेफरेन्सहरूले गर्दा नै उनलाई पनि मेरो पहिचान गर्न सजिलो भएको थियो ।

र, मैले नोटिस गरें सुमन सरको हाँसोको प्याटर्न ४४ वर्ष अगाडिकै थियो, फेरिएको रहेनछ । त्यसले मलाई उनलाई ठ्याक्कै ठम्याउन मद्दत ग¥यो । समय गतिशील छ र भौतिक शरीर परिवर्तनशील छ तर व्यक्ति व्यक्तिका ल्यान्डमार्कहरु बेग्लाबेग्लै हुन्छन र शरीर रहुन्जेल पहिचान दिन प्रर्याप्त हुन्छन् । सुमन सरको हाँसोको प्याटर्न त्यस्तै ल्यान्डमार्क थियो ।

‘मलाई राजकाज मुद्दा लगाइएको रहेछ । मैले पनि पहिले त बुझिन मुद्दाको कुरा, मलाई किन मुद्दा लगाएको होला भनेर । पछि बुझेँ । लिवाङबाट मलाई चलान गरियो र तुल्सीपुर अञ्चलाधीश कार्यालयमा बुझाइयो र त्यहाँ मेरोविरुद्ध मुद्दा चल्यो । पछि, म धरौटीमा छुटे र युनिभर्सिटी फर्किएँ । ‘सुनछहरी’ पत्रिकाको सम्पादकीयमा परेको २ हरफ रहेछ, मलाई मुद्दा चल्ने कारण । र, युनिभर्सिटीको सबै विद्यार्थीप्रति प्रशासनको स्थायी शंकालु पूर्वाग्रहले पारिस्थिति पनि बन्न पुग्यो होला । त्यो भन्दा अन्य सूचना या तत्वहरू पनि थिए होलान तर बहाना भने त्यही बनेछ,’ सुमन सरले छोटकरीमा बताए ।

सम्पादकीयको पछिल्लो पाराग्राफमा लेखेको रहेछः
‘यो जिल्लाको समग्र विकास स्थिति र पछौटेपनको करुण अवस्था हेर्दा श्री ५ महाराजाधिराज वीरेन्द्रवीरविक्रम शाहदेवको गतिशील नेतृत्वमा सम्पूर्ण राष्ट्रकै धमिलो तस्वीर भन्नुमा अत्युक्ति नहोला ।’

बस ! यसै हरफ समातेर रोल्पा जिल्लाका प्रशासक सीडीओ साहेबले पहिलो पटक छापिएको स्कूल म्यागेजिन देखाउन पुगेका सुमन सर राजकाज मुद्दाको झमेलामा पर्न पुगेका रहेछन् । ‘त्यो मुद्दाले राम्रै झमेलामा पारिदियो । पछि सूर्य दाई (सूर्यप्रसाद श्रेष्ठ, पछि प्रमुख निर्वाचन आयुक्त) को ग्यारेन्टीमा दरबारबाट सिग्नल भएपछि बल्ल मुद्दाबाट फुर्सद पाएँ । अनि पढाई सकिएपछि आफ्नै बिजनेसतिर लागे देवेन्द्र भाइ,’ सुमन सरले बृतान्त सुनाए । मैले चुपचाप सुनिरहेँ ।

‘आजसम्म कसैले सोधेको थिएन– त्यो शान्त रूपमा प्रजातान्त्रिक विचारधारा बोकेको युवाले किन त्यसरी लेख्यो ? किन मुद्दा लाग्यो ? र, त्यसपछि के भयो भनेर ? ४४ वर्षपछि तपाईले सोध्नुभयो देवन्द्र भाइ । मैले बताएँ,— मेरो बोझ हल्का भयो, थ्याङ्कयू भाई !’
सुमन सरले उही प्यार्टनमा हाँसे तर उनका गह डम्म भरिएका थिए—आँशुले ।
…….
चेतन लहरीका सर्जक श्री खडानन्दज्युको २०५५ सालमा निधन भयो ।
हेडमाष्टर मुख्यनाथ तिवारी सर पनि बितिसक्नु भयो रे !

आफैले पढाएका विद्यार्थीहरूको क्रान्तिकारी अपहरणमा परेका नारायण सर, आईसीआरसीको तत्काल हस्तक्षेप नभएको भए बेपत्ताको सूचीमा नाम चढ्ने थियो रे !

कुलानन्द सर राजनीतिमै हुनुहुन्छ रे ! मैले बम पड्काउने कविता लेखेको करिब १८ वर्ष पछिका १० वर्षसम्म मेरै जिल्लाका साथीहरूर किशोर भाइहरूले बम पड्काइ रहे । त्यहाँ बुटा–बुटामा बोट–बोट र झ्याङ झ्याङमा बम पडकिए रे ! रगतको खोला बग्यो रे !
बिष्फोटककर्ता भाइहरू कोही राजपाठमा छन् कोही भने अझैँ लड्दैछन् ।

सन २००८ मा जापानको नागासाकीमा मैले एटम बमको विभीषिकाको म्युजियम हेर्दै गर्दा मेरो मन धरक्कै भयो । मैले त्यो बमको विध्वंसको रिल हेरिरहँदा रोल्पाको बिष्फोट पनि देखेँ, देशभरिका बिष्फोटका विभीषिका पनि ।

मलाई कविता लेख्दा थाहा थिएन— बम यति क्रुर निर्मम र हिंसात्मक हुन्छ भनेर । मजस्तै कति होलान नजानेरै हिंसाको माध्यम बमको कविता लेख्नेहरू ‘कम्प्लिट्ली र्‍याडिकलाज्डहहरू, अवोध-अन्जानहरू (इनोसेन्टहरू)
र अन्तमा,
लुम्बिनी सञ्चारका ‘थ्रीईडियटस’ हरू— सलाम छ, त्यो प्रकाशनको इतिहासको भार फेरि काँधमा उठाएकोमा ।
बृध्द सुमन सरसँग फेरिभेट भएछ भने भन्नु पर्ला– तपाईँलाई पनि सलाम छ, त्यो सुरुवात गर्नु भएकोमा ।-टक्सार म्यागेजिनबाट