१२ श्रावण २०८१, शनिबार

लुम्बिनी प्रदेशको स्थायी राजधानीका लागि जग्गा प्राप्तिको प्रकृया शुरु,निर्देशक समिति गठन

प्रकाशित मिति :  1 December, 2020 7:43 am


 

काठमाडौं,१६ मंसिर ।

लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानीका लागि जग्गा प्राप्तिको प्रकृया शुरु गरेको छ । हिजो बसेको मन्त्रीपरिषद् बैठकले स्थायी राजधानी तोकेको क्षेत्र दउखुरीमा जग्गा प्राप्तिका लागि निर्देशक समिति गठन गरेको छ ।

मन्त्रीपरिषद्को बैठकले स्थायी राजधानी समितिले सबै कामलाई अगाडि बढाउन आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसीको संयोजकत्वमा विभिन्न मन्त्री र सचिव लगायत सदस्य रहेको निर्देशक समिति गठन समेत गरेको हो ।

दाङको देउखुरी स्थित लालमटियामा रहेको राप्ती प्राविधिक शिक्षालयको १७ बिगाह १९ कट्ठा जमिन प्रदेश सरकारले प्रयोग गर्नका लागी केन्द्र सरकारसँग माग गर्ने निर्णय भएको लुम्बिनी प्रदेशका प्रवक्ता वैजनाथ चौधरीले जानकारी गराएका छन् । प्रदेश सरकारलाई सो जग्गा प्राप्तिका लागि राप्ती प्राविधिक शिक्षालयलाई गोवरडिहामा रहेको सरस्वती मावि विद्यालयमा स्थानान्तरण गर्न स्विकृती प्रदान गर्ने निर्णय भएको छ ।

गत असोज २० गते प्रदेश सभाको बैठकले प्रदेश नं.५ को नाम लुम्बिनी प्रदेश र स्थायी राजधानी राप्ती उपत्यकाको देउखुरीमा राख्ने निर्णय गरेसंगै स्थायी राजधानी सञ्चालनका लागि जग्गा तथा सरकारी भवनको खोजी गर्न लुम्बिनी प्रदेशसभाका सभामुख पूर्ण बहादुर घर्ती, उपभामुख कृष्णी थारु र आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसी लगायतको टोली केही समय अगाडि दाङमा पुगेर राप्ती प्राविधिक शिक्षालय रहेको क्षेत्रको अनुगमन गरेको
थियो ।

प्रदेश सभाको हिउँदे अधिवेशन नै देउखुरीमा गर्ने तयारी गरेपनि पूर्वधारको अभाव देखिएको छ ।

सम्बन्धित समाचार



प्रतिक्रिया दिनुहोस !