८ बैशाख २०८१, शनिबार

लुम्बिनी प्रदेशको राजधानी : ठिमाहा उपत्यकाभित्र मगरात र थरुहटको सुगन्ध

प्रकाशित मिति :  23 October, 2020 12:08 pm


प्रदेश नम्बर-५ ले आफ्नो नाम लुम्बिनी र प्रदेश राजधानी देउखुरी उपत्यकाको भालुबाङ क्षेत्र पारित गरेसँगै आम मानिसहरुमा त्यो क्षेत्रको जिज्ञाशा जागेको छ ।

देउखुरी उपत्यका नेपालको चुरे पर्वतको बीचमा राप्ती नदीको किनारै किनारमा अवस्थित छ । यो उपत्यका प्यूठान अर्घाखाँची दाङ हुँदै बाँकेसम्म फैलिएको छ । रोल्पाको जलजलाबाट उत्पत्ति भई बग्ने माडी र प्यूठानको गौमुखीमा उत्पत्ति भई बग्ने झिमरुक खोला राप्ती नदीका मुख्य शिरा हुन् ।

महाभारत पर्वतका यी दुई खोलाहरुको मिलन प्यूठानको दुमईमा भएपछि महाभारत खोलाहरु राप्ती नदीमा रुपान्तरण हुन्छन् । जो देउखुरी उपत्यकाको जननी हो । चुरे पर्वत र राप्ती नदीको प्राकृतिक प्रकृयाबाट कचौरा जस्तो बनेको यो उपत्यकालाई पहाडबाट झरेका मगर खामपाङ भाषीहरुले खूरी भनेर चिन्दथे । खूरी भनेको बटुका वा कचौरा हो अर्थात कचौरा जस्तो ठाउँ जसलाई उपत्यका भनिन्छ ।

देउखुरी नाम कसरी रहन गयो ?

देउखुरी मगर खामपाङ भाषाबाट उत्पत्ति भएको शब्द हो । घिउ/दिउ भनेको ठूलो र खूरी भनेको कचौरा अर्थात बटुका हो । चुरे पर्वतबाट कचौराको चारैतिरको विट र राप्तीले सम्याएको समतल जमिन पहाडबाट हेर्दा ठूलो बटुका वा कचौरा जस्तो देखिने भएकोले यो उपत्यकालाई घिउखुरी वा दिउखुरी भनियो । पछि अपभ्रंश भई देउखुरी बन्न पुग्यो ।

भालुबाङ नाम कसरी रहन गयो ?

भालुबाङको पुर्ण शब्द भालुबाङ नभई बालुङबाङ हो । बा भनेको चरा लुङ भनेको ढुंगा र बाङ भनेको चौर हो । बालुङबाङ, चराको आकृति भएको ढुंगाको चौर हो । बालुङबाङ अपभ्रंश भई भालुबाङ हुनपुग्यो । मगर संस्कृतविद् बमकुमारी बुढामगरका अनुसार भालुबाङको पूर्ण शब्द बा+लुङ+बाङ अर्थात पहाडबाट झरेको मानिस ढुंगा गुडे जस्तै हिड्न सकिने चौर भएकोले बालुङबाङ भनिएको भन्ने छ ।

यस्तै मगर खामपाङ भाषी लेखक जीवन रोका मगरका अनुसार भ्यालुङबाङ अर्थात धेरै ढुंगा भएको ठाउँ भएकाले सो शब्द अपभ्रंश भई भालुबाङ भनिएको भन्ने छ ।

कसैकसैले यो ठाउँलाई भालुसँग पनि जोडेर हेर्ने गर्छन् तर भालुसँग भालुबाङको कुनै सम्बन्ध छैन । भालुलाई मगर खामपाङमा निम भनिन्छ । यदि भालुसँग सम्बन्ध भएको भए यो ठाउँको नाम निमबाङ हुन्थ्यो ।

जे भए पनि भालुबाङ मगर खामपाङ भाषीहरुले नै सांकेतिक रुपमा स्थान विशेषलाई दिएको नाम हो । ‘भा’लाई विनिर्माण गर्दा देखिने बा=चरा, बा=हिड्नु वा भ्या=धेरै भन्ने अक्षरहरु भिन्न भएपनि उत्तिकै तार्किक देखिन्छन् । यसलाई थप अध्ययन गर्न सकिन्छ । लुङ=ढुंगा र बाङ=चौरमा भने समान तर्कहरु छन् ।

लाग्न सक्छ मगरहरु देउखुरी उपत्यकाका रैथाने होइनन् कसरी नामाकरण गरे ? यो सत्य हो मगर जाति देउखुरी उपत्यकाका रैथाने होइनन् तर शताब्दिऔँदेखि पहाडबाट राप्ती नदीको शिरा पछ्याउँदै समुद्रजल निसृत नुनको खोजीमा सयौँ पुस्ता मगर यही उपत्यका पार गरेर भारतीय हाट बजार आउने जाने गर्यो । खासगरी पहाडबाट हाट आउनेजाने हटारुहरुले दिएको नाम हो देउखुरी र भालुबाङ ।

समयक्रममा देउखुरीको भालुबाङ र गढ्वा हटारुहरुको विसौनी बन्यो । रोल्पा रुकुम र प्युठानका हटारुहरुको आधाबाटो भालुबाङ र गढ्वा एक समय नयाँ बजारको रुपमा चम्किए । समयक्रममा निभे । फेरी चम्किने अवसर मिलेको छ, गुमनाम देउखुरी उपत्यकालाई । एउटा ठिमाहा उपत्यका जसले थरुहत र मगरातको सुगन्ध मिसाएर राप्ती सभ्यताको विकास गर्नेछ ।

के छन् सवल पक्षहरु ?

भौगोलिक हिसाबले देउखुरी उपत्यका चुरे पर्वतको बीचमा पर्दछ । वरीपरी नाजुक चुरे पर्वत र बीचमा राप्ती नदीले बनाएको फराकिलो बगर छ । यसले पूर्वाधार निर्माणमा केही संवेदनशिलता खोज्ने नै छ । यसलाई पूर्वसावधानीका उपायहरु मार्फत दीगो विकासका सुत्रहरु उपयोग गर्न सकिन्छ ।

महाभारत पर्वतबाट बगेर थुप्रेको मलिलो माटोले यो उपत्यका निकै उर्वर छ । भालुबाङ लमही गढ्वा तिव्र गतिमा विकास भइरहेका स्थानीय मुकामहरु हुन् । राप्ती नदी र वरीपरीका होँचा चुरे पर्वतका हरिया जंगलले यो उपत्यकालाई निकै सुन्दर बनाएको छ । नेपालको पूर्वपश्चिम राजमार्गले यसलाई चिरेर जान्छ । पर्याप्त सार्वजनिक जमिन तथा खुला ठाउँ हुनुले यो क्षेत्रलाई अत्याधुनिक प्रदेश राजधानी शहरको रुपमा विकास गर्न सकिन्छ ।

देउखुरी उपत्यकामा थारु आदिवासीहरुको मुख्य आवादले लुम्बिनी प्रदेशको मौलिकता र शाक्य वंशको विरासतको सुगन्ध आइरहनेछ । भालुबाङ र देउखुरीको न्वारानकर्ताको हैसियतले मगर जातिको अपनत्व रहिरहने छ । भौगोलिक सुगमता र भर्जिनल्याण्डको कारण रचना हुने नविन शहरीकरणले बहुल सामाजिक सांस्कृतिक अन्तरकृयाको अवसर सृजना हुनेछ ।

अब के गर्ने र ?

सर्वोत्तम शहरी विकासको कौशल प्रयोग गर्दै लुम्बिनी प्रदेशको राजधानीलाई सर्वोकृष्ट प्रदेश राजधानी बनाउने सुखद अवसर जुटेको छ । यसलाई पूर्ण रुपमा उपयोग गर्नुपर्छ । यसका निमित्त प्रतिवध्द राजनैतिक नेतृत्व, योग्य पुर्वाधार विज्ञ, अनुभवी पर्यावरण र भूगोलविद् तथा बहुल समाजको सुगन्ध बुझ्न सक्ने समाजशास्त्रीहरुको उत्तम केमिष्ट्रीको आवश्यकता हुनेछ । यसको चाँजो मिलाउन पनि अव प्रदेश सरकारले अग्रसरता लिनु पर्छ ।

 

 



प्रतिक्रिया दिनुहोस !