रोल्पाको जेलबाङमा सञ्चालिन होमस्टे सफल, थप पर्यटन प्रर्वद्धनका योजना

रोल्पा । रोल्पा सुनछहरी गाउँपालिका-७ जेलबाङमा एक वर्षमै ११ वटा होमस्टे सफलता पूर्वक सञ्चालनमा आएका छन् ।
गत वर्ष युवाहरु मिलेर पर्यटन व्यवसायलाई विकास गर्ने उद्देश्यले जेलबाङमा पर्यटन प्रवर्द्धन तथा गेमी होमस्टे संस्था सञ्चालनमा ल्याएका थिए ।
लुम्बिनी प्रदेशकै चर्चित मध्यको धार्मिक तथा पर्यटकीय क्षेत्र जलजला जाने प्रवेशद्वार भएकाले पर्यटन विकासका लागि थप योजनाहरु सञ्चालन गर्ने निर्णय भएको संस्थाले जनाएको छ । प्रथम साधारणसभा गरेको संस्थाल सुनछहरी गाउँपालिकामा लुकेर रहेका पर्यटकीय गन्तव्यहरुको पहिचान गरि विकास र प्रवर्द्धन गर्न आवश्यक रहलेकाले पहल गर्ने निर्णय गरेको अध्यक्ष पृथ्वी पुनमगरले जानकारी दिए ।
संस्था स्थापना भएको एक वर्ष भित्र नै जेलबाङको ११ घरमा होमस्टे सफलतापूर्वक सञ्चालन गरिएकाले थप आत्म विश्वास बढेको अध्यक्ष पुनमगरको भनाई छ । जेलबाङबाट जलजलासम्म पद मार्ग हुँदै जान सकिने भएकाले संस्थाले टेण्ट र सिलिपिङ ब्याग लगायतका सामाग्रीहरु खरिद गरेको छ ।
अध्यक्ष पुनमगरका अनुसार सुनछहरी गाउँपालिका भित्र विभिन्न पर्यटकीय गन्तव्यहरु र रैथाने संस्कार र संस्कृति,भाषा, रहनसहन,मौसमी बदलाव र उत्पादन प्रणाली आदि समेतेर व्यवस्थित डकुमेन्ट्री, ब्रोसर तयार पार्ने जेलबाङकै एक उच्च ठाउँ तथा रमणीय स्थल लुङटुङमा सहिद स्मृति पार्क बनाउने पूर्व योजनाको कार्यान्वयनको लागि पहल गर्ने अध्यक्ष पुनमगरको भनाई छ ।
सहिद स्मृति पार्कमा १० वर्षीय जनयुद्धमा ज्यान गुमाउने सहिद तथा मृतकहरुको शालिक निर्माण, बाह्रभाइ बराहदेव लगायतका धार्मिक स्थल तथा मठमन्दिरको निर्माण गर्न पहल गरेर लुङटुङलाई देशकै एउटा नमुना शान्ति वाटिका रुपमा स्थापित गर्न योजना रहेको उनको भनाई छ ।
मगर संस्कृति संग्राहालय निर्माण गर्ने, होम स्टेलाई थप व्यवस्थित गर्ने, होमस्टे सञ्चालनका लागि समुदाय स्तरमा सकारात्मक सोचको विकास गर्ने,जेलबाङको सुनसरी झरना लगायत अन्य पर्यटकीय स्थलको खोजी गरि बिकास गर्ने संस्थाको भनाई छ ।
पर्यटन प्रवर्द्धन तथा गेमी होमस्तेलाई पर्यटन र होमस्टका लागि संयोजन तथा अभिभावकको भूमिका खेल्ने जेलबाङमा संचालित ११ घर होमस्टे सञ्चालकहरुको एउटा छुट्टै सामुहिक समिति बनाई आवद्धता प्रमाणपत्र लिन पहल गर्ने योजना रहेको अध्यक्ष पुनमगरले बताए । ।