१६ चैत्र २०८०, शुक्रबार

लेखा र वित्तीय पेशालाई अझ बढी समावेशी बनाइनु पर्ने निष्कर्ष

प्रकाशित मिति :  22 January, 2021 5:33 pm


काठमाडौं । विश्वव्यापी रुपमा भएका सर्वेक्षणमा सहभागी लेखा तथा वित्तीय क्षेत्रका पेशाकर्मीहरूले आफूहरू दुव्र्यवहार र भेदभावमुक्त वातावरणमा काम गरिरहेको बताएका छन् ।

एसीसीए (द एसोसिएसन अफ चार्टर्ड सिर्टिफाइड एकाउन्टेन्स) द्वारा सार्वजनिक ‘लिडिङ इन्क्लुजन’ प्रतिवेदनले लेखा तथा वित्त पेशाले सदस्यतामा विविधता र समावेशिताको मुद्दा सम्बोधनका लागि धेरै काम गर्नुपर्ने देखाएको छ ।

एसीसीएले १० हजार एसिसिए सदस्य र भावी सदस्यसँग प्रश्नावली तथा राउण्डटेबल छलफलमार्फत गरिएको अध्ययन गरेको थियो, अध्ययनमा संस्थाले विविधता र समावेशितासँग सम्बन्धी विस्तारित विषयमा छलफल गरेको थियो ।

गोलमेच सम्मेलनमा सहभागी बहुमत सदस्य तथा सर्वेक्षणमा सहभागी भएका ७८ प्रतिशतले यो पेशा सबैका लागि खुला रहेको धारणा राखेका थिए भने झण्डै दुई तिहाईले विविधता र समावेशिताका नीति र संस्थागत सफलतामा सम्बन्ध रहेको बताए ।

यद्यपि, अधिकांस सहभागीले विविधता र समावेशिताको विषयमा अझै पनि समस्या रहेको वा हुन सक्ने उल्लेख गरे भने ५४ प्रतिशतलाई यस्ता समस्या समाधानका लागि के गर्ने भन्नेमा अन्योल भएको वा भावी कदमबारे अनिश्चितता रहेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले विविधता र समावेशितासम्बन्धी नीति बनाएर यसलाई प्राथमिकतामा राख्न, नेतृत्वमा रहेका व्यक्ति र नेतृत्वलाई जिम्मेवार तुल्याउन लागि संस्थागत सिद्धान्त बनाउन सुझाव दिएको छ । संस्थाले त्यसको फ्रेमवर्क पनि प्रदान गर्न सक्ने जनाइएको छ । लेखापाल-लेखा व्यवस्थापकहरूले विविधता र समावेशिताका एजेण्डा विकासका लागि काम गर्न सक्ने सुझाव प्रतिवेदनमा छ ।

विश्वव्यापी अध्ययनअनुसार ४१ प्रतिशत सहभागीले विविधता सम्बन्धी मुद्दा सम्बोधनको खाँचो रहेको ठानेका छन् भने २२ प्रतिशतले यसमा समस्या रहेको बताएका छन् ।

यस्तै, १८ देखि ३५ वर्षका उमेर समूहका सहभागीमध्ये ४३ प्रतिशतलाई यस्ता सम्बोधन गर्नुपर्ने समस्या रहेको लाग्छ भने ५६ वा त्यसभन्दा माथि उमेरका ३१ प्रतिशतले मात्रै सम्बोधन गर्नुपर्ने समस्या ठानेका छन् ।

अध्ययनमा सहभागीमध्ये अफ्रिकाका ८१ प्रतिशतलाई यो पेशा समावेशी रहेको लाग्छ भने यो दर पश्चिम युरोप र क्यारबियनमा ६७ प्रतिशत तथा मध्य तथा पूर्वी युरोपमा ६९ प्रतिशत छ ।

अध्ययनअनुसार एसिया प्यासिफिकको नतिजाले स्थान अनुसारको विविधतालाई देखाएको छ, ८१ प्रतिशत भियतनामी सहभागीलाई विविधताको मुद्दा सम्बोधन गर्नुपर्ने लागेको छ भने चीनमा यो दर ७६ तथा हङकङमा ६८ प्रतिशत, मलेसियामा ५१ प्रतिशत तथा सिंगापुरमा ५० प्रतिशत छ । यो क्षेत्रमा महिलाको सहभागिताका विषयमा बढी चासो दिइएको प्रतिवेदनमा ल्लेख छ ।

सर्वेक्षणका सहभागीमध्ये आधाले विविधता तथा समावेशिताले सही निर्णय गर्न र पेशाकर्मीबीचको संवादलाई बढाउने धारणा राखेका छन् ।

‘सन् १९०४ मा एसीसीएको स्थापना लेखा पेशाकर्मीको पेशागत संगठनका रुपमा विकास गरिएको हो र त्यो सबैका लागि खुला होस् भन्ने ध्येय राखिएको थियो,“ एसीसीएकी प्रमुख कार्यकारी हेलेन ब्रान्ड ओबिइले भनिन्– ‘सन् १९०९ को सुरुमा महिला सदस्यहरुलाई आवद्ध गर्ने पहिलो संगठनका रुपमा हामी गर्व गर्छौँ र पेशाको विकासक्रममा अरु महत्वपूर्ण मेरुदण्डहरूको विकास पनि भएको छ ।“

उनले संस्थाले गर्ने हरेक कार्यको केन्द्रमा समावेशिताको मूल्य भन्दै सन् २०२० को डिसेम्बरमा एसीसीएले संयुक्त राष्ट्र संघीय दीगो विकास लक्ष्य (एसडीजी) मा गरेको प्रतिवद्धता त्यसकै एक पक्ष बताइन ।

‘आधारभूत रुपमा हामीले विविधताले हाम्रो समाजको विस्तारित तथ्यलाई समेट्ने कुरा बुझ्नु पर्छ, सबैको महत्वलाई केन्द्रमा राखिनु पर्छ,“ओबिइ भन्छिन्, ‘एसीसीएका सदस्य तथा भावी सदस्य एवम् भविष्यमा यो पेशामा जोडिने हामीले साँचो रुपमा विविधता र समावेशितालाई स्वीकार गरेर अरुलाई गर्ने व्यवहार र अरुलाई पनि समान अवसर प्रदान गर्नका लागि यो एकीकृत प्रयासको समय हो ।”

प्रतिवेदनका लेखक तथा एसीसीएका सिनियर इन्साइट्स म्यानेजर क्लिभ वेबले महामारीले हाम्रो समाजलाई विभिन्न तवरले प्रभावित पारेको उल्लेख गर्दै सामाजिक न्यायमा परेको प्रभाव विभिन्न स्वरुपमा देखिन थालेको परिप्रेक्षमा प्रतिवेदनले लेखा पेशाकर्मीहरुले यसमा आधारभूत भूमिका खेल्नुपर्ने बताए ।

“लेखा तथा वित्त पेशाकर्मीका रुपमा विविधताको सवालका चुनौती नियाल्नका लागि हामीले हाम्रो नैतिक दृष्टि लागू गर्नुपर्छ । मुद्दामा नभइ लक्षणहरूमा मात्रै ध्यान केन्द्रित गर्दा अत्यावश्यक रहेका बेला स्थायी र दीर्घकालीन परिवर्तनमा हामी चुक्छौँ,” उनले भने ।



प्रतिक्रिया दिनुहोस !