१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति नेपाली कांग्रेसको आपत्ति

प्रकाशित मिति :  25 January, 2021 4:31 pm


काठमाडौ १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन्’ भनेर दिएको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु नैसर्गिक अधिकार भएको भन्दै कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको यो अभिव्यक्ति अलोकतान्त्रिक त छ नै यसले उहाँमा रहेको अधिनायक आकांक्षालाई थप उजागर गरेको छ । कुनै पनि रंग र स्वरुपको अधिनायकवाद विरुद्ध संघर्षमा उभिनु चैं देशभक्तहरुको जिम्मेवारी, कर्तव्य र पहिचान हो भन्नेमा नेपाली कांग्रेस प्रष्ट छ ।’

सर्वोच्च अदालतमा भई रहेको बहसलाई प्रधानमन्त्री ओलीले ‘तमासा’ को संज्ञा दिनु अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न भएको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्रीका पछिल्ला धेरै अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई घटाएको नेपाली कांग्रेसको ठहर छ ।

संसद विघटनको असंवैधानिक कदम विरुद्ध देशव्यापी रूपमा उठेका विरोधका स्वरहरुलाई देश विरोधी, देशद्रोही भनेर गैह्र जिम्मेवार ढंगले लान्छित नगर्न र समाजको कुनै पनि वर्ग, पेशा, समुदायलाई लान्छित र अपमानित गर्ने ढंगले अभिव्यक्ति नदिन प्रधानमन्त्री ओलीलाई कांग्रेसले चेतावनी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !