१३ बैशाख २०८१, बिहिबार

सुत्केरी गाईलाई भत्ता, कृषक हर्षीत

प्रकाशित मिति :  17 February, 2021 4:08 pm


ताप्लेजुङ। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले सुत्केरी गाईलाई २ हजार भत्ता दिँदै आएको छ ।

पशुपालनबाट आत्मनिर्भर बनाउन गाउँपालिकाले गत आर्थिक वर्षदेखि ‘सुत्केरी गाई प्रोत्साहन कार्यक्रम’ सञ्चालन गर्दै आएको गाउँपालिकाका पशु शाखा प्रमुख एन्जलबाबु कार्कीले बताए । २०७५/७७ मा १ हजार सुत्केरी गाईलाई भत्ता गाउँपालिकाले वितरण गरेको छ ।

दुग्धजन्य खाद्यवस्तुमा गाउँपालिका आत्मनिर्भर हुनका लागि पशुपालक घरपरिवारले पालेको गाई वा भैँसी सुत्केरी (दुुहुनो भएमा) २ हजार प्रोत्साहन भत्ता उपलब्ध गरउँदै आएको पशु शाखा प्रमुख कार्कीले बताए। सो कार्यक्रमअन्तर्गत गएको वर्षमा १ हजार दुनो गाईको लागि २१ लाख ४१ हजार भत्ता वितरण गरेको पशु शाखा प्रमुख कार्कीले जानकारी दिए।

एक घरमा एउटा गाई वा भैँसी सुत्केरी भएमा गाउँपालिकाले र २ हजारका दरले नगद प्रदान गर्दै आएको छ । एउटै घरमा एकदेखि बढी गाई वा भैँसी सुत्केरी भएमा एक हजार थप गरेर नगद प्रदान गर्ने गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षका लागि सुत्केरी गाई र भैँंसीका लागि प्रोत्साहन कार्यक्रमका लागि ३५ लाख बजेट विनियोजन गरेको पशु शाखाले जानकारी दियो।

गाउँपालिकाका पशुपालकहरुलाई भैपरी आउने विभिन्न दैवीप्रकोप र महामारी रोगहरुबाट पर्न सक्ने आर्थिक सङ्कटबाट बचाउन गत आर्थिक वर्षमा २ हजार पशुहरुको बीमा गरेको गाउँपालिका पशु शाखा प्रमुख कार्कीले बताए। गाउँपालिकाभित्रका एउटा पशुलाई प्रिमियमबापत १ हजार १ सयका दरले २ हजार पशुको बीमा कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा ६ लाख ५० हजार गाउँपालिकाले बीमाबापत पशुपालकको पशुको बीमा रकम तिरिदिएको गाउँपालिकाको पशु शाखाको तथ्याङ्कमा उल्लेख छ ।

पशुपालक कृषकलाई स्थानीय सरकारको अनुभूति भएको सिदिङ्वा गाउँपालिका–४ का पशु व्यवसायी सीताराम गौतमले बताए । दुहुनो गाई तथा विभिन्न प्रोत्साहन र अनुदान कार्यक्रमले स्थानीयवासीको आर्यआर्जनमा ठूलो सहयोग पुगेको गौतमले बताए ।

नेपाल सरकारले कृषकको लागि विभिन्न अनुदानका कार्यक्रमहरु ल्याएको छ भन्ने सुन्न मात्रै पाएका कृषक सरु राई अहिले निकै खुशी छन्। “मेरो गाई सुत्केरी हुन नसकेर मरेको थियो । गाउँपालिकाले बीमाबापत ३४ हजार दियोे”, राईले भने । विगतका दिनमा पशु मरे भने ठूलो आर्थिक क्षति हुन्थ्यो तर अहिले प्रत्येक घरमा पशु बीमा गरिदिएपछि आर्थिक क्षति हुनबाट जोगिएको राईले बताए ।

विकास निर्माण क्षेत्रमा मात्र ठूलो लगानी गर्दा जनजीवनमा आर्थिक विकास हुन नसक्ने भएकाले प्रत्येक घरपरिवारमा उद्यमी बनेर आयआर्जन गर्नको लागि किसान प्रोत्साहन कार्यक्रम ल्याएको सिदिङ्वा गाउँपालिकाका उपाध्यक्ष जीवन ताम्लिङले बताए।”गाउँपालिकाका कृषकले उत्पादन गरेको कृषिजन्य वस्तुको बजारीकरणको लागि गाउँपालिकाले सहजीकरण गर्ने योजनामा छौँ”, उनले भने ।

दुग्ध जन्य वस्तुबाट मात्र गाउँपालिकामा दैनिक ५० हजार भित्रिने गरेको पशु शाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ । गाउँपालिकामा उत्पादन भएको दूध ताप्लेजुङ, पाँचथर र इलामसम्म पुग्ने गरेको छ ।



प्रतिक्रिया दिनुहोस !