१३ बैशाख २०८१, बिहिबार
सरकार-विद्रोही नेकपा वार्ता प्रसंग

विप्लव नेतृत्व नेकपाका यी दुई नेता आज छुटलान् ?

प्रकाशित मिति :  22 February, 2021 11:29 am


काठमाडौं । विप्लव नेतृत्वको नेकपासँग वार्ता प्रसंग चलिरहेका बेला आज दुई नेताको सुनुवाई छ ।

केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाको सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई छ भने पूर्वकार्यालय सचिव भेषराज भुसालको जिल्ला अदालत काठमाडौंमा थुनछेकको बहस छ ।

बास्तोला बास्तोलालाई यसअघि पनि सर्वोच्चले रिहा गर्न आदेश दिएपछि प्रहरीले फेरि पक्राउ गरेको थियो भने भुसाललाई बुटवलबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।

फागुन ८ गते महासचिव नेत्र विक्रम चन्द विप्लवले विज्ञप्ति जारी गरेर सहज अवस्थामा वार्ता गर्न तयार रहेको बताएका थिए । त्यसलगत्तै वार्ताबारे अनेक अडकलबाजी छ ।

फागुन ८ गते नै प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताभारे विराटनगरमा भएको जनसभामा केही बोल्ने भनेपनि केही धारणा राखेनन् । तत्काल प्रतिबन्ध फुकुवा गर्ने भनिएपनि सरकारकै मन्त्रीहरु समेत अमलमा देखिन्छन् ।

यद्यपी वार्ताको तयारी भइरहेको उनीहरुको भनाई छ । वार्ताको वातावरण बनाउनका लागि नेता कार्यकर्ताको रिहाईपनि विप्लव नेतृत्व नेकपाको सर्त छ । महासचिव विप्लवले विज्ञप्ति जारी गरेपछि अदालती प्रकृयामा बास्तोला र भुसाल रहेका छन् ।

यसअघि सरकारले अदालतको आदेश विपरित छुट्ने वित्तिकै पक्राउ गर्दै आएको छ । बास्तोला र भुषालको रिहाई हुने वा नहुने विषयलेपनि सरकार वार्ताप्रति कति इमान्दार छ भन्ने विषयमा प्रष्ट हुने बिद्रोही नेकपाको बुझाई छ । नेकपाका एक नेताले भने, “हामीले यसपटक इमान्दारीपूर्वक नै वार्ताको कुरा गरेका हौं । अहिलेको जे परिस्थिति बनेको छ यसबाट नयाँ निकास दिन सकिन्छ कि भन्ने हाम्रो बुझाई हो । हेरौं सरकार कसरी अगाडि बढ्छ ?”

सरकारका एक मन्त्रीले पनि विद्रोही नेकपामाथिको प्रतिबन्ध हटाउन सरकार तयार भइरहेपनि विश्वसनीय आधार खोजिरहेको बताएका छन् । उनले लुम्बिनी सञ्चारसँग भने,“रणनीतिक रुपमा उपयोग गर्न खोजिएको हो वा साच्चै वार्ता हो हामी स्पष्ट हुने प्रयासमा छौं । यदि उहाँहरु वार्तामै आउने र समस्या समाधान गर्न तयार भएको हो भन्ने आधार तयार भयो भने प्रतिबन्ध हट्छ ।”

सरकारले विद्रोही नेकपामाथि विध्वंसात्मक गतिविधि गरेको भन्दै २०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि हेमन्द्र प्रकाश ओली ‘सुदर्शन’, धम्रेन्द्र वास्तोला, चन्द्रबहादुर चन्द ‘वीरजंग’,माइला लामा, ओमप्रकाश पुन, भरत बम लगायतका नेता कार्यकर्ता जेल तथा हिरासतमा छन् ।



प्रतिक्रिया दिनुहोस !