विमान अपहरणका २० वर्ष : कसरी पुग्यो विमानसम्म हतियार ? तथ्य रहस्यमै

काठमाडौं, १० पुस । ठीक २० वर्षअघि ९ पुस ०५६, काठमाडौंमा अन्य दिनभन्दा चिसो बढेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरू तोकिएको समयमा हुन सकेका थिएनन् ।
इन्डियन एयरलाइन्सको आइसी–८१४ विमानको काठमाडौं–दिल्ली उडान समय दिउँसो २ बजेको थियो । तर, ४ बजे मात्र उडान भयो । त्यस दिन काठमाडौंको मौसम मात्र होइन, विमानस्थलको सुरक्षा व्यवस्था पनि खराब थियो । विभिन्न देशका एक सय ७६ यात्रु बोकेको यो विमान काठमाडौंबाट उडेको केही मिनेटमै हाइज्याकरको कब्जामा पुग्यो ।
यो घटनाले विश्वमै ठूलो हचचल मच्चायो । नेपालको सुरक्षा व्यवस्थाको चर्काे आलोचना पनि भयो । सरकारले विभिन्न छानबिन समिति गठन गर्यो । तर, २० वर्ष बित्दा पनि अपहरणकारीले कसरी विमान अपहरण गरे भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । बुधबार यो घटनाको ठीक २० वर्ष पुगेको छ ।
घटनापछि सरकारले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक हेमबहादुर सिंहको अध्यक्षतामा छानबिन समिति बनाएको थियो । समितिले त्यतिवेला विमानस्थलमा खटिएका प्रहरी, कर्मचारीलगायतसँग सोधपुछ गरेको थियो । ‘तर, विमानसम्म हतियार लैजान अपहरणकारी कसरी सफल भए भन्ने कुरा पत्ता लाग्न सकेन, अहिलेसम्म रहस्यमै छ,’ त्यतिबेला नागरिक उड्डयन प्राधिकरणको सुरक्षा महाशाखामा कार्यरत भरत ढकालले भनेका नयाँ पत्रिका दैनिकमा समाचार छ।