१५ चैत्र २०८०, बिहिबार

जुम्लामा आगलागी हुँदा ३५ घर जलेर नष्ट

प्रकाशित मिति :  4 April, 2021 1:59 pm


जुम्ला । जुम्लाको तिला गाउँपालिका–९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । पचहत्तर घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार आगो नियन्त्रण बाहिर छ ।

पर्याप्त पानी नभएका कारण आगो निभाउन सकिएको छैन । घरको छाना निकाल्ने र माटो हालेर आगो निभाउने लिने प्रयास भइरहेको वडाध्यक्ष बोहोराले बताए। “आगो नियन्त्रण बाहिर छ । निभाउनका लागि पानी छैन, घरमा जलेको आगो हेरेर बस्नुको विकल्प छैन”, वडाध्यक्ष बोहोराले भने ।

३५ घरभित्रको अन्नबाली सबै सखाप भइसकेको जनाइएको छ । आगलागीका कारण मान्छे बेहोस भएका छन् भने आगलागीबाट क्षतिको यकिन विवरण आउन बाँकी छ ।

वडाध्यक्ष बोहोराले भने, “स्याउला सङ्कलनका लागि एक÷दुई दिनभित्र गाउँले नै त्यो बस्तीमा जाने भनेका थिए । आगोले बस्ती खरानी बनाइसक्यो ।” उद्धार र राहतका कार्यमा साथ दिन सबै सरोकारवालालाई वडाध्यक्ष बोहोराले आग्रह गरेका छन्।

जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले आगलागी भएको खबर पाउनेबित्तिकै तत्काल उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आगलागी भएको घटनास्थलतिर पठाइसकेको बताए ।

यसअघि तिला–७ पोखरीगाउँको गोठीमा आगलागी हुँदा ३१ घर जलेर नष्ट भएको थियो । यससँगै जुम्ला आगलागीको उच्च जोखिम क्षेत्र बनेको छ । सदरमुकामस्थित ढाण थपला सामुदायिक वन र कार्तिक स्वामी सामुदायिक वनमा आगलागी भएको थियो ।



प्रतिक्रिया दिनुहोस !